close

टेलिकमको आईपी टिभी सेवा लिन चाहनेले जान्नैपर्ने कुराहरु

टेकपाना टेकपाना

पुस १८, २०७७ १९:२३

टेलिकमको आईपी टिभी सेवा लिन चाहनेले जान्नैपर्ने कुराहरु

काठमाडाैं । नेपाल टेलिकमले शुक्रबारदेखि ‘एनटी टिभी’ ब्राण्डमा आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो ।

अब भने कम्पनीले सोही फाइबरमार्फत आईपी टिभी सेवा थप गरी ग्राहकलाई उपलब्ध गराउन थालेको हो । कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।

कम्पनीले आईपी टिभी सेवा आरम्भ गरेपछि धेरैले यसको प्रयोग, उपलब्धता, शुल्क लगायतका विषयमा चासो राखेका छन् ।

एनटी टिभीको सेवा, अन्य टिभी सेवा र यसबीच फरक, नयाँ र पुराना ग्राहकका लागि आवश्यक कुरा, च्यानलहरुको जानकारी, सेवा लिने तरिका लगायतका जानकारी यहाँ प्रस्तुत गरेका छौं ।

एनटी टिभी भनेको के हो ?

नेपाल टेलिकमले ग्राहकहरुलाई ईन्टरनेट सेवा प्रदान गर्न तयार गरेको फाइबर नेटवर्कबाट गुणस्तरीय टेलिभिजन च्यानलहरु समेत हेर्न सकिनेसेवाको नाम एनटी टिभी हो।

यो सेवा कहाँ उपलब्ध हुन्छ ?
हाल पहिलो चरणमा काठमाण्डौ उपत्यकाभित्रको नेपाल टेलिकमको फाइबर इन्टरनेट नेटवर्क उपलब्ध भएको स्थानहरुमा सेवा उपलब्ध छ । एनटी टिभी सुविधा लिन चाहेको क्षेत्रको नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा उपलब्धताको बारेमा बुझ्न सकिन्छ । उपत्यका बाहिर यो सेवा क्रमश: विस्तार हुने जनाइएकाे छ ।

अन्य केबुल टेलिभिजन तथा डीटीएचभन्दा के फरक छ ?

एनटी टिभी मा एउटै फाइबार तारबाट इन्टरनेट, टेलिभिजन र ल्याण्डलाइन टेलिफोन चलाउन सकिन्छ। डिजिटल आईपी प्रविधिमा आधारित सेवा भएकोले ग्राहकहरुले गुणस्तरीय सेवाको अनुभव गर्न सक्नुहुनेछ।

एनटी टिभी लिन घरमा ल्याण्डलाइन टेलिफोन भएको हुनुपर्छ ?

पर्दैन। एफटीटीएच इन्टरनेट लिएको लाईनबाटै टेलिभिजन चलाउन सकिन्छ र ग्राहकले चाहेमा सोही लाईनबाट ईन्टरनेट, टेलिभिजन र टेलिफोन तीनवटै सेवा चलाउन सक्नुहुन्छ।

फाइबरमा इन्टरनेट वा टेलिफोन सुविधा नलिई एनटी टिभी मात्र जडान गर्न सकिन्छ ?

एनटी फाइबरमा हाल इन्टरनेट + एनटी टिभी + फ्री भ्वाइस ; एनटी टिभी + फ्री टेलिफाेन; इन्टरनेट + फ्री टेलिफाेन; इन्टरनेट मात्र र टेलिफाेन मात्र गरी  ५ प्याकेजहरु उपलब्ध छन् । एनटी टिभी मात्रको प्याकेज उपलब्ध छैन।

यस्ताे टिभी सेवा लिन के के कागजात चाहिन्छ ?

नेपाल टेलिकमको एफटीटीएच सेवा प्रयोग गरिरहनु भएका ग्राहकहरुले थप कागजात पेश गर्नु पर्दैन, नजिकको दूरसंसचार कार्यालयमा गई आवश्यक रकम भुक्तानी गरेर नेट टिभी सेवा सकृय गर्न सक्नुहुन्छ ।

नयाँ ग्राहकहरुले नेपाल टेलिकमको वेवसाईटमा वा नजिकको दूरसंचार कार्यालयमा उपलब्ध हुने ग्राहक आवेदन फाराम रितपूर्वक भरी सोको साथमा नेपाली नागरिकताको फोटोकपी र एक प्रति फोटो संलग्न गर्नु पर्दछ।

नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरेको कति समयमा नेट टिभी जडान हुन्छ ?

प्राविधिक रुपमा सम्भव भएको ठाउँमा जडानको लागि कागजात पेश गरी रकम भुक्तानी हुनासाथ एकै दिनमा सेवा जडान गर्न सकिन्छ।

कुन कुन टेलिभिजन च्यानल वा प्याकेजहरु उपलब्ध हुन्छ र के कति खर्च लाग्दछ ?

एनटी टिभीमा मासिक, त्रैमासिक तथा वार्षिक बेसिक तथा प्रिमियम प्याकेजहरु उपलब्ध छन्। बेसिक प्याकेजमा उपलब्ध हुने च्यानलहरुको तुलनामा तथा प्रिमियम प्याकेजमा थप च्यानलहरु उपलब्ध हुन्छ।उपलब्ध प्याकेजहरु, मूल्य तथा च्यानलहरुको वारेमा विस्तृत जानकारी यहाँबाट लिन सकिन्छ।

सेवा उपयोगका लागि चाहिने उपकरण वा सामानहरु कहाँबाट पाउन सकिन्छ ?

नयाँ ग्राहकहरुको लागि एफटीटीएच राउटर र सेटअप बक्स आवश्यक पर्छ। पुराना एफटीटीएच ग्राहकहरुको घरमा पहिले नै एफटीटीच राउटर हुने हुँदा सेटअप बक्स मात्र थप गर्नुपर्ने हुन्छ। उल्लिखित सामानहरु नेपाल टेलिकममा नै उपलब्ध हुन्छ। तर टेलिभिजन सेट, पावर केबल आदि नेपाल टेलिकमबाट उपलब्ध हुँदैन, ग्राहकले नै ब्यबस्था गर्नुपर्छ।

एउटा कनेक्सनबाट कतिवटा टेलिभिजन सेट चलाउन सकिन्छ ?

घरमा चलाउने टिभिको संख्या अनुसारको प्याकेज लिई एउटा कनेक्सनबाट बढीमा तीन वटासम्म टेलिभिजन चलाउन सकिन्छ।

यो सेवा नयाँ जडान गर्न तथा टिभिको संख्या थप गर्न कति शुल्क लाग्छ ?

जडान तथा अन्य शुल्कर छुट सम्वन्धी विस्तृत विवरण नेपाल टेलिकमको वेभसाइटको यो लिङ्कमा उपलब्ध छ ।

पहिल्यै देखि एफटीटीएच इन्टरनेट सेवा लिइरहेका ग्राहकले एनटी टिभी सेवा लिन कति शुल्क लाग्छ ?

पहिल्यै देखि घरमा एफटीटीएच मार्फत इन्टरनेट वा ल्यान्डलाईन सेवा लिईरहेका ग्राहकहरुले जडान शुल्क, एफटीटीएच राउटरको शुल्क तिर्नुपर्दैन भने एनटी टिभीको लागि आवश्यक पर्ने सेट टप बक्सको शुल्क तिर्नुपर्दछ ।

यसैगरी एनटी टिभी सहितको प्याकेजको लागि लाग्ने शुल्कमा पहिले लिईरहेको ईन्टरनेट प्याकेजको बाँकी रहेको रकम समायोजन गरी नपुग रकम मात्र भुक्तानी गरी नयाँ एनटी टिभी सहितको प्याकेज एक्टीभ गर्न सकिन्छ।

सेवा जडानपछिको नियमित महशुल कसरी भुक्तानी गर्न सकिन्छ ?

नजिकको नेपाल टेलिकमको काउन्टरमा गएर वा बजारमा उपलब्ध नेपाल टेलिकमको रिचार्ज कार्डबाट वा विभिन्न विद्युतीय माध्यम प्रयोग गरी घरैबाट पनि महशुल भुक्तानी गर्न सकिन्छ।

एफटीटीएच इन्टरनेट, ल्याण्डलाइन र एनटी टिभी तीनवटै सेवा लिएको छ भने एकमूष्ट भुक्तानी गर्नुपर्छ कि अलग अलग गर्न सकिन्छ ?

आफूले लिएको प्याकेजको महशुल भुक्तानी एकमूष्ट गर्नुपर्छ।

सेवा सम्वन्धी कुनै जानकारी, गुनासो वा समस्या भएमा कहाँ सम्पर्क गर्न सकिन्छ ?

सेवा सम्बन्धि थप जानकारी वा गुनासो वा समस्याको लागि नजिकको दूरसञ्चार कार्यालय वा ग्राहक सेवा केन्द्रको टेलिफोन नं. १४९८ मा सम्पर्क गर्न सकिन्छ ।

स्राेत : नेपाल टेलिकम

यस्तो छ एनटी टिभी सहितकाे सेवाकाे मूल्य प्याकेज

बेसिक प्याकेज (एक टिभी)
प्याकेज र समय अवधि१ महिना (रु‍‌‍.)३ महिना (रु‍‌‍.)१ वर्ष (रु‍‌‍.)
15 mbps Internet+NTTV+Free Telephone1,2303,53013,220
NTTV+Free Telephone4801,4505,780
प्रिमियम प्याकेज (एक टिभी)
प्याकेज र समय अवधि१ महिना (रु‍‌‍.)३ महिना (रु‍‌‍.)१ वर्ष (रु‍‌‍.)
15 mbps Internet+NTTV+Free Telephone1,4004,10015,000
30 mbps Internet+NTTV+Free Telephone1,7505,00018,100
40 mbps Internet+NTTV+Free Telephone2,0506,00019,700
60 mbps Internet+NTTV+Free Telephone2,4507,20024,500
NTTV+Free Telephone8002,3508,300

एकभन्दा बढी टिभी भएको खण्डमा त्यसका लागि थप शुल्क लाग्ने टेलिकमले जनाएकाे छ । यदि तपाईं टिभी थप्न चाहानुहुन्छ भने यस्तो छ थप टेलिभिजनकाे शुल्क :

प्याकेज१ महिना (रु‍‌‍.)३ महिना (रु‍‌‍.)१ वर्ष (रु‍‌‍.)
बेसिक2266782712
प्रिमियम50914494882

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०