close

१० हजार फिटमाथि आकाशमा इन्टरनेट दिनेमा नेपाल दक्षिण एसियाको तेस्रो देश

टेकपाना टेकपाना

चैत १८, २०७७ १४:५८

१० हजार फिटमाथि आकाशमा इन्टरनेट दिनेमा नेपाल दक्षिण एसियाको तेस्रो देश

काठमाडौं । अब नेपाली आकाशमाथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने भएको छ । १० हजार फिटमाथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रुलाई इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने गरी प्राधिकरण बोर्डले हालै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

गत चैत ९ गेत बसेको प्राधिकरण बोर्डकाे बैठकले यो विषयमा निर्णय गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताएका छन् । पौडेलका अनुसार प्राधिकरण बोर्डले हवाई जहाजभित्र प्रयोग हुने ईन-फ्लाईट टेलिकम्युनिकेसन सर्भिसका लागि निवेदन दिने कम्पनीहरुलाई स्वीकृति पत्र दिने निर्णय गरेको छ ।

यदि कुनै कम्पनीले त्यसरी सेवा दिन इच्छुक रहेकाे निवेदन दिएमा नो अब्जेक्सन लेटर (एनओसी) उपलब्ध गराउने निर्णय भएकाे उनले बताए ।

योसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो देश भएको छ । हाल अफगानिस्तान र भारतमा पनि यस्तो सेवा सञ्चालनमा छ ।

यसअघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिएका थिए । तर, यो विषयमा आवश्यक कुनै नीति हुँदा स्वीकृती प्रदान गर्न सकिएको थिएन ।

प्राधिकरणका अनुसार ६ महिनाअघि थालस इंकले पहिलोपटक प्राधिकरणमा १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा इन्टरनेट चल्ने बनाउन स्वीकृति मागेको थियो ।

दूरसञ्चार सेवा प्रदान गर्ने भन्दै सो कम्पनीले निवेदन पेश गरेको थियो । प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने, ‘त्यसका लागि उनीहरुले विमानभित्रै पिको सेल अर्थात फोरजीको सानो बीटीएस राख्नेछन् ।’

बीटीएस स्याटेलाइटमार्फत कनेक्ट भएर विमानमा सेवा उपलब्ध हुने यस्तो सेवा, जुन देशको विमान हो, त्यही देशको दूरसञ्चार सेवा प्रदायकको हुनेछ ।

‘यो भनेको हाम्रो आकाशमाथि अन्य देशका सेवाप्रदायकको नेटवर्कले पनि काम गर्ने बनाउने हो,’ स्थापितले भने, ‘त्यसरी अन्य देशको आकाशमाथि अर्को देशको दूरसञ्चार सेवा उपलब्ध गराउन स्वीकृति लिनुपर्ने भएकाले उनीहरुले निवेदन दिएका हुन् ।’

थालसले स्वीकृति मागेको तीन महिनापछि सिता फर एयरक्राफ्ट भन्ने कम्पनी पनि सोही निवेदनका साथ प्राधिकरण आइपुग्यो । त्यस्तै अभान्ती नामक कम्पनीको पनि निवेदन प्राप्त भएको स्थापितले जानकारी दिए ।

यसरी एकपछि अर्को गर्दै विभिन्न कम्पनीबाट स्वीकृतीका लागि आवेदन आएपछि यो विषयमा अध्ययनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नागरिक उड्यन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिसहितको एक समिति गठन भएको थियो ।

उक्त समितिले १० हजार फिटमाथि अन्य देशको दूरसञ्चार सेवा उपलब्ध गराउन अनुमति दिँदा नेपालकाे दूरसञ्चारमा कुनै किसिमको असर नपर्ने निश्कर्ष निकालेको थियाे ।

त्यसैका आधारमा प्राधिकरण बोर्डमा पठाइएको थियो । भने, प्राधिकरणले बोर्डले त्यसमा छलफल गरी एनओसी प्रदान गर्ने निर्णय गरेको हो ।

योसँगै नेपालको १० हजार फिटमाथि आकाशमा उड्ने विमानमा यात्रा गर्ने यात्रुले इन्टरनेट र टेलिफोनको मज्जा लिन पाउने भएका छन् ।

प्रवक्ता पौडेलेका अनुसार प्राधिकरणले यसका लागि केही शर्त भने तोकेको छ । जसमा स्वीकृति लिन चाहने कम्पनीले विदेशमा वायु सेवा प्रदान गर्ने अनुमति पाएको हुनुपर्ने छ । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणबाट पनि सेवा सञ्चालनकाे अनुमति लिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३