close

नागरिक एपमा नागरिकता फेला नपरेको र विवरण नमिलेको गुनासो सम्बोधन सुरु

टेकपाना टेकपाना

बैशाख ९, २०७८ ८:३८

नागरिक एपमा नागरिकता फेला नपरेको र विवरण नमिलेको गुनासो सम्बोधन सुरु

काठमाडौं । सरकारले संभव भएसम्मका सबै सार्वजनिक सेवा दिने गरी बेटा भर्सनमा ल्याएको नागरिक एपमा नयाँ फिचर थप भएको छ । गृहमन्त्रालय र नागरिक एप डेभलपर टिमको सहकार्यमा नागरिकता फेला नपरेको र नागरिकताको विवरण नमिलेको गुनासो सुन्ने व्यवस्था मिलाइएको हो । 

नयाँ फिचर आएसँगै प्रयोगकर्ताले नागरिक एपमा खाता खोल्दा नागरिकता फेला नपरेको वा विवरण नमिलेको अवस्थामा गुनासो गर्न सक्नेछन् । नागरिकता फेला नपरेको वा त्रुटी भएको सन्देशसँगै त्यसलाई सच्याउनका लागि अनुरोध गर्न सकिने विकल्प समेत दिइएको छ ।  

यसका लागि तपाईंले रिक्वेस्ट वा अनुरोध गर्नुहोस् बटनमा थिचेर अगाडि बढ्नुपर्ने हुन्छ । नागरिकता फेला नपरेको अवस्थामा आफ्नो नागरिकताको दुवै तर्फको फोटो खिचेर अनुरोध गर्न सकिन्छ ।

तर एक जना व्यक्तिले एक पटकमा एउटा मात्रै  यस्तो अनुरोध गर्न सकिने बताइएको छ । यसरी गरेको अनुरोधको आधारमा गृहमन्त्रालय अन्तर्गत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले छुटेको वा फेला नपरेको नागरिकता विवरण मिलाउनेछन् । 

नागरिकले अनुरोध गरिसकेपछि गुनासो हेरिएको, प्रक्रिया सुरु भएको, अनुरोध अनुसार गुनासो सम्बोधन भएको र अन्तिममा अनुरोध बन्द गरिएको भन्दै हरेक चरणमा एसएमएसबाट अपडेट पाउन सक्ने व्यवस्था समेत मिलाइएको छ । गुनासो सम्बोधन भएको जानकारी प्राप्त भएसँगै सम्बन्धित व्यक्तिले नागरिक एपमा सहजै खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै नयाँ फिचरमा नागरिकतामा रहेका त्रुटी सच्याउन सकिने सुविधा समेत रहेको छ । यसका लागि नागरिक एपमा रहेको नागरिकतामा दबाउनुहोस् ।

अन्तिममा रहेको ‘रिक्वेस्ट फर करेक्सन’ अथवा ‘त्रुटी सच्याउने अनुरोध’ मा गएर   नागरिकताको अगाडि र पछाडि दुवै तर्फको फोटो खिचेर अपलोड गर्नुहोस् । त्यसपछि जारी गर्ने निकाय र सच्याउनुपर्ने विषय उल्लेख गरी अगाडि बढ्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१