close

कर्मचारी थेग्न नसकेपछि नेपाल टेलिकमकै मोडलमा बीएसएनएल, ७० हजारलाई स्वेच्छिक अवकाश

टेकपाना टेकपाना

कात्तिक २६, २०७६ १०:४३

कर्मचारी थेग्न नसकेपछि नेपाल टेलिकमकै मोडलमा बीएसएनएल, ७० हजारलाई स्वेच्छिक अवकाश

भारत सरकारको स्वामित्व रहेको दूरसञ्चार कम्पनी बीएसएनएलले अधिक कर्मचारीको भारबाट मुक्ति पाउन स्वेच्छिक अवकाश योजना (भीआरएस) लागु गर्ने भएको छ । उक्त योजनामा करिब ७० हजार कर्मचारीले सहभागीता जनाउने छन् ।

करिब एक लाख कर्मचारी उक्त योजनामा सहभागी हुन योग्य भएपनि ७० हजारले आवेदन दिइसकेको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक पी के पुरवारले बताएका छन् । बीएसएनएलमा हाल करिब एक लाख ५० हजार कर्मचारी कार्यरत रहेका छन् ।

त्यसमध्ये करिब ७७ हजारले यसपटक भीआरएस योजनामा सहभागी गराउने कम्पनीको लक्ष्य छ । भीआरएस योजना जनवरीको अन्तिम हप्ताबाट सुरु हुँदैछ ।

हालैमात्र भारतको दूरसञ्चार विभागले अत्यधिक कर्मचारी कटौतिसहित ग्रामिण क्षेत्रमा टेलिफोन एक्सचेञ्ज सुविधाको निरन्तरताको लागि निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार सुरु गरिएको भीआरएस परियोजनामा सहभागी हुने अन्तिम मिति यहिं डिसेम्बर ३ सम्मका लागि निर्धारण गरिएको छ ।

यो परियोजना लागु भएसँगै कर्मचारीको तलब सुविधामा खर्च हुने ७० अर्ब भारु बचत हुने अपेक्षा गरिएको छ ।
भीआरएस योजना अनुसार ५० बर्षमाथीका कम्पनीका नियमित किसिमका कर्मचारीले मात्र सहभागीता जनाउन पाउनेछन् ।

यसरी योजनामा सहभागी हुने कर्मचारीले काम गरेको हरेक बर्षको ३५ दिन र बाँकी बर्षको २५ दिन बराबरको तलब पाउनेछन् । बीएसएनएलसँग मर्जरको तयारीमा रहेको अर्को सरकारी स्वामित्वको एमटीएनएलले पनि यस्तै प्रकृतिको भीआरएस योजना लागु गर्ने गरी आवश्यक तयारी गरिरहेको छ ।

नेपालमा पनि सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दुई बर्ष अगाडि यस्तै किसिमको योजना सार्वजनिक गरेको थियो । जसमा करिब ७ सय कर्मचारी सहभागी भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०