close

ईसेवा र भाइबरबीच सहकार्य, अब भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने

टेकपाना टेकपाना

पुस १, २०७७ १२:२४

ईसेवा र भाइबरबीच सहकार्य, अब भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने

काठमाडौं । अब भाइबरबाटै रकम पठाउन तथा मोबाइल रिचार्ज गर्न सकिने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा र लोकप्रिय म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवा प्रदान गर्न सहकार्य सुरु भएको हो ।

यससँगै भाइबर प्रयोगकर्ताले सहज रूपमा आफ्नो ईसेवा खाता भाइबरसँग लिंक गराएर टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् । यस किसिमको साझेदारी एसिया प्रशान्त क्षेत्रमै पहिलो पटक भएको बताइएको छ ।

यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । ईसेवाका सीओओ रोशन लामिछाने विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्न थालिएको बताए ।

‘यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभुति दिलाउनेछ र नेपालको डिजिटल कारोबारलाई अगाडि बढाउन ठूलो भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौँ,’ उनले भने । यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले उपभोक्ताको सहजताका लागि प्रयोगकर्ताबीचको मित्रता र उपयोगितता सधैं आफूहरुको प्राथमिकतामा रहेको बताइन् ।

‘ईसेवासँगको हाम्रो साझेदारीबाट भाइबरलाई केबल एउटा सन्देशको लागि मात्र प्रयोग गर्न नभएर भुक्तानी गर्न सकिने प्लेटफर्म बनाउन लागिरहेका छौँ,’ उनले भिनिन्, ‘हामी आशावादी छौँ कि ईसेवामा हुने यो च्याट एक्स्टेन्सनले हाम्रा नेपाली प्रयोगकर्तालाई ठूलो फाइदा पुर्‍याउनेछ ।’

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत तथा अधिकतम सय रुपैयाँसम्म क्यास ब्याक पाउनेछन् । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका समेत रहेको छ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोगकर्ताले ल्यापटप उपहार पाउनेछन् ।

नेपालमा यसअघि म्यासेजिङ एपको प्रयोग सन्देशहरू पठाउन तथा प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्कमा रहनका लागि मात्र प्रयोग भइरहेका थिए । तर अब भने प्रयोगकर्ताको अतिरिक्त सुविधा प्राप्त गर्ने चाहना अनुरुप रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा ल्याइएको हो ।

प्रयोगकर्ताको सुरक्षा, सुरक्षित कारोबार तथा अनधिकृत लेनदेन हुन नदिनका लागि भाइबर र ईसेवा दुवै कम्पनीले आवश्यक सुरक्षा मापदण्ड तय गरिएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४