काठमाडाैं । के तपाईं आफ्नो स्मार्टफोनलाई रातभर चार्जमा लगाएर छोड्नुहुन्छ ? के यसो गर्दा ब्याट्री खराब त हुँदैन ? वा ब्याट्रीको आयू त छोटिँदैन ? स्मार्टफोनको ब्याट्रीलाई सकेसम्म धेरै लामाे समयसम्म टिकाउ हुने गरी प्रयोगमा ल्याउन सम्भव छ ? यस विषयमा यस्तै कयौँ जिज्ञासा र भ्रमहरू विद्यमान छन् ।
उसो भए वास्तविकता के हो त ? आज हामी त्यस विषयमा चर्चा गर्ने छौँ । स्मार्टफोनहरूमा लिथियम-आयन ब्याट्री प्रयोग गरिएको हुन्छ ।
तपाईं हामीमध्ये कतिपयले स्मार्टफोनलाई राती सुन्नेबेला चार्जमै छोडिदिन्छौँ । यसरी रातभर फोन चार्जमै छोड्नु बिल्कुल गलत तरिका भने होइन । किनभने तपाईंको फोन शत प्रतिशत चार्ज हुने वितिक्कै स्वतः चार्जिङ बन्द हुन्छ ।
स्मार्टफोनमा कतिखेर फुल चार्ज हुन्छ र आइरहेको करेन्टलाई रोक्ने भनेर थाहा पाउने प्रविधि राखिएको हुन्छ । त्यसैले ब्याट्री ओभर चार्ज हुने सम्भावना नै रहँदैन । ब्याट्रीको चार्ज सकिँदै गएपछि तल्लो सीमामा पुग्ने वितिक्कै स्वतः मोबाइल बन्द हुने भएकाले ओभर डिस्चार्ज समेत हुँदैन ।
यद्यपी रातभर चार्जमा राख्दा फुल चार्ज हुने वितिक्कै चार्जिङ बन्द हुने भएतापनि लगत्तै डिस्चार्ज सुरु हुन्छ । मोबाइल फोन निर्माता कम्पनीहरूले सेट गरेको थ्रेसहोल्डका आधारमा पुनः चार्ज हुन थाल्छ ।
यदी रातभर मोबाइल चार्जमा छाड्दै हुनुहुन्छ भने चार्जमा राख्नु अघि स्वीच अफ गर्नुस् ता कि ब्याट्रीमा अनावश्यक भार नपरोस् ।
हरेक पटकको चार्जिङमा तपाईंको फोनको ब्याट्री नगन्य मात्रामा कमजोर भने अवश्य हुन्छ । त्यसैले स्मार्टफोनको ब्याट्रीलाई मजबुत र टिकाउ राख्ने सबैभन्दा उपयुक्त उपाय भनेकै २० प्रतिशत ब्याट्री बाँकी छँदा मात्रै चार्जमा जोड्ने गर्नुस् र ८० प्रतिशत पुग्ने वितिक्कै चार्जरबाट छुटाउनुहोस् ।
छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा ब्याट्रीको आयूमा नकारात्मक असर पर्न सक्छ । अनि अर्को महत्वपुर्ण विषय चार्जमा छँदा फोन प्रयोग गर्नु गलत तरिका हो किन कि त्यसले फोनको तापक्रम बढाउँछ ।