close

यस्तो छ मोबाइल वालेटमै रेमिट्यान्स पाउने र पठाउने तरिका

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १९:५२

यस्तो छ मोबाइल वालेटमै रेमिट्यान्स पाउने र पठाउने तरिका

काठमाडौं । पछिल्लो समय प्रविधि हाम्रो अपरिहार्य आवश्यकताको विषय बन्दै गएको छ । हरेक कुरा प्रविधिसँग जोडिँदै गर्दा यसले प्रयोगकर्तालाई धेरै कुराको सहजता पनि ल्याएको छ ।

कोभिड–१९ को महामारीसँगै नेपालमा पनि प्रविधिको प्रयोगले ठूलो परिवर्तन ल्याइरहेको छ । चाहेर होस् वा नचाहेर सरकारी कार्यालय, बैंकिङ क्षेत्र, अन्य निजी क्षेत्र पनि विस्तारै प्रविधिको आत्मसाथ गर्न बाध्य छन् ।

त्यसमा पनि प्रविधिको विकास र प्रयोगको हिसाबले हेर्ने हो भने बैंकिङ क्षेत्र पछिल्लो समय सबैभन्दा अघि छ । अनलाइन भुक्तानी, अनलाइन कारोबार, अनलाइन बैंकिङ जस्ता शब्दसँग प्रयोगकर्ता निकै नै नजिक भएका छन् ।

कुनै समय आफूले पठाएको पैसा भनेको ठाउँमा जाने हो वा होइन भनेर डराएर कारोबार नै नगर्ने मनस्थितिमा हुने प्रयोगकर्ता पनि विस्तारै अनलाइन माध्यममै भर पर्न थालेका छन् । यसरी अनलाइन कारोबार, अनलाइन शपिङ, अनलाइन भुक्तानीप्रति प्रयोगतर्कामा विश्वास पैदा हुँदै गएको छ ।

यसले‍ यो क्षेत्रका अन्य सुविधा पनि विस्तारै अनलाइनमै जोडिन थालेका छन् । जसको एउटा उदाहरण हो, रेमिट्यान्स ।

कोभिड–१९ को बीचमा मोबाइलबाटै रेमिट्यान्स सेवा लिन सकिने सुविधा सुरु भएको थियो । यसको अर्थ तपाईंले आफ्ना आफन्त तथा साथीभाइलाई घरमै बसेर मोबाइलबाटै रेमिट्यान्स कम्पनीमार्फत स्वदेश भित्र पैसा पठाउन सक्नुहुन्छ ।

यसका लागि तपाईं कुनै मनि ट्रान्सफर कम्पनीको एजेन्टकहाँ पुगिरहनु पर्दैन । यसैगरी विदेश तथा स्वदेशबाट पठाएको पैसा पनि मोबाइलमै पाप्त गर्न सक्नुहुन्छ ।

यो सेवा ईसेवा, खल्ती, प्रभु पे, आईएमई पे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकले उपलब्ध गराउँदै आएका छन् । उनीहरुले विभिन्न रेमिट्यान्स कम्पनीसँग सहकार्य गर्दै यस्तो सेवा उपलब्ध गराएउन थालेका हुन् ।

कसरी लिने सेवा

ई–सेवा

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवामा हालसम्म दुई वटा रेमिट्यान्स कम्पनी जोडिएका छन् । जसमा ईसेवा मनी ट्रान्सफर र सिटी एक्सप्रेसको सेवा उपलब्ध छ । ई–सेवा प्रयोग गरी यी दुई रेमिट्यान्स कम्पनीमार्फत तपाईंले पैसा पठाउन र प्राप्त गर्न सक्नुहुनेछ ।

त्यसका लागि सुरुमा ई–सेवाको एप खोल्नुहोस् र त्यहाँ रहेको ‘रेमिट्यान्स’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसभित्र रहेको कुनै एक रेमिट्यान्स कम्पनीमा क्लिक गरी आवश्यक जानकारी राख्नुहोस् ।

यसमा प्राप्त गर्न चाहनु भएको हो भने पठाउने देश, कोड र रकम तथा पठाउनका लागि पठाउने जिल्ला, रकम र प्राप्त गर्ने व्यक्तिको नाम उल्लेख गर्नुहोस् । यसरी तपाईंले ईसेवाबाट ईसेवा मनी ट्रान्सफर र सिटी एक्प्रेसको माध्यमबाट सहजै पैसा पठाउन र रकम प्राप्त गर्न सक्नुहुनेछ ।

खल्ती

खल्तीमा हालसम्म रेमिट टु नेपाल, नेपाल रेमिट, भाटभटेनी मनी ट्रान्सफर, आई पे, एनआईसी एसिया रेमिट र जीएमई रेमिट जोडिएका छन् । त्यसमध्ये जीएमई रेमिटको हकमा पैसा प्राप्त गर्न मात्रै सकिने सुविधा छ ।

अन्य कम्पनीबाट भने पैसा पठाउन र प्राप्त गर्न सकिने दुवै सुविधा एपमा रहेको छ । खल्ती प्रयोग गरी उल्लेखित सेवा प्रदायकबाट पैसा पठाउन र प्राप्त गर्न सुरुमा तपाईंले खल्तीको एप खोल्नु पर्ने हुन्छ ।

अब त्यहाँ रहेको ‘रेमिट्यान्स’ आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि ‘सेन्ड मनी’ र ‘रिसिभ मनी’ भन्ने अप्सन देख्नुहुनेछ ।

यदि तपाईं पैसा पठाउँदै हुनुहुन्छ भने ‘सेन्ड मनी’ मा क्लिक गरी कुन कम्पनीमार्फत पठाउने हो छनौट गर्नुहोस् । यदि तपाईं पैसा प्राप्त गर्दै हुनुहुन्छ भने ‘रिसिभ मनी’ मा क्लिक गरी कुन रेमिट्यान्स कम्पनीबाट आएको हो, छनौट गर्नुहोस् ।

त्यहाँ तपाईंले आवश्यक जानकारी भर्नुपर्ने हुन्छ । जसमा प्राप्त गर्नका लागि पठाउने देश, कोड र रकम र पठाउनका लागि पठाउन खोजेको जिल्ला, प्राप्त गर्ने व्यक्तिको नाम, रकम उल्लेख गर्नुहोस् ।

यसरी आवश्यक जानकारी भरेर तपाईंले सहजै पैसा पठाउन र प्राप्त गर्न सक्नु हुनेछ । खल्तीले एपमा तपाईंले पठाएको पैसा व्यक्तिले पाएको वा नपाएको जानकारी लिन सकिने सुुविधा पनि दिएको छ ।

प्रभु पे

प्रभु पेमा हालसम्म प्रभु मनी रेमिटमात्रै जोडिएको छ । उक्त रेमिटमार्फत पैसा प्राप्त ग र्न र पठाउनका लागि तपाईंले प्रभु पेको मोबाइल एपमामा रहेको ‘रेमिट्यान्स’ र ‘विथड्र’ भन्ने अप्सनको प्रयोग गर्नुपर्ने हुन्छ ।

यदि तपाईं पैसा पठाउँदै हुनुहुन्छ भने ‘विथ ड्र’ अप्सनमा र प्राप्त गर्दै हुनुहुन्छ भने ‘रेमिट्यान्स’ भन्ने अप्सनमा क्लिक गरी आवश्यक जानकारी विवरण भर्नुहोस् । यसमा प्राप्त गर्न पठाउने देश, कोड र रकम तथा पठाउनका लागि पठाउन खोजेको जिल्ला, प्राप्त गर्ने व्यक्तिको नाम र रकम उल्लेख गर्नुहोस् । त्यहाँ माग भएअनुसारको जानकारी भरी तपाईंले सहजै प्रभु पेमार्फत प्रभु मनी ट्रान्सफरबाट पैसा पठाउन र प्राप्त गर्न सक्नुहुने छ ।

आईएमई पे

आईएमई पेमा ग्लोबल मनी एक्प्रेस, ग्लोबल रेमिट, ईजेट रेमिट, इन्स्ट्यान्ट क्यास, मनीग्राम पेमेन्ट, आरआईए फाइनान्सियल एक्सप्रेस, क्यास एक्सप्रेस, क्योदाई रेमिट, अलन्सरी एक्सचेन्ज, वर्ल्ड वाइड क्यास एक्सप्रेस र अल्दार एक्सचेन्ज जोडिएका छन् ।

यसमा तपाईंले साथै जेन जे एक्सचेन्ज, आईएमई फरेक्स इण्डिया, युनिमनी कतार, अमन एक्सचेन्ज, ग्लोबल आईएमई एक्सप्रेस कोरिया, शाका एक्सप्रेस कर्पोरेसन र जीएमई इन्टरनेसनल जस्ता रेमिट को सुविधा पनि पाउन सक्नुहुनेछ ।

जसमार्फत देश तथा विदेशबाट पठाएको रकम निकाल्नका साथै अन्तरिक रुपमा पैसा पठाउन सकिने छ । त्यसका लागि आईएमई पेले एपको तल रहेको मूख्य मेन्युमै ‘रेमिट्यान्स’ अप्सन उपलब्ध गराएको छ ।

उक्त अप्सनमा क्लिक गरी तपाईंले पैसा पठाउने वा प्राप्त गर्ने विकल्प छनौट गर्न सक्नुहुनेछ ।

यदि तपाईं पैसा पठाउने हो भने ‘सेन्ड मनी’ अप्सनमा क्लिक गरी त्यहाँभित्र रहेको दोस्रो अप्सन अर्थात ‘डोमेस्टिक रेमिट्यान्स’ मा क्लिक गर्नुहोस् ।

यदी पैसा प्राप्त गर्दै हुनुहुन्छ भने त्यसका लागि आईएमई पेको वालेटमा तपाईंको केवाइसी अनिवार्य रुपमा भरिएको हुनुपर्छ । यदि केवाईसी भर्नुभएको छैन भने मोबाइलबाटै यो प्रक्रिया तत्कालै पुरा गर्न सक्नुहुनेछ ।

केवाईसी भर्नु भएको छ भने ‘रिसिभ मनी’ मा क्लिक गरी आवश्यक विवरण भर्नुहोस् । यसमा प्राप्त गर्नका लागि पठाउनेको देश, कोड र रकम तथा पठाउनका लागि पठाउन खोजेको जिल्ला, प्राप्त गर्ने व्यक्तिको नाम र रकम उल्लेख गर्नुहोस् । यसरी तपाईंले आईएमई पेमार्फत सहजै रकम पठाउन तथा पाउन सक्नुहुनेछ ।

पठाएको रकम प्रापकले बैंक तथा वित्तीय संस्था वा रेमिट सेन्टरमा गएर पनि प्राप्त गर्न सक्नेछन् । त्यस्तै पैसा पठाउँदा मोबाइल एप भएको व्यक्तिको वालेटबाटै रकम काटिन्छ । रेमिट्यान्स शुल्क राष्ट्रबैंकले तोके बमोजिम नै लाग्ने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०