काठमाडौं । रिलायन्स इन्डस्ट्रीका अध्यक्ष मुकेश अम्बानीले भारतमा फाइभजी सार्वजनिक गर्ने घोषणा गरेका छन् । इन्डियन मोबाइल कंग्रेस (आईएमसी २०२०) मा बोल्ने क्रममा अम्बानीले सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा फाइभजी सार्वजनिक गर्ने बताएका हुन् ।
यो इन्डियन मोबाइल कंग्रेसको चौथो वर्ष हो । तर यसपटकको कार्यक्रम कोरोना भाइरसका कारण अनलाइनमार्फत भइरहेको छ ।
आफ्नो मन्तव्यको क्रममा मुकेश अम्बानीले भनेका छन्, ‘म तपाईंहरुको बीचमा प्रतिवद्धता जनाउँद छु कि जियोले भारतमा २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा फाइभजी क्रान्ति ल्याएर आउनेछ । यो भारतमै बनेको नेटवर्क, हार्डवेयर र प्रविधिका उपकरणमाथि आधारित हुनेछ ।’
भारत सरकारलाई अम्बानीले आफ्नो मन्तव्यको क्रममा चार वटा सल्लाह दिएका छन् । टुजी प्रयोगकर्तालाई स्मार्टफोनमा शिफ्ट गर्नेदेखि भारतमा चाँडोभन्दा चाँडो फाइभजी सार्वजनिक गर्नका लागि उनले सरकारलाई नीतिगत कदम चाल्न भनेका छन् ।
अम्बानीका अनुसार हाल भारतमा ३० करोड मोबाइल प्रयोगकर्ता टुजी प्रयोग गरिरहेका छन् । उनले यस्ता प्रयोगकर्तालाई सस्तो स्मार्टफोन उपलब्ध गराउनका लागि तत्काल नीति र कदम चाल्नुपर्ने बताएका छन् ।
मुकेश अम्बानीका अनुसार भारत विश्वकै सबैभन्दा उत्तम डिजिटलरुपमा कनेक्ट भएको देशमध्ये एक हो । यस्तो अवस्थामा देशलाई अग्रस्थानमा राख्न चाँडोभन्दा चाँडो फाइभजी ल्याउने नीतिगत कदममा काम गर्नुपर्ने आवश्यकता छ ।
आफ्नो मन्तव्यको क्रममा रिलायन्स जियोको उपलब्धिको बारेमा समेत उल्लेख गर्दै उनले आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, बिग डेटा, मसिन लर्निङ, इन्टरनेट अफ थिङ्स, वित्तीय सेवा र न्युकमर्स क्षेत्रका विश्वस्तरिय २० वटा स्टार्टअप पार्टनरसँग काम गरिरहेको जानकारी गराए ।
‘भारतले चिप डिजाइनमा वर्ल्ड क्लास स्ट्रेन्थ बनाइसकेको छ,’ उनले भने, ‘भारतलाई स्टेट अफ द आर्ट सेमिकन्डक्टर इन्डस्ट्रीको हब बन्दै गरेको देखिरहेको छु ।’