close

के हो ह्वाट्सएप बिजनेस अकाउन्ट ? यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १३:५९

के हो ह्वाट्सएप बिजनेस अकाउन्ट ? यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । विश्वभर ह्वाट्सएपका दुई अर्बभन्दा धरै प्रयोगकर्ता रहेका छन् । नेपालमा समेत लाखौंले यो एप प्रयोग गरिरहेका छन् ।

एपले यति ठूलो प्रगति त्यसै हाँसिल गरेको होइन । यसले आफ्ना प्रयोगकर्ताका लागि नयाँ अनि महत्वपूर्ण सुविधाहरु ल्याउँदै आएको छ ।

तपाईंले यसको माध्यमबाट केवल च्याट मात्र नभएर अडियो तथा भिडियो कलिङ समेत गर्न सक्नुहुन्छ । साथै व्यवसायका लागि समेत ह्वाट्सएपको प्रयोग गर्न सकिन्छ ।

के हो ह्वाट्सएपको बिजनेस अकाउन्ट ?

इन्स्ट्यान्ट मेयास्जिङ एप ह्वाट्सएप यतिधेरै लोकप्रिय भइसकेको छ कि मानिसहरु आफ्नो व्यवसायसँग सम्बन्धित जानकारी समेत यसैको माध्यमबाट शेयर गरिरहेका हुन्छन् ।

तर तपाईंले चाहनु भयो भने व्यक्तिगतको साटो ह्वाट्सएपको बिजनेस अकाउन्ट समेत बनाउन सक्नुहुन्छ । ह्वाट्सएप बिजनेस अकाउन्ट व्यक्तिगत अकाउन्टभन्दा केही फरक हुने गर्दछ र यसमा तपाईंले आफ्नो बिजनेसको जानकारी समेत दिन सक्नुहुन्छ ।

कसरी बनाउने ?

आफ्नो फोनको प्ले स्टोर वा एप स्टोरमा गएर ह्वाट्सएप बिजनेस डाउनलोड गर्नुहोस् । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । डाउनलोड भइसकेपछि यसलाई एक्टिभ गर्नुहोस् ।

यसका लागि तपाईंले बिजनेस मोबाइल नम्बरबाट यो एप साइन अप गर्नुपर्ने हुन्छ । त्यसपछि यसमा रहेको तीन वटा डटमा क्लिक गर्नुपर्ने हुन्छ, जुन तपाईंले क्रिनको शिरानीमा देख्न सक्नुहुनेछ ।

यसबाट ह्वाट्सपको मेनु खुल्नेछ । अब त्यहाँ रहेको सेटिङमा जानुहोस् र बिजनेस सेटिङमा थिच्नुहोस् ।

यदि तपाईंको कुनै कम्पनी छ भने त्यसको नाममा समेत तपाईंले ह्वाट्सएप बिजनेस अकाउन्ट बनाउन सक्नुहुनेछ । यसमा तपाईंले आफ्नो वेबसाइटको एड्रेस तथा अन्य विवरण समेत राख्न सक्नुहुनेछ ।

ह्वाट्सएपको व्यक्तिगत र बिजनेस अकाउन्टमा के छ फरक ?

ह्वाट्सएप तथा ह्वाट्सएप बिजनेस भलै एउटै जस्तो देखिन्छन् । तर दुवै फरक फरक एप हुन् ।

ह्वाट्सएप एउटा म्यासेजिङ एप हो । जुन तपाईंले आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

ह्वाट्सएप बिजनेस भने तपाईंको व्यवसाय बढाउनका लागि काम आउन सक्छ । यो एपमा तपाईंले आफ्ना ग्राहकसँग संवाद गर्न सक्नुहुन्छ र आफ्नो ब्राण्ड विकसित गर्नका लागि उपयोग गर्न सक्नुहन्छ ।

दुवै एपबीच सुविधामा समेत निकै अन्तर छ । दुवै एपमा केही विशेषता भने समान पनि छन् ।

तर ह्वाट्सएप बिजनेसमा बिजनेस प्रोफाइल तथा बिजनेस म्यासेजिङ टुल जस्ता विशेष सुविधा दिइएका छन् ।

यस्ता छन् ह्वाट्सएप बिजनेसका फाइदा

ह्वाट्सएप बिजनेस साना व्यवसायिक कारोबार बनाउनका लागि निकै सहयोगी छ । यसबाट काम गर्न र व्यापारिहरुलाई आपसमा सम्पर्कमा रहन निकै सहज हुने गर्दछ ।

साथै यसको सहयोगमा व्यवसायमा स्याम्पल लगायतका चिजहरु आदानप्रदान गर्न समेत सहयोग पुग्छ । यसको माध्यमबाट अर्डर लिन दिन पनि सहज हुने गर्दछ ।

सामान्य रुपमा भन्दा यसले व्यापार तथा व्यवसाय र ग्राहक तथा उपभोक्तालाई आपसमा जोड्ने काम गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४