close

नास्टका वैज्ञानिकमाथि शोधपत्र चोरीको आरोप, जापानको क्युटेक विश्वविद्यालयको गम्भीर आपत्ति

गोपाल साउद गोपाल साउद

फागुन १२, २०७७ १९:३८

नास्टका वैज्ञानिकमाथि शोधपत्र चोरीको आरोप, जापानको क्युटेक विश्वविद्यालयको गम्भीर आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियिरङ अध्ययन संस्थानमा मेकानिकल इन्जिनियिरङमा विद्यावारिधी गर्दै गरेका विद्यार्थी तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राविधिक अधिकृत रोशन पाण्डेयमाथि अनैतिक रुपमा शोधपत्र चोरेको गम्भीर आरोप लागेको छ ।

जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) ले पाण्डेयले रिसर्च गेटमा अपलोड गरेको अनुसन्धानपत्रमाथि आपत्ति प्रकट गरेको हो ।

गत अक्टुबर १२ देखि १४ सम्म आयोजना भएको ७१ औं इन्टरनेसनल एस्ट्रोनोटिकल कंग्रेस (आईएसी) मा पाण्डेय र काठमाडौं विश्वविद्यालयका सुरेश भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए । ‘नेपाली स्याट-वान विगिनिङ अफ द स्पेस एरा इन नेपाल’ शीर्षकमा तयार पारिएको उक्त कार्यपत्रको विषयलाई लिएर क्युटेकले आपत्ति जनाएको नास्ट स्रोतले जनाएको छ ।  

क्युटेकले ५ जनवरी २०२१ मा नास्टको जवाफ पाएको बताउँदै पाण्डेयद्वारा आईएसीमा प्रस्तुत शोधपत्र फिर्ता लिनेतर्फ कुनै नतिजा नदेखिएको उल्लेख गरेको छ । ‘यसबाट अनलाइन रिसर्च प्लेटफर्म रिसर्च गेटमा अनैतिक रुपमा अपलोड गरेको पत्रको विषयमा उनमा कुनै किसिमको पश्चाताप देखिएन,’ क्युटेकले भनेको छ, ‘यस प्रकारको गतिविधि हामीलाई पूर्णतः अस्वीकार्य छ ।’

क्युटेकको लिन स्याटेलाइट इन्टरप्राइज एण्ड इन अर्बिट एक्सपेरिमेन्ट ल्याब्रेटोरीका निर्देशक प्रोफेसर डा मेंघु चाओले गत डिसेम्बरमा नास्टलाई पत्राचार गर्दै पाण्डेयको व्यवहारको विषयलाई लिएर पहिलो पटक चेतावनी दिएका थिए । उनले केही दिनअघि लेखेको अर्को पत्रमा आफूले नास्टबाट पाण्डेयमाथि अनुशासनको कारबाही हुने तथा कम्तिमा प्रस्तुत अनुसन्धानपत्र फिर्ता लिनेतर्फ कडा कदम चाल्ने अपेक्षा राखेको बताएका छन् । 

नास्टका उपकुलपति आफ्नो उक्त अडानमा त्यस बखत सहमत देखिएको समेत उनले खुलाएका छन् । तर नास्टले त्यसतर्फ कुनै कदम नचालेपछि आफू असन्तुष्ट बनेको डा चाओले प्रतिक्रिया दिएका छन् ।

‘अब आईएसी तथा सबै अनलाइन माध्यमबाट उक्त अनुसन्धानपत्र तत्काल फिर्ता लिन अनुरोध गर्नु बाहेक मसँग अरु विकल्प बाँकी छैन,’ उनले भनेका छन्, ‘यो काम अबको एक महिनाभित्र हुनेमा म विश्वस्त छु । अन्यथा क्युटेक आफैंले आईएसीसँग सम्पर्क गर्ने र सरोकारवाला सबैबीच यो गम्भीर विषयको रुपमा उठाइनेछ ।’

नास्टका उपकुलपति शुनिलबाबु श्रेष्ठले यो विषयमा आन्तरिक प्रक्रिया अगाडि बढेको बताए । तर आफूसम्म आइनपुगेको उनको भनाई थियो । यद्यपी उनले प्राप्त पत्र कार्यान्वयनका लागि सचिवलाई निर्देशन दिइसकेको बताइएको छ । 

२०७६ वैशाख ४ मा नेपाली स्याट-१ नामक भूउपग्रह प्रक्षेपण गरिएको थियो । जसलाई नास्टबाट छात्रवृत्तिमा जापानको क्युटेकमा अध्ययनका लागि गएका वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले तयार पारेका थिए ।

उक्त स्याटेलाइट अहिले पनि सञ्चालनकै क्रममा रहेको छ । क्युटेकको परियोजनाको अंशको रुपमा रहेको नेपाली स्याट-१ मा आफूलाई बाइपास गरी अनुसन्धानपत्र तयार पारेपछि उसले आपत्ति जनाएको बताइएको छ ।

यतिमात्र होइन, पाण्डेयले संयुक्त रुपमा आईएसीमा प्रस्तुत गरेको अनुसन्धान पत्र, तस्वीर र ग्राफ समेत आफ्नो साइटबाट कपी पेस्ट गरेपछि यो विषयले गम्भीर मोड लिएको परियोजनामा संलग्न स्रोतले बतायो ।  

‘क्युटेक अन्तर्गत अगाडि बढाइएको परियोजनामा नास्टले सहकार्य गरेको हो,’ उनले भने, ‘यस्तोमा कुनै अनुसन्धानपत्र तयार पार्दा एक अर्काको अनुमति लिनुपर्ने हुन्छ । तर नेपालको स्याटेलाइट भनेर अनुसन्धानपत्र लेखेरै अतिरञ्जना गरियो ।’

उक्त प्रोजेक्टमा नास्टको तर्फबाट फोकल प्वाइन्टको रुपमा ग्राउण्ड स्टेसन हेर्ने जिम्मा पाण्डेयले पाएका थिए । तर आभाष मास्के र हरिराम श्रेष्ठलाई समेत बेवास्ता गरी अनुसन्धानपत्र तयार पारेर प्रस्तुत गरेपछि उनीमाथि नैतिकताको प्रश्न उठेको हो ।

त्यसक्रममा पूर्णतः क्युटेकको स्वामित्वमा रहेको जानकारी समेत पाण्डेयले कपी गरेको आरोप लागेको छ । तर पाण्डेयले भने चर्चामा आएजस्तो गम्भीर विषय केही पनि नभएको दाबी गरे ।

‘अनुसन्धान प्रतिवेदनको रुपमा उक्त पेपर प्रस्तुत गरिएको पनि होइन,’ उनले भने, ‘भर्चुअल रुपमा आयोजित वर्कशपमा प्रस्तुति दिएका थियौं ।’ सुरुमा त्यसप्रति अनविज्ञता प्रकट गर्दै उनले आफूलाई उक्त विषयमा कुनै ईमेल समेत नआएको प्रतिक्रिया दिए ।

‘तैपनि पेपरको विषयमा यो भइराख्ने सामान्य विषय मात्रै हो,’ उनले भने, ‘पेपरमा आफ्नो नाम आएन भनेर कसैको चित्त नबुझेको हुनसक्छ ।’ अन्तरिक्ष विज्ञानमा सहकार्य गरिरहेको नास्टकै कर्मचारीको गतिविधिमाथि क्युटेकले गम्भीर प्रश्न उठाएपछि थप परियोजनामा सहकार्य गर्ने विषय समेत प्रभावित हुनसक्ने जोखिम बढेको चिन्ता व्यक्त हुन थालेको छ ।

‘नेपाल र जापानको विज्ञान कुटनीतिमा समेत यसले ठूलो दरार उत्पन्न गराउन सक्छ,’ नास्ट स्रोतले भन्यो । नेपाली स्याट-१ बाट प्राप्त उपलब्धिलाई समेटेर अनुसन्धान प्रतिवेदन तयार पारिएको र अब छिट्टै प्रकाशित गर्ने तयारी भइरहेको आभाष मास्केले जानकारी दिए ।

यस्तो छ क्युटेकले प्रश्न उठाएको पाण्डेयको अनुसन्धानपत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१