close

तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुहोस्, नत्र जेठदेखि बन्द होला

टेकपाना टेकपाना

फागुन २३, २०७७ १२:३१

तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुहोस्, नत्र जेठदेखि बन्द होला

काठमाडाैं । आउँदो जेठ महिनादेखि नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखि इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा नेपालभर सञ्चालनमा रहेका मोबाइल फोनको आईएमईआई दर्ता, सम्पूर्ण मोबाइल अपरेटरको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइस दर्तालगायत कार्य भइरहेकाे छ ।

योसँगै नेपालमा अवैध रूपमा भित्रिएका मोबाइल आउँदो जेठ महिनादेखि बन्द हुने प्राधिकरणले जनाएकाे छ । यसकारण मोबाइलको आईएमईआई दर्ता अनिवार्य भएकाे छ । हामी यहाँ तपाईंहरूका लागि मोबाइलको आईएमईआई नम्बर हेर्नेदेखि दर्ता गर्ने सम्मको प्रक्रियाकाे बारेमा बताउँदै छौं ।

यसरी पत्ता लगाउनुहाेस् आफ्नो मोबाइलको आईएमईआई नम्बर

आफ्नो मोबाइल दर्ता गर्नुअघि सुरुमा आईएमईआई नम्बर कति हो भन्ने कुराको जानकारी हुन आवश्यक छ । आधिकारिक रुपमा भित्रिएका मोबाइलको आईएमईआई नम्बर आयताकर्ता कम्पनीले सुरुमै दर्ता गरेर भित्र्याएका हुन्छन् ।

विदेशबाट उपहारको रुपमा आउने तथा व्यक्तिगत रुपमा किनेर ल्याइएका र अवैध रुपमा भित्रिएका मोबाइलकाे आईएमईआई नम्बर भने दर्ता भएको हुन्न । नेपालमै किनेका कतिपय मोबाइलको पनि आईएमईआई नम्बर दर्ता नभएको हुनसक्छ ।

अझ पुराना फोनको त आईएमईआई नम्बर दर्ता भएकै छैन । किनभने, प्राधिकरणले आईएमईआई दर्ता गर्न थालेको जम्मा साढे तीन वर्ष भएको छ । त्यसैले आफ्नो मोबाइलको आईएमईआई नम्बर पत्ता लगाएर दर्ता गर्नु नै बुद्धिमानी हुनेछ ।

त्यसका लागि मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा ‘*#06#’ डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ ।

यदि दुई वटा सिम लाग्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छन् । यदि दुईवटा छ भने प्राधिकरणमा दुवै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

आईएमईआई नम्बर दर्ता भए/नभएको कसरी थाहा पाउने ?

दर्ता गराउनुपर्ने वा नपर्ने भन्ने थाहा पाउनका लागि तपाईंको मोबाइलकाे आईएमईआई नम्बर प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाउन जरुरी छ । त्यसका लागि सुरुवमा यो लिंकमा क्लिक गर्नुहाेस् । यसमा ‘नो योर डिभाइस’ भन्ने अप्सन दिइएको छ ।

उक्त अप्सनमा गएर गएर तपाईंले आफ्नो मोबाइलको आईएमईआई नम्बर हाली दर्ता भए/नभएको थाहा पाउन सक्नुहन्छ ।

आईएमईआई नम्बर दर्ता गर्ने पक्रिया

यदि तपाईंको मोबाइलको आईएमईआई दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नका लागि यो लिंकमा गएर सुरुमा साइनअप गुर्नस् । साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुहाेस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुहाेस् ।

यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्नेछ । व्यवसायिक आयातकर्ताको हकमा भने, सुरुमा टाइप अप्रुभल आवश्यक पर्छ । टाइप अप्रुभल लिएपश्चात उनिहरुले ल्याउन लागेको डिभाइसको आईएमईआई नम्बर प्राधिकरणलाई उपलब्ध गराउनुपर्छ ।

आयातकर्ता कम्पनीले आफूले ल्याउन लागेका मोबाइल डिभाइसको आईएमईआई सामान आयात गर्नुपूर्व नै पाउँछन् ।

आयातकर्ताको हकमा प्राधिकरणले युजर आईडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोही युजर आईडी र पासवर्ड लिएर आयातकर्ताले यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइपअप्रुभल लिनेदेखि आईएमईआई नम्बर अपलोड गर्न सकिने सम्मको सुविधा दिइएको छ ।

आईएमईआई नम्बर अपलोड भएसँगै प्राधिकरणमा निवेदन दिन सकिन्छ । उक्त निवेदनको आधारमा आईएमईआई नम्बर मान्य छ वा छैन, सिस्टममार्फत जाँच हुन्छ । सबै कुरा मिले पश्चात मात्रै प्राधिकरणको स्टिममा आईएमईआई नम्बर दर्ता हुन्छ ।

यदि अनलाइन दर्ता प्रक्रियामा प्राविधिक समस्या वा थप जानकारी आवश्यक भए नेपाल दूरसञ्चार प्राधिकरणको सम्पर्क नम्बर ०१-४२५५४७४ मा फाेन गर्न सकिन्छ ।

(यसैबीच समाचारमा उल्लेख गरिएको लिंक https://eir.nta.gov.np/ अहिले सर्भर डाउनका कारण खुल्न नसकेकको र केही समयमै पुनः वेबसाइट सुचारु हुने जानकारी नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सं.)

याे पनि पढ्नुहाेस् :

के आईएमईआई नम्बरबाट मोबाइल ह्याक गर्न सम्भव छ ?

भन्सारबाट भित्रिएका करिब ५ लाख मोबाइलको भएन आईएमईआई दर्ता

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१