close

पाकिस्तानका सबैभन्दा कान्छा भ्लगरले छोडे युट्युब !

टेकपाना टेकपाना

जेठ ३, २०८१ १९:५४

पाकिस्तानका सबैभन्दा कान्छा भ्लगरले छोडे युट्युब !

काठमाडौं । पाकिस्तानका सबैभन्दा कम उमेरका भ्लगर मोहम्मद शिराजले युट्युब छोडेका छन् । बुधबार आफ्नो च्यानलमा ‘लास्ट भ्लग’ शीर्षकको भिडिओ राख्दै उनले आफू युट्युबबाट टाढिन लागेको बताएका हुन् । 

उनले सार्वजनिक गरेको सो भिडिओमा उनका बाबुले अहिलेको समयमा उनलाई भ्लगिङभन्दा पनि पढाइतिर केन्द्रित गराउन भ्लगिङ बन्द गर्न सुझाव दिएको बताएका छन् ।

आफ्ना दर्शकलाई भिडिओमा स्वागत गर्दै शिराजले आँसु पुछ्दै भनेका छन्, “म आजदेखि भ्लग बनाउँदैन । मेरो बुबाले अब केही पढाइ गर र भिडिओ नबनाउन भन्नुभएको छ । तर, मलाई भ्लग बनाउने सोख छ । त्यसैले आज यो मेरो अन्तिम भ्लग हो ।”

त्यस लगत्तै शिराजले भिडिओमा आफूलाई गाउँको सबैभन्दा बढी मन परेको ठाउँको बारेमा जानकारी दिएका छन् । भिडिओमै बास्केट बनाइरहेका मान्छेलाई भेटिसकेपछि अबको केही समयमा आफूले युट्युबमा भिडिओ पोस्ट नगर्ने उनले बताएका छन् । 

६ वर्षीय सिराजको युट्युब च्यानलमा १५ लाख ६० हजार बढी सब्सक्राइबर, फेसबुकमा १७ लाख बढी फलोअर र इन्स्टाग्राममा २१ लाख बढी फलोअर छन् ।

उनी पाकिस्तानकै सबैभन्दा चर्चित भ्लगरमध्येका एक हुन् । तीन महिनाअघिदेखि उनी युट्युबमा लगातार भ्लग राख्दै आएका थिए । चञ्चल बानी, सहयोगी भावना र विभिन्न ठाउँ अन्वेषण गर्न रुचाउने शिराजले भिडिओमार्फत आफ्नो गाउँको वास्तविकता, त्यहाँको चालचलन, त्यहाँका बालबालिकाको अवस्था, स्कुलको अवस्था आदिको जानकारी दिंदै आएका थिए । 

उनले केही समयका लागि युट्युब छोड्ने निर्णयलाई सामाजिक सञ्जालमा उनको निर्णयलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । “यदि यो सत्य हो भने उनले निकै राम्रो निर्णय लिएका हुन्,” फेसबुकमा नासिज काज्मी नाम भएका व्यक्तिले लेखेका छन्, “कसैले सपनामा समेत कल्पना नगरेको सफलता सानो उमेरको भाइले पाएको छ । अब उसले आफ्नो पढाइमा ध्यान दिनुपर्छ । उनको जीवनमा र करियरमा पढाईले बढी महत्त्व थप्छ ।”

कतिपयले भने पढाइसँगसँगै भ्लगिङलाई समेत निरन्तरता दिन सुझाव दिएका छन् ।

 

पछिल्लो अध्यावधिक: जेठ ३, २०८१ १९:५५