close

नेपालमै पहिलो पटक एनआईसीले ल्यायो ‘क्विक पे’ सेवा, अब लिंकबाटै भुक्तानी

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १२:४२

नेपालमै पहिलो पटक एनआईसीले ल्यायो ‘क्विक पे’ सेवा, अब लिंकबाटै भुक्तानी

काठमाडाैं । एनआईसी एसिया बैंकले साना तथा मझौला व्यवसायीका लागि एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने गरी ‘क्विक पे’ सेवा सुरु गरेको छ । याेसँगै यस्तो खालको सेवा सुरु गर्ने एनआइसी एसिया बैंक नेपालको बैंकिङ क्षेत्रमै पहिलो भएको छ ।

हस्पिटालिटी, ट्राभल/टुर्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, साना तथा मझौला व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई लक्षित गर्दै बैंकले यो सेवा सुरु गरेको हो । यसमार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकबाट ‘क्विक पे’ सेवा लिन व्यवसायीहरूले बैंकमा पुगी सम्झौता गरेपश्चात् बैंकले भुक्तानी लिने लिंक आफ्ना उपभोक्तालाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउने बैंकले जनाएको छ । उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टले ईमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्तालाई पठाउन सक्नेछन् ।

उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्नसक्ने बताइएकाे छ ।

अनलाइन भुक्तानी सेवामा आबद्ध नभएका ई-कमर्श कम्पनीले ‘क्विक पे’ को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाइन व्यवसाय गरिरहेका व्यवसायीले समेत यस माध्यमबाट भुक्तानी लिई सक्नेछन् ।

क्विक पे सेवाले अनलाइन र अफलाइन भुक्तानीको बीच गतिशिल पुलको रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पुर्‍याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

हाल यस बैंकमार्फत कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्स एनआईसी एसिया मो-बैंक तथा अन्य अनलाइन भुक्तानीका माध्यमबाट डिजिटल कारोबारको सेवा उपलब्ध गराउँदै आएको छ ।

हाल देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार सहज हुने भएकाले बैंकले ‘क्विक पे’ सेवा सुरु गरेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१