close

फाईभजीमा थप फ्रिक्वेन्सी पहिचान, नेपालमा कहिले सुरु होला ?

टेकपाना टेकपाना

मंसिर ७, २०७६ १०:५५

फाईभजीमा थप फ्रिक्वेन्सी पहिचान, नेपालमा कहिले सुरु होला ?

पाँचौं पुस्ताको मोबाइल प्रविधि फाईभजीका लागि थप फ्रिक्वेन्सी ब्यान्ड पहिचान भएको छ । इजिप्टमा शुक्रबार सम्पन्न ‘वर्ल्ड रेडियो कम्युनिकेसन कन्फेरेन्स २०१९ (डब्लुआरसी–१९) ले अन्तर्राष्ट्रिय मोबाइल दूरसञ्चार (आइटीएम) का लागि थप ब्यान्ड पहिचान गर्न सफल भएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटीयू) का सदस्य राष्ट्रका लागि डब्लुआरसीमार्फत फ्रिक्वेन्सी व्यवस्थापनको विषयमा निर्णय गर्ने गरिन्छ । डब्लुआरसीले विभिन्न पाँच ओटा ब्यान्डमा कुल १७.२५ गिगाहर्ज फ्रिक्वेन्सी फाईभ जीका लागि पहिचान गरेको हो । सम्मेलनअघि फाईभजीका लागि १.९ गिगाहर्ज ब्यान्डविथमात्र उपलब्ध थियो । छुट्याइएको कुल फ्रिक्वेन्सी मध्ये १४.७५ गिगाहर्ज विश्वभर उपयोग हुने व्यवस्था गरिएको छ । यसको लाभ नेपालले समेत लिन सक्नेछ ।

नेपालमा अहिलेसम्म फाईभजीका लागि छुट्टै फ्रिक्वेन्सी पहिचान भइसकेको छैन । यद्यपि प्रविधि तटस्थताको माध्यमबाट नेपाल टेलिकमले अहिलेकै ८ सय र १८ सय मेगाहर्जमा उपलब्ध फ्रिक्वेन्सीमार्फत नै फाईभजीको परीक्षण गर्ने तयारी भने गरेको छ । डब्लुआरसीले पहिचान गरेका ब्यान्डपछि मात्रै फाईभजीको व्यावसायिक सुरुवात नेपालले गर्न सक्नेछ ।

डब्लुआरसीले २४.२५–२७.५ गिगाहर्ज, ३७–४३.५ गिगाहर्ज, ४५.५–४७ गिगाहर्ज, ४७.२–४८.२ गिगाहर्ज र ६६–७१ गिगाहर्जका विभिन्न पाँँच ओटा ब्यान्डमा मोबाइलका लागि फाईभजी प्रयोग गर्न सकिने फ्रिक्वेन्सी पहिचान गरेको हो । यसरी फाईभजी ब्यान्ड पहिचान गर्दा स्याटेलाईट सेवा, मौसम सम्बन्धी जानकारी लिनका लागि प्रयोग हुने ब्यान्डमा कुनै असर नपारिएको जनाइएको छ ।

यसबाहेक डब्लुआरसीले उच्च र विकट क्षेत्रमा फाईभजी सेवा विस्तारका लागि नयाँ फ्रिक्वेन्सी पहिचान गर्ने सन्दर्भमा अध्ययनको योजनासमेत टुंगो लगाएको छ । यसले खासगरी उच्च क्षेत्रमा बेस स्टेसन तयार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । विश्वमा सन् २०२० देखि पहिलोपटक फाईभजी पूर्ण व्यावसायिक प्रयोगमा आउने विश्वास छ ।

पहिचान गरिएका ब्यान्डको सन् २०२० को फेब्रुअरीसम्म परीक्षणको काम हुनेछ । त्यसको परीक्षण पछि सम्बन्धित ब्यान्डहरुलाई आइएमटी मापदन्डमा समावेश गरिनेछ । त्यसपछि यो फाईभ जीका लागि उपयोगमा ल्याउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१