close

अझै सुरु भएन कर्णाली र सुदुरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने काम

टेकपाना टेकपाना

माघ ८, २०७७ ९:५३

अझै सुरु भएन कर्णाली र सुदुरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने काम

काठमाडौं । कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर बिछ्याउने काम अझै सुरु हुन सकेको छैन । स्मार्टबाट खोसेर नियामक प्राधिकरणले टेलिकमलाई ठेक्का सुम्पिएको १४ महिना बितिसकेको छ । तर कार्यप्रगति भने हालसम्म शुन्य छ ।

सम्झौता मितिदेखि दुई वर्षभित्रमा ठेक्का सम्पन्न गर्नेगरी प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । तर टेलिकमले उक्त क्षेत्रमा हालसम्म काम अगाडि बढाउन सकेको छैन ।

सम्झौता अनुसार टेलिकमले कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा १९९२ किलोमिटर दूरीसम्म अप्टिकल फाइबर बिछ्याउनुका साथै २८ वटा डीडब्लुडीएम सिस्टम, ५६ कोर राउटर इक्युपमेन्ट इन्स्टलेसन तथा १८ होपको माइक्रोवेब स्पोट तयार गर्नुपर्ने हो ।

२०७६ को कार्तिक ३ गते स्मार्टसँग सम्झौता रद्द गरेर प्राधिकरणले सो परियोजना टेलिकमलाई सुम्पिएको थियो ।

तर फाइबर बिछ्याउने काम अगाडि नबढेको टेलिकमका प्रवक्ता राजेश जोशीले पनि स्वीकार गरेका छन् । यस अवधिमा टेलिकमको तर्फबाट स्पेसिफिकेसन बनाउने तथा सामग्री आपूर्तिको काम भइरहेको बताएको उनले बताए ।

यस्तै सोही अवधिमा सूचना महामार्ग निर्माण परियोजना अन्तर्गत प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशमा ९५ किलोमिटर अप्टिकर फाइबर बिछ्याइएको छ । यससँगै सूचना महामार्गको समग्र परियोजनामा हालसम्म ५८६ किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ ।

तर यूटीएल र नेपाल टेलिकमले ठेक्का लिएको अन्य दुई प्याकेजमा भने अप्टिकल फाइबर बिछ्याउने काममा अहिलेसम्म शुन्य प्रगति छ ।

हालसम्म अप्टिकल फाइबरको पहिलो प्याकेजमा पनि २६.८९ प्रतिशत अप्टिकल बिछ्याउने काम मात्र सम्पन्न भएको छ ।

यस्तै अर्कोतिर दूरसञ्चार विकास कोषको ब्रोडब्याण्ड परियोजना अन्तर्गत पछिल्लो एक महिनामा ४३१ साइटमा इन्टरनेट जडानको कार्य सम्पन्न भएको छ ।

यससँगै अब परियोजना सम्पन्न हुन ४ हजार ३३८ स्थानमा इन्टरनेट जडान गर्न बाँकी रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३