close

सर्च इन्जिन व्यवसायमा गुगलको दबदबा

टेकपाना टेकपाना

माघ २५, २०७७ १४:५२

सर्च इन्जिन व्यवसायमा गुगलको दबदबा

काठमाडाैं । २१औं शताब्दीले दोस्रो दशकमा यात्रा गरिरहँदा सूचना प्रविधिले हरेक क्षेत्रलाई कायपलट गरिरहेको छ । मानिसहरु लाइनबाट अनलाइनमा प्रवेश गरिरहेका छन् । सेवा दिने र लिने सबै अनलाइनमा आउन थालेका छन् ।

त्यतिमात्रै होइन पछिल्लो पुस्ता हरेक कुराको जानकारीका लागि अनलाइनमै भर परिरहेका छन् । इन्टरनेटको ब्राउजरमा आफूलाई चाहिने सूचना खोज्नु प्राय सबैको दैनिकी बनेको छ । तपाईंलाई चाहिएको यस्तो जानकारी तत्कालै उपलब्ध गराइदिने काम सर्च इन्जिनको हो ।

यस्ता सर्च इन्जिनले इन्टरनेटमा खोजिने हरेक सूचना सेकेन्डभरमै उपलब्ध गराउँछन् । तपाईंलाई इन्टरनेटमा सर्च गर्ने भन्ने बित्तिकै गुगल सर्चकै नाम दिमागमा आउँछ ।

हुन पनि गुगल विश्वका अधिकांश मानिसले मन पराएकाे सर्च इन्जिन हाे । २०२१ को जनवरीसम्म आइपुग्दा विश्वको ९१.८६ प्रतिशत सर्च इन्जिन मार्केट गुगलले लिएको छ । बिङ, याहु, बैडु जस्ता थुप्रै सर्च इन्जिनहरु इन्टरनेटमा उपलब्ध छन् ।

गुगलमा हरेक दिन ५ अर्ब ४० कराेडभन्दा बढी सर्च हुने गरेकाे छ । सर्च इन्जिनमा जसरी गुगलले आफ्नो दबदबा मच्चाइरहेको छ, अरु सर्च इन्जिनहरु उसको वरिपरि समेत पुग्न सकेका छैनन् । बरु दोस्रो स्थानका लागि गुगल बाहेकका कम्पनीहरुले प्रतिस्पर्धा गर्ने गर्छन् ।

अहिले दाेस्राे स्थानमा रहेकाे माइक्राेसफ्टकाे बिङ विश्वमा २.७१ प्रतिशतले मात्र प्रयाेग गर्छन् । त्यस्तै याहू १.४६ प्रतिशत मानिसले मात्र प्रयाेग गर्छन् । यही तथ्याकंले बताउँछ कि गुगल सर्च इन्जिन याे व्यवसायका लागि बादशाह हाे ।

यसरी सर्च इन्जिन बिजनेशमा एकलौटी राज गरिरहेको गुगलले आफ्नो कमाईको मुख्य स्रोत नै यसलाई बनाइरहेको छ । अहिले ६० प्रतिशतभन्दा बढी अनलाइन विज्ञापन पनि गुगलबाटै आउँछ ।

इन्टरनेट र स्मार्टफोन प्रयोगकर्ताको वृद्धिले गुगललाई झनै फाइदा पुगेकाे छ । बिङ, याहुजस्ता सर्च इन्जिनको व्यापार गुगलसँग तुलना गर्नै नसकिने छ । इन्टरनेटमा एकलौटी राज गरिरहेको गुगलले सर्च इन्जिनबाट फोटो, भिडियो, नक्सा, पुस्तक, तथ्यांक आदि पनि देखाउँछ ।

१६० भन्दा बढी स्थानीय भाषामा चलाउन मिल्ने सुविधा गुगलले दिएको छ । भिजिटर ट्राफिक, एसईओ, डिजिटल मार्केटिङ आधारमा गुगलले लाखौं वेबसाइटबाट क्रमबद्ध रुपले वेबसाइटहरुको इन्डेक्स गर्ने गर्दछ ।

गुगलले विभिन्न लोकल सर्च टुलहरु पनि विकास गरेको छ । गुगल माई बिजनेश, गुगल म्याप, गुगल पोस्ट जस्ता लोकल सर्च टुलहरुको विकास उसले गरेको छ । गुगलकै प्रडक्ट युट्युब भिडियो सेयरिङ वेबसाइट मात्रै नभएर सर्च इन्जिन समेत हो । अन्य सर्च इन्जिनहरुले पनि यस्ता लोकल सर्च टुल ल्याएका छन् ।

यस्तो छ गुगल सर्च गर्ने स्मार्ट तरिका

काठमाडौं । एउटा इन्टरनेट प्रयोगकर्ताले प्रतिदिन औषत चार पटकसम्म गुगल सर्च गर्ने गर्छन् । यसरी सर्च गर्दा एउटा वा त्योभन्दै धेरै शब्दहरु गुगल सर्चको बारमा टाइप गर्ने गरिन्छ । 

तर सर्च गर्ने सबैको एउटै परम्परागत तरिका छ । यदि गुगल सर्चको स्मार्ट तरिका जानिराख्ने हो भने त्यसले तपाईंको सर्च अनुसार खोजेको छिटो अनि मिठो उत्तर दिन्छ । 

१. “”

डबल कोटेसन गुगल सर्चका लागि राम्रो सर्च अपरेटर हो । तपाईं कुनै पनि शब्द गुगलमा खोज्दै हुनुहुन्छ भने त्यो शब्दलाई डबल कोटेसन चिन्हको बीचमा राख्नुहोस् । उदाहरणका लागि “महावीर पुन” ।

२.  OR

 तपाईं गुगलमा रहेका धेरै विषयमध्ये एउटा परिणाम निकाल्न चाहनुहुन्छ भने OR प्रयोग गर्नसक्नुहुन्छ । उदाहरणका लागि “महावीर पुन”OR आविष्कार केन्द्र ।

३. AND

यदि धेरै विषयवस्तु भएको परिणाम गुगलमा खोज्न चाहनुहुन्छ भने AND अपरेटर प्रयोग गर्नुहोस् । उदाहरणका लागि “महावीर पुन”AND म्यागासेसे

४.  – 

सर्च रिजल्टबाट केही शब्दहरु हटाउन चाहनुहुन्छ भने माइनसको प्रयोग गर्नुहोस् । जस्तै तपाईं महावीर पुन सर्च गर्न चाहनुहुन्छ जुन आविष्कार केन्द्र वा विज्ञान प्रविधिसँग सम्बन्धित छैन भने माइनसले ती दुवै शब्द घटाउन सक्नुहुन्छ । उदाहरणका लागि “महावीर पुन”-आविष्कार केन्द्र -विज्ञान प्रविधि

५. * 

यदि तपाईं दुईवटा शब्द निश्चित अर्डरमा राखिएको पेज खोज्दै हुनुहुन्छ भने दुई शब्दको बीचमा * अर्थात एसट्रिक चिन्ह राख्नुहोस् । उदाहरणका लागि “महावीर पुन” *ट्वीटर

६. ()

सर्च गर्ने क्रममा दुईवटा शब्द देखाउनुपर्ने छ भने () अर्थात ब्राकेटलाई प्रयोग गर्नुहोस् । उदाहरणका लागि (इन्टरनेट or आविष्कार केन्द्र) एण्ड “महावीर पुन”

७. AROUND (X)

तपाईं एक वा सो भन्दा बढी शब्दहरु खोज्दै हुनुहुन्छ, जुन एकअर्कासँग नजिक होस् भन्ने चाहनुहुन्छ भने AROUND (X) प्रयोग गर्नुहोस् । जस्तै आविष्कार केन्द्र र महावीर पुनबीच तीनभन्दा धेरै शब्द चाहनुहुन्न भने यसलाई प्रयोग गर्नुहोस् । 

उदाहरणका लागि  “महावीर पुन”AROUND (3) आविष्कार केन्द्र

८. $

यदि तपाईं कुनै नम्बर खोज्दै हुनुहुन्छ तर त्यसलाई मूल्यमा देखाउन चाहनुहुन्छ भने $ अर्थात अमेरिकी डलरको संकेत प्रयोग गर्नुहोस् । यसले युरोको साइनको रुपमा पनि काम गर्न सक्छ । उदाहरणका लागि $ Hundred वा € Hundred

९. SITE

जब तपाईं निश्चित डोमेनमा आफ्नो रिजल्टलाई सीमित गर्न चाहनुहुन्छ भने SITE को प्रयोग गर्न सक्नुहुन्छ । जस्तै techpana.com को पेजमा आविष्कार केन्द्र सम्बन्धी सबै कुरा हेर्न चाहनुहुन्छ भने SITE उल्लेख गर्न सक्नुहुन्छ । उदाहरणका लागि SITE:techpana.com आविष्कार केन्द्र

१०. Intitle

महावीर पुनलाई कुनै पनि वेब पेजको टाइटलमा खोज्दै हुनुहुन्छ भने अगाडिपट्टी ईन टाइटल लेख्नुहोस् । उदाहरणका लागि Intitle: “महावीर पुन”

११. Allintitle 

यदि तपाईं धेरै शब्दहरु राखेर ईनटाइटल जस्तै गरी सर्च गर्न चाहनुहुन्छ, तर Allintitle लेख्न सक्नुहुन्छ ।

उदाहरणका लागि Allintitle: “महावीर पुन” आविष्कार केन्द्र

१२. Inurl 

यूआरएलमै तपाईं अन्य टेक्स्ट पनि खोजिरहनुभएको छ भने यो विधि तपाईंलाई काम लाग्नेछ ।  

उदाहरणका लागि Inurl: आविष्कार केन्द्र

१३. Allinurl

Inurl जस्तै प्रयोजनका लागि यसको प्रयोग गर्न सक्नुहुन्छ । तर यो चाहिँ धेरै शब्द रहेको यूआरएल खोज्ने सन्दर्भमा काम लाग्छ । उदाहरणका लागि Allinurl: Tesla Model x

१४. Intext

वेब पेजको कन्टेन्टमा आफ्नो सर्चलाई सीमित गर्न चाहनुहुन्छ भने यो तरिका प्रयोग गर्न सक्नुहुन्छ । उदारहणका लागि Intext: इन्टरनेट

१५. Allintext

यो पनि Intext जस्तै हो तर यो चाहिँ धेरै शब्दहरु जोडेर सर्च गर्नुपरेको अवस्थामा काम लाग्छ । उदाहरणका लागि Allintext Text: आविष्कार केन्द्र पीपीई

याे पनि पढ्नुहाेस् : गुगल सर्चमा यस्ता कुरा नखोजेकै बेस

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१