close

तरकारी र चिया पसलले देखाएको डिजिटल कारोबारको बाटो

टेकपाना टेकपाना

पुस १५, २०७७ ८:२०

तरकारी र चिया पसलले देखाएको डिजिटल कारोबारको बाटो

काठमाडौं । गत शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड स्क्यान गर्दै तरकारी बजारमा अदुवा किने । लगत्तै नजिकैको चिया पसलमा चिया खाएर त्यसको बिल भुक्तानी पनि क्यूआर कोड स्क्यान मार्फत नै गरे । यी दुवै घटना नेपालको डिजिटल कारोबारमा देखिएको नयाँ घटना थिए ।

जुन हाम्रा लागि असामान्य नै हो । यसअघिसम्म हामीले शपिङ मल, सिनेमा घर, होटल, पसल, रेष्टुरेन्ट आदिमा मोबाइल वालेट, क्यूआर कोड स्क्यानमार्फत भुक्तानी त गर्दै आएका थियौं । तर, तरकारी बजारमा अहिले नै क्यूआर स्क्यान गरेकै भरमा पैसा भुक्तानी सम्भव हुन्छ भन्ने कुरा धेरैका लागि कल्पाना भन्दा बाहिरको कुरा थियो ।

यसको अर्थ तरकारी बजारमा डिजिटल कारोबारले कहिले प्रवेश नै गर्दैन भन्ने पनि होइन । पक्कै पनि ढिलो चाँडो सबै क्षेत्रमा डिजिटल कारोबारले प्रवेश गर्ने नै थियो । तर, जुन रुपमा तरकारी बजारमा गभर्नरले बिलको भुक्तानी गरे, चिया पसलमा चियाको बिल क्यूआर कोड स्क्यान गरेर तिरे ।

यसले नेपालमा डिजिटल कारोबारले पाएको उचाइलाई दर्शाएको छ भन्दा कुनै फरक नपर्ला । हामी, आजसम्म पनि बैंक खाता हुने र उक्त खातामा पैसा भएर प्रविधिसँग नजिक हुनेहरुका लागि मात्रै मोबाइल वालेट, क्युआर कोड स्क्यान, मोबाइल बैंकिङ हुन् भन्दै आएका थियौं ।

हुन पनि हो, कोरोना महामारी भन्दा अघिसम्म पनि नेपालमा डिजिटल कारोबारले सोचे जस्तो उचाइ लिन सकेको थिएन । किनभने त्यसअघिसम्म पनि धेरै मानिसमा आफूले गरेको कारोबारले पूर्णता पाउँछ, पाउँदैन भन्ने विश्वास नै पैदा भएको थिएन ।

जसले गर्दा डिजिटल कारोबारले घिस्रिदै उकालो चढिरहेको आभास हुन्थ्यो । त्यसरी घिस्रि रहेको नेपालको डिजिटल कारोबारलाई कोरोनाले भर्‍याङ नै हालि दिएको जस्तै भएको छ ।

कोरोनाका कारण लागु गरिएको लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने वाध्यताले अनलाइन सपिङ, अनलाइन भुक्तानी जस्ता विषय सबैका लागि सामान्य बन्दै गएका छन् ।

जसले जानी नजानी पुराना पुस्तालाई पनि प्रविधिसँग धेरै नै घुलमिल बनाइ दिएको छ । युवा पुस्ताको त कुरै छाडौं, घरमा बिजुलीको बिल आएपछि बुबा आमाले अचेल प्रयोग गर्ने शब्दले पनि प्रविधि दर्शाउन थालेजस्तो लाग्छ । ‘छोरा बिजुलीको बिल आएको छ, खै तेरो ई–सेवाबाट पैसा तिर्दे त !’

बुबा आमालाई अनलाइन पेमेन्टले कसरी काम गर्छ, ई–सेवा, खल्ती, क्युआर स्क्यानमार्फत कसरी बिल भुक्तानी हुन्छ भन्ने विषय थाहा नहोला । तर, उहाँहरुलाई यति थाहा छ, छोराले अनलाइन भुक्तानी गरिदियो भने कोरोना सर्न सक्ने अहिलको समयमा आफू बिजुलीको बिल तिर्नका लागि लाइन बस्न जानु पर्दैन ।

यही परिवतर्नले नै आज तरकारी बजारमा क्युआर स्क्यान मार्फत बिल भुक्तानी सम्भव भएको हो भन्दा कुनै फरक नपार्ला । किन भने, आफुले प्रयोग नगरे पनि छोरो छोरीले प्रयोग गर्ने र बोल्ने शब्द क्युआर कोड स्क्यान र डिजिटल कारोबार प्रति विश्वास पैदा भएको छ ।

उनीहरुलाई अहिले यती विश्वास छ की त्यहाँ स्क्यान गर्दा पैसा आफ्नो बैंक खातामा जान्छ् । यही विश्वासले पनि डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकको तथ्याङ्कले पनि दर्शाउँछ ।

नेपाल राष्ट्र बैंकले भर्खरैमात्र सार्वजनिक गरेको कात्तिक महिनाको तथ्याङ्कअनुसार ७६ लाख ४३ हजार २ सय ९६ पटक मोबाइल बैंकिङ प्रयोग भएको थियो । भने, मोबाइल बैंकिङमार्फत २५ अर्ब ६५ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै इन्टरनेट बैंकिङमार्फत कात्तिकमा २ लाख २१ हजार ४०५ पटक इन्टरनेटबाट बैंकिङ कारोबार भएको थियो । भने, कारोबार रकम ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार कात्तिकमा क्यूआरमार्फत कुल २ लाख ४१ हजार ८१८ पटक कारोबार भएको छ । भने, कारोबार रकम ९३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

यसरी हुने कारोबारले अनि, उक्त कारोबारप्रतिको विश्वासले पनि चिया पसल, तरकारी बजार, अनी सफा ट्याम्फो आज डिजिटल कारोबारमा जोडिएका छन् । यसले भोलिका दिनमा त्योभन्दा पनि साना व्यवसायलाई डिजिटल कारोबारा जोडिन प्रोत्साहन गर्ने पक्कै छ । जुन, नेपालको डिजिटल सपना र पारदर्शिताका लागि एउटा ठूूूूूलाे आधार बन्दै जानेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०