close

प्रविधिमैत्री बन्दै ट्राफिक व्यवस्थापन

टेकपाना टेकपाना

फागुन ३, २०७७ ७:४३

प्रविधिमैत्री बन्दै ट्राफिक व्यवस्थापन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन ।

उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘‘सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर होइन अब प्रविधिबाटै काम हुने छ’’, महाशाखा प्रमुख जनकराज भट्टराईले भने ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्य समन्वयबाट क्रमशः प्रविधिको उच्चतम प्रयोगसम्बन्धी अभ्यास भइरहेको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईका अनुसार ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भइसकेका छन् ।

ट्राफिक कारबाहीसम्बन्धी जरिवाना, सवारी साधन हराएको वा चोरी भएको उजुरी, ट्राफिकसँग सम्बन्धित अन्य कागजपत्र लिनदिन ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । महाशाखाले गत सातादेखि यी सम्पूर्ण सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको हो ।

अब सवारी दुर्घटना बीमाको सिफारिस कागजपत्र पनि अनलाइनबाट नै उपलब्ध हुने गरेको छ । सवारी जरिवाना तथा अन्य शुल्क बुझाउन ई–सेवासँग सहकार्य गरी सीधै सरकारको राजस्वसम्बन्धी खातामा रकम जम्मा हुने व्यवस्था गरिएको छ ।

सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर ‘हात हल्लाउने र सिटी फुक्ने’ परम्परागत व्यवस्था विस्थापित गर्न सवारी चाप हेरी बत्ती बाल्ने इन्टेलिजेन्स ट्राफिक बत्ती, भ्यु हेर्न मिल्ने सीसीटीभी, गति डिटेक्टर प्रविधि र रडार गनको विस्तारलाई प्राथमिकतामा राखेको छ ।

प्रविधिको उच्चतम प्रयोगले उपत्यकमा तैनाथ करिब एक हजार दुई सय ट्राफिक प्रहरी जनशक्ति घट्नेछ । दिनरात सडकमा खटिनुपर्ने बाध्यता हट्नेछ । चालक र ट्राफिकबीचको द्वन्द्व हट्नका साथै प्रमाणसहितको सवारी कारबाहीले प्राथमिकता पाउनेछ ।

सीसीटीभीबाट निगरानी

सवारी जाम घटाउनका लागि ‘ड्रोन’को प्रयोग, सेन्सरजडित स्वचालित ट्राफिक बत्ती, लेन अनुशासन, तीव्र गति, तथा अन्य कारबाहीका लागि उच्च स्तरीय सीसीटीभी जडानको तयारी हुँदैछ । भाडा बढी लिएमा वा दुर्घटना गरी फरार सवारी पत्ता लगाउन कम्प्युटरमा नम्बर राख्ने बित्तीकै सीसीटीभीले नै पिछा गर्ने प्रणाली जडान हुनेछ ।

कोरोना महामारीसँगै मदिरा सेवन (मापसे), लेन अनुशासन र ट्राफिक बत्तीसम्बन्धी नियम उल्लङ्घन गर्नेहरूका लागि सञ्चालित नियमित कक्षा अनलाइनबाट सञ्चालन गर्दै आएको छ । ट्राफिक जनचेतनासम्बन्धी कक्षाहरू अनलाइनबाट हुँदै आएका छन् ।

ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भएसँगै रामशाहपथस्थित ट्राफिक महाशाखामा सेवाग्राहीको चाप ह्वात्तै घटेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध सीसीटीभीबाट निगरानी राखी स्थलगत कारबाही र ट्राफिक बत्ती भएका चोकमा सवारी चाप तथा लाम हेरी स्वतः बत्ती बल्ने ‘इन्टेलिजेन्स’ प्रविधि राख्ने तयारी हुँदै छ ।

त्यस्तै सवारीसम्बन्धी कागजपत्र महाशाखाबाट हेर्न मिल्ने गरी यातायात कार्यालयसँग छलफल भइरहेको जानकारी एसएसपी भट्टराईले दिए । शङ्का लागेका सवारीसाधन र धनीसम्बन्धी बुझ्न यातायात कार्यालय पुग्नुपर्ने बाध्यताका कारण चोरी र दुर्घटना गरी फरार हुनेको समस्या बढ्दैछ ।

इम्बोस्ट नम्बर अनिवार्य

इम्बोस्ट नम्बर प्लेट लागू भएसँगै सवारी चोरी स्वतः नियन्त्रण तथा राजस्व सङ्कलनमा वृद्धि हुनेछ । इम्बोस्ट नम्बर प्लेट परिवर्तन गर्न नसक्ने र गरे पनि तत्काल परीक्षण गरी सक्कली र नक्कली नम्बर प्लेट, इन्जिन तथा चेसिस नम्बर र सवारी धनी बुझ्न सकिने उपकरण प्रयोग हुँदै आएको छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३