काठमाडौं । नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदीप फुयालले फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी सेवा सुरु गरेका हुन् ।
यससँगै उक्त बजारमा जाने उपभोक्ताले खरिद गरेको तरकारी तथा फलफूलको रकम आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । नगद र डेबिट तथा क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ ।
छिटो र कारोबारमा कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् । डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नविल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको हो ।
नविल बैंकको उक्त पहलमा वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडले सहयोग गरेको छ । वर्ल्डलिङ्कले भुक्तानी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई जडान गरिदिएको छ ।