काठमाडौं । नेपालमा बढ्दो स्टार्टअप कम्पनीहरुको बढ्दो क्रेजसँगै त्यसकाे प्रभाव समेत देशका विभिन्न भागमा देखिन थालेको छ । यसको पछिल्लो उदाहरण हो, बुटवलको मजूर एप ।
मजूरले अहिले बुटवलमा अनलाइन फुड डेलिभरी सेवा दिन थालेको छ । २०५३ सालमा पढ्दा पढ्दै छुट्टिएका कृष्ण आचार्य र अविनाश अधिकारी २०७७ सालमा भेटिएपछि मजूर एप बनेको हो ।
यो एपबाट फुड डेलिभरी बाहेक अन्य सामानहरू समेत अर्डर गर्ने मिल्न कम्पनीले जनाएको छ । एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट मजूर एप डाउनलोड गरी सजिलै खाना तथा खाजाको अर्डर दिन सक्नेछन् ।
त्यस्तै आईफोन प्रयोगकर्ताले यहाँ क्लिक गरी मजूरको वेबसाइटबाट सामानो अर्डर दिन सक्नेछन् । आईओएसका लागि समेत चाँडै एप आउने कम्पनीका सञ्चालक अविनाशले बताए । एपको सेवा क्रमशः देशव्यापी रूपमा विस्तार गर्दै लैजाने योजना समेत रहेको उनको भनाई छ ।
जीपीएस ट्र्याकिङबाट चल्ने यो एपमा आकर्षक र नयाँ फिचर राखिएका छन् । हाल एपमा बुटवल तथा भैरहवाका २० वटा होटेल रेस्टुरेन्ट जोडिएका छन् । अन्य २० वटा होटेल तथा रेस्टुरेन्ट थप हुने क्रममा रहेको अविनाशले जानकारी दिए ।
‘अहिले हामी बुटवल र भैरहवाबाट आसपासको १० किलोमिटरको क्षेत्रमा सेवा दिँदै छौं,’ उनले भने, ‘सेवा उपलब्ध नभएको स्थानमा भने हाम्रो एप प्रयोग गर्न मिल्दैन ।’
खाना सेलाउने सम्भावना हुने भएकाले १० किलोमिटर बाहिरका लागि भने डेलिभरीको अर्डर नलिइने कम्पनीको भनाई छ । अविनाशका अनुसार अबको तीन महिनाभित्र इटहरी, पोखरा, नारायणघाट र काठमाडौंमा मजूरको सेवा विस्तार गरिनेछ ।