close

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ईसेवाबाट भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

पुस २०, २०७७ १३:२५

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ईसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ईसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । ईसेवाले ग्रामीण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवित्त कम्पनीहरुको भुक्तानीलाई ईसेवामा आबद्ध गर्दै लगेको छ ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले हस्ताक्षर गरे ।

ईसेवा अकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने ईसेवा अकाउन्ट नभएका सदस्यले नजिकको ईसेवा जोन, पोइन्ट तथा ईसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।

योसँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन ।

अहिलेको विषम परिस्थितिमा भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुने जनाइएको छ ।

ईसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । ईसेवा मार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवीत्त संस्था हो । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस वित्तीय संस्थाका ७२ वटा शाखा रहेका छन् । संस्थाले हाल साढे ५ अर्ब कर्जा लगानी गरेको छ भने डेढ अर्बभन्दा धेरै बचत रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१