काठमाडौं । नेपाल टेलिकमले कम्पनीको नाम दुरुपयोग गर्दै भ्रामक सामग्री शेयर गरिएको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । कम्पनीले जरुरी सूचना प्रकाशित गर्दै टेलिकमको नाम, लोगो तथा अन्य सामग्री प्रयोग गरी विभिन्न सामाजिक सञ्जालमा अनधिकृत पेजमार्फत सम्प्रेषण भएका सामग्रीको भर नपर्न आग्रह गरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा प्रतिष्ठित कम्पनीको जस्तै देखिने पेज बनाएर फिशिङ गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसैक्रममा नेपाल टेलिकमको नाममा फेसबुक पेज बनाएर साइबर अपराधीहरुले भ्रामक जानकारी सहित फिशिङ लिङ्क राखिएको पोस्ट बुस्ट गरेका छन् ।
यसरी प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत विवरण राख्न लगाउने र उनीहरुको अकाउन्ट ह्याक गर्ने जालको रुपमा फिशिङ आक्रमण गर्ने गतिविधि मौलाएको छ । यस्तोमा टेलिकमले कम्पनीको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पेजबाट मात्र आवश्यक जानकारी लिन आग्रह गरेको हो ।
नेपाल टेलिकमको हरेक जानकारी आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र लिनुहुन समस्त ग्राहकवर्गलाई आग्रह गर्दछौँ ।
#NepalTelecom