close

विद्युतीय भुक्तानीमा कारोबारको सीमा बढाउँदै राष्ट्र बैंक

टेकपाना टेकपाना

फागुन २, २०७७ २०:५५

विद्युतीय भुक्तानीमा कारोबारको सीमा बढाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाउने संकेत गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रीक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कारोबार प्रोत्साहन गर्न कारोबारको सीमा समयानुकूल पुनरावलोकन गर्ने जनाएको हो ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सुदृढीकरण गर्न र सबै प्रकारका विद्युतीय कारोबारको अभिलेख कायम गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडलाई यस अघि नै राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।

बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धमा समेत पुनरावलोकन गरिएको छ । साथै विद्युतीय भुक्तानीमा क्वीक रेस्पोन्स (क्यूआर) कोड मार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न केन्द्रीय बैंकले यस सम्बन्धित मापदण्डको मस्यौदा समेत सार्वजनिक गरिकसकेको छ ।

सरोकारवालाहरुको राय तथा सुझावका आधारमा चाँडै यसलाई अन्तिम रुप दिइने जनाइएको छ । यसैगरी क्यूआर कोड लगायतका विद्युतीय कारोबारको प्रवर्द्धन गर्नका लागि आवश्यक नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

विद्युतीय कारोबारलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै आएको राष्ट्र बैंकले त्यसका लागि विद्युतीय साक्षरतामा गरिने निश्चित खर्चहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने घोषणा समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३