close

ट्राफिक उल्लंघनको जरिवाना अब ईसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

माघ २१, २०७७ १३:७

ट्राफिक उल्लंघनको जरिवाना अब ईसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । ट्राफिक उल्लङ्घन गरे बापतको जरिवाना अबदेखि ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम ईसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा ईसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले हस्ताक्षर गरे ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरू भएको हो ।

प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापन गर्दा थप प्रभावकारी र कम जनशक्तिबाट धेरै काम गर्न सकिने अपेक्षा गरिएको छ । अनलाइन भुक्तानी गर्दा जरिवाना बापतको राजस्व रकम सिधै सरकारी राजस्व खातामा जम्मा हुने छ ।

जसले गर्दा जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सकिनेछ ।

जसले गर्दा यसअघि बैंकमा लाइन बस्नुपर्दा धेरै समय खर्चिनुपर्ने र झन्झटिलो प्रकृया बेहोर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

कसरी तिर्ने ?

सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम देखाउनेछ । सोही ठाउँमा मागिएको विवरण भरी सहजै ईसेवाबाट रकम भुक्तानी गर्न सकिनेछ ।

ईसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको कुनै पनि ईसेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सकिनेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झन्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ ।

हाल ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल ईसेवाका देशभर करिब एक लाखभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेको छ ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल, कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१