close

टेलिकमले काठमाडौंभरका केबलतार भुमिगत बनाउने

टेकपाना टेकपाना

कात्तिक २८, २०७६ १०:२४

टेलिकमले काठमाडौंभरका केबलतार भुमिगत बनाउने

नेपाल दुरसञ्चार प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा असरल्ल छरिएका टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन गर्ने भएको छ । सहरलाई नै कुरुप बनाउने गरी जथाभावी रुपमा झुन्ड्याइएका तारहरुलाई सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकममार्फत भुमिगत गरिने भएको हो । 

सोमबार बसेको प्राधिकरण बोर्डको बैठकले काठमाडौंका विभिन्न स्थानमा तार भुमिगत गर्ने र त्यसको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार काठमाडौंका विभिन्न १५ स्थानमा तार भुमिगत गरिने छ ।

यसअघि कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैंठकले काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले दिएको निर्देशनको आधारमा प्राधिकरण बोर्डले टेलिकममार्फत उक्त कार्य अघि बढाउने निर्णय गरेको हो । निर्णय अनुसार एयरपोर्ट–तिनकुन–कलंकी सडक, एयरपोर्ट–जोरपाटी सडक, चावहिल–महाराजगंज सडकमा तार भुमिगत गरिनेछ । 

त्यस्तै सिंहदरबार–बालुवाटर–सितलनिवास, सिंहदरबार–थापागाउँ–बानेश्वर, थापाथली–भैँसीपाटी–मन्त्रिनिवास र अनामनगर सडकको अव्यवस्थित तारको व्यवस्थापन हुनेछ । साथै भद्रकाली–दरबारमार्ग, गौशाला–कमलपोखरी र तिनकुने–सुर्यविनायक सडमा झुन्डिएका तारलाई व्यवस्थापन गरिने छ । यसैगरी न्युरोड–बसन्तपुर, सिनामंगल–पुतली सडक र पुल्चोक–कुष्ण मन्दिर सडकमा पनि तार भुमिगत गरिनेछ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार तार व्यवस्थापनको विषयमा यसअघि प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरेको थियो । भारतीय कम्पनी केपीएनजीले त्यसको विषयमा प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनमा नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक, केबल टेलिभिजन सेवाप्रदायक कम्पनीहरुका तार कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसका लागि आवश्यक पूर्वाधार र प्रविधिको अध्ययन र मापदण्ड तयार पारेको थियो ।

सोही प्रतिवेदनकै आधारमा तारको व्यवस्थापन गर्ने गरी प्राधिकरणले टेलिकमलाई जिम्मा दिएको हो । टेलिकमले तोकिएका सडकमा तार भुमिगत सँगै डक्टीङ अर्थाथ पाइपमा फाइबर विक्षाउने र सहप्रयोगको काम समेत गर्नेछ । टेलिकमले विस्तार गरेको उक्त तार अन्य सेवा प्रदायक कम्पनीले पनि प्रयोग गर्न पाउने अर्याल बताउँछन् ।

अर्यालका अनुसार त्यो काम सम्पन्न भएसँगै सेवा प्रदायक कम्पनीले आफैले तार तानिरहनु पर्ने झन्झट हुने छैन । साथै सहर पनि व्यवस्थित देखिने छ ।

यो परियोजनामा बिजुलीको तारको व्यवस्थापन पक्ष भने समेटिएको छैन । प्रवक्ता अर्यालले विद्युतकाे तार व्यवस्थापनको विषयमा नेपाल बिद्युत प्राधिकरणको समन्व्य आवश्यक रहेको बताए । विद्युत तार भुमिगत गर्ने क्रममा नेपाल टेलिकमलाई छुट्टै डक्ट व्यवस्थापन गरिदिने अवस्था तयार भएमा थप सहज हुने उनको भनाई छ । 

एकै पटक काम अघि बढाउन सकेको खण्डमा सबै किसिमका तार व्यवस्थापनका साथै एकै ठाउँमा पटक–पटक खनिरहनुपर्ने अवस्था समेत रहनेछैन । 

यी हुन् तार भुमिगत गरिने सडक

  • एयरपोर्ट–तिनकुन–कलंकी
  • एयरपोर्ट–जोरपाटी
  • चावहिल–महाराजगंज
  • सिंहदरबार–बालुवाटर–सितलनिवास
  • सिंहदरबार–थापागाउँ–बानेश्वर
  • थापाथली–भैसीपाटी–मन्त्रिनिवास
  • अनामनगर
  • भद्रकाली–दरबारमार्ग
  • गौशाला–कमलपोखरी
  • तिनकुन–सुर्यविनायक
  • न्युरोड–बसन्तपुर
  • सिनामंगल–पुतली सडक
  • पुल्चोक–कुष्ण मन्दिर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०