काठमाडौं । कोर्ट कचहरी तथा कानूनी मामिला वास्तवमा जाेकाेहीका लागि ठूलो झमेला हो । मुद्दा दर्ता गर्न, पेशी लिन, तारिख धाउन, दस्तावेज जुटाउन यी सम्पूर्ण प्रक्रियामा धेरै समय र खर्चको नास हुन्छ ।
फेरि यी सबै प्रक्रियामा व्यक्तिको उपस्थिति अनिवार्य हुन्छ । यस्तै झमेला र जटिल प्रक्रियाका कारण मानिसहरु भुलेर पनि मुद्दा मामिलामा फँसी कोर्ट कचहरीको चक्कर काट्न चाहँदैनन् ।
एउटा व्यक्तिका लागि एउटा मुद्दा यति ठूलो टाउको दुःखाईको विषय बन्छ भने सोच्नुहोस् त यस्ता कयौं मुद्दासँग दैनिक डिल गर्नुपर्ने वकिल, ल फर्म तथा अदालतको लागि झन् यो कति ठूलो झमेला होला ।
कानूनी क्षेत्रको यस्तै किसिमको प्रक्रिया र प्रणालीगत झमेलालाई सटिक र सजिलो बनाउन पछिल्लो दुई दशकमा लिगल टेक्नोलोजीको अवधारणाले विश्व बजारमा जन्म लियो ।
यही अवधारणालाई पछ्याउँदै सन् २०१२ मा दुई नेपाली युवा आलोक सुवेदी र सन्तोष गिरीले मिलेर अमेरिकाको सिलिकन भ्यालीमा सिलिकन हायर नामको कम्पनीको अमेरिकामा एलएलसी दर्ता गरेँ । त्यस समय कम्पनीले ‘लिगल प्रोसेस आउटसोर्सिङ’ का काम गर्दथ्यो । २०१५ मा यी दुईसँग सन्जय सिंह पनि जोडिन आइपुगे ।
लिगल टेक्नोलोजीमा आधारित कम्पनीहरुले विशेषगरी कानूनी प्रक्रिया, मूद्दा दर्तादेखि डिस्प्याच हुँदासम्मको प्रक्रिया तथा कामकारावाहीको म्यानुअल विधिलाई विस्थापित गरी स्वचालित बनाइदिने काम गर्दछ ।
‘कम्पनी स्थापनाको प्रारम्भिक दिनमा हामी लिगल प्रोसेस आउटसोर्सिङका कामहरु गर्थ्यौं’ कम्पनी संस्थापकमध्येका एक आलोक सुवेदी भन्छन्, ‘काम गर्दै जाँदा लिगल काममा भएका कमजोरीहरु देख्दै जान थाल्यौं । धेरैजसो काम र प्रक्रियाचाहिँ एकदमै लामो र म्यानुअल भएको पायौं । यसैले त्यसलाई कसरी अटोमेट गर्न सकिन्छ भनेर हेर्दै जाने क्रममा एउटा प्रडक्ट बनायौं ।’
सिलिकन हायरले बनाएको त्यो प्रडक्ट अमेरिकाको पीटीओ थियो, जुन प्रोडक्ट ट्रेडमार्क सो सरह हो । उक्त प्रडक्टले अमेरिकाको लिगल प्राविधिक क्षेत्रमा राम्रै पहिचान बनाएपछि टिमलाई थप हौसला र काम गर्ने प्रेरणा मिल्न थाल्यो ।
सन्तोष गिरी नेपालमा पेशाले अधिवक्ता थिए । कर्पोरेट इमिग्रेसनमा उनको विज्ञता थियो । अमेरिकामा बसी उनी सोही काम गर्दै थिए । सञ्जय सिंह र आलोक सुवेदीको भने क्रमश: प्राविधिक र बिजेनसको पृष्ठभूमि थियो । सन्तोषकै मेन्टरसिमा सञ्जय र आलोकले पनि कानून र प्रविधि सिक्दै एकअर्कोलाई सिद्धहस्त बनाउँदै अगाडि बढ्न थाले ।
अमेरिकाको लिगल टेक्नोलोजी फिल्डमा सिलिकन हायरले आफ्नो पृथक पहिचान निर्माण गरिसकेको थियो । तब यस्तो प्रविधि नेपालमा पनि प्रयोग गरौं भन्ने टिमलाई लाग्यो । सिलिकन हायर कम्पनी नेपालमा २०१४ मै दर्ता भएको थियो ।
त्यसमाथि सह-संस्थापक सन्तोष गिरीको पनि नेपालमा लिगल प्रविधिलाई लिएर आफ्नै अनुभव थियो । सन् २००१ तिर उनले स्मार्ट ल भनेर नेपालको पहिलो केस म्यानेजमेन्ट सिस्टम निर्माण गरेका थिए ।
तर त्यो निकै पुरानो शैलीको थियो । सीडीमा ल फर्म व्यवस्थापनको काम हुन्थ्यो । अहिले जस्तो अत्याधुनिक थिएन ।
२०१७ को अन्त्यतिर आलोक नेपाल आएर लिगल प्रविधिको सम्भाव्यता र बजारको अवस्थामाथि अनुसन्धान गर्न थाले । तब नेपालमा लिगल टेक्नोलोजीको काम शुन्यवस्थामै जस्तो थियो । कम्पनी सोही वर्षदेखि औपचारिकरुपमा सुरु भयो ।
२०१९ सेप्टेम्बरमा आइपुग्दा कम्पनीले आफ्नो पहिलो प्रडक्ट मेरो अड्डा पनि सार्वजनिक गर्यो ।
तपाईं हामीमध्ये कतिपयले निःशुल्क कानूनी परामर्श तथा प्रश्नोत्तर (क्यू एण्ड ए) का लागि प्रयोग गर्दै आइरहेको मेरो अड्डा एप पनि सिलिकन हायर कम्पनीकै प्रडक्ट हो ।
आजको समयमा सिलिकन हायर कम्पनीले नेपालमा चारवटा मोड्युलमा काम गरिरहेको छ जसमध्ये उसका दुईवटा मोड्युल प्रोग्राम भने सक्रियरुपमा सञ्चालित छन् ।
पहिलो लिगल प्रोसेस आउटसोर्सिङको काम हो, जसअन्तर्गत विदेशी तथा स्वदेशी ल फर्म, कम्पनीहरुले आफ्नो लिगल प्रोसेसका कामहरु आफूहरुलाई सुम्पने गरेको आलोक बताउँछन् । अमेरिकाको लागि सिलिकन हायर एउटा मात्र लिगल आउटसोर्सिङ कम्पनी भएको उनले दाबी गरे ।
यस मोड्युल अर्न्तगत नेपालकै कानूनी पेशाकर्महरुलाई समेत आफूहरुले सेवा दिने गरेको आलोक बताउँछन् ।
‘नेपालकै प्रोफेसनल सर्भिसको लागि पनि हामी यो मोड्युलमा काम गर्छौं । यसअन्तर्गत कम्पनी रजिस्ट्रेसन, आईआरडी, ट्रेडमार्क प्याटेन्टका कामबाहेक कर्पोरेटलाई दिने जति पनि प्रोफेसनल सेवाहरु हुन्छन्, कन्ट्रयाक्ट ड्राफ्टिङ, अग्रिमेन्ट सबै कामहरु हामी अटोमेसन सिस्टमबाट गरिदिन्छौं,’ आलोकले भने ।
यस्तै कमपनीको अर्को स्मार्ट ल मोड्युल पनि छ, जसमा दुई फेसिङ एउटा सामान्य सर्वसाधारणका लागि पब्लिक फेसिङ र अर्को ल फर्म तथा लयर्सहरुको फेसिङ छन् ।
सामान्य सर्वसाधारण फेसिङ भनेकै ‘मेरो अड्डा’ हो । यसमा साधारण नागरिक आएर आफ्नो प्रश्नहरु नि:शुल्क राख्न सक्छन् । साथै कानूनी ज्ञाता तथा वकिलहरुले आएर आफ्नो सबै कागजातहरु प्रमाणीकरण गरी साइअप गर्न सक्छन् ।
यसरी प्रमाणीकरण भएका अधिवक्ताहरुले नागरिकको प्रश्नको उत्तर तथा परामर्श दिन सक्छन् । नागरिकलाई आफ्नो पहिचान नखुलाई पनि ‘मेरो अड्डा’ बाट न्यायमाथि नि:शुल्क पहुँच बनाउन सक्ने सुविधा आफूहरुले दिइरहेको आलोकले टेकपानालाई बताए ।
ल फर्म तथा लयर्सहरुको फेसिङमा भने पूर्णरुपमा काम भइसकेको छैन । यसका लागि हाल कम्पनीले ब्याकइण्डमा काम गरिरहेको छ ।
नेपालमा ल फर्म तथा वकिलहरुले काम गर्ने विधि अझै परम्परागत र सबै काम म्यानुअल्ली नै भइरहेको आलोक बताउँछन् । परम्परागत तरिकाले पेपर फाइलिङ गर्नेदेखि सबै काम म्यानुअल नै गर्ने हुँदा केस म्यानेजमेन्ट सिस्टम तथा अन्य टुलहरुको प्याकेज हाल कम्पनीले ल फर्म फेसिङ मोड्युलका लागि निर्माण गरिरहेको उनले बताए ।
‘अहिले स्मार्ट ल २.० भनेर ल फर्महरुका लागि बनाइरहेका छौं । पहिलो चाहिँ ‘मेरो अड्डा’ नै हो, जुन बाहिर मानिसहरुले देखिरहेका छन् ।’
यसबाहेक कम्पनीले पब्लिक फेसिङमा अन्य धेरै फिचर थप गरिरहेको आलोकले जानकारी दिए । यसमा मान्छेहरुलाई चाहिने साधारण किसिमका रेन्टल अग्रिमेन्टहरु, सानो तिनो निवदेन ड्राफ्ट आदि हुने उनले बताए ।
यी सबै कुरालाई कम्पनीले अटोमेट गरिदिनेछ । ‘मेरो अड्डा’ को वेबसाइटमा जाँदा निवेदन तथा अग्रिमेन्टका ड्राफ्टहरु हुनेछन्, जहाँ एक/दुईवटा व्यक्तिगत जानकारीहरु राख्नेबित्तिकै अग्रिमेन्ट तथा निवेदनको कपी तयार भएर प्रिन्ट गर्न सकिन्छ ।
यति धेरै मुद्दा, मामिला र दस्तावेज अनि नीतिगत प्रक्रियाहरुसँग म्यानुअल्ली काम गर्नुपर्ने हुँदा कानूनी काम कारावाहीमा एकदमै समय र पैसा खर्च हुन्छ ।
यसैले कम्पनीको मुख्य उद्देश्य लिगल काम कारबाहीलाई प्रविधिबाट ड्रिभन गरी ‘एक्सेस टु ल एण्ड जस्टिस’ लाई देशभर पुर्याउनु रहेकोउनीहरू बताउँछन् ।
‘अहिले जति पनि काम भइरहेको छ, त्यो सबै म्यानुअल्ली भइरहेको हुँदा सबै ठाउँमा सबैले न्यायमा पहुँच पाएका छैनन् । हामी म्यानुअल्लीलाई अटोमेट गरेर काम गर्न चाहन्छौं र कानून र न्यायलाई सबैतिर पुर्याउन चाहान्छौं । यो उपत्यका केन्द्रित होइन नेपालभरीका लागि बनाइएको योजना हो,’ आलोक भन्छन् ।
‘मान्छेले घरमै बसेर विद्युतीय हस्ताक्षर गर्न सक्छन् । नेपालमा कागजको फाइल एकातिर र क्लाइन्टको जानकारी अर्कोतिर हुन्छ । सबै कुरालाई एकै ठाउँमा ल्याउन सकिन्छ । केस ड्राफ्टिङ पनि त्यही सफ्टवेयरभित्र गर्न सकिन्छ ।
त्यसबाहेक क्लाइन्टसँग सञ्चार पनि त्यहीँबाट हुन सक्छ । अदालतका तारिख र पेशी थाहा पाउन सकिन्छ । क्लाइन्टलाई पठाउन नोटिफिकेसन, बिलिङ अग्रिमेन्ट सबै यहीँबाट हुन सक्छन्,’ उनले भने ।
सब्सक्रिप्सन मोडलमा लिन सकिने यो लिगल टेक सेवा हालको बजार मूल्यभन्दा सस्तो र सुलभ मूल्यमा आफूहरुले उपलब्ध गाराउने उनले बताए ।
विदेशतिर लिगल प्रविधि प्रयोगको अभ्यास दिनानुदिन बढ्दै गइरहेको उनीहरुको अनुभव छ । आजको समयमा अमेरिका, यूरोप, अष्ट्रेलियामा यसको प्रयोग एकदमै राम्रो छ ।
यी मुलुकहरुमा लिगल फर्महरुले यस्ता अटोमेसन टुल एकदमै धेरै प्रयोग गर्छन् । तर नेपाल जस्ता मुलुकहरुका लागि यो एकदमै नविन अवधारणा भएको उनले बताए ।
लिगल प्रविधि भन्नाले अटोमेसन मात्र बुझ्दा सीमित बुझाई हुने आलोक बताउँछन् ।
‘आजको समयमा ब्लकचेनको माध्यमबाट कन्ट्रयाक्टहरुको मनिटरिङ गर्ने, कन्ट्रयाक्ट बनाउने, स्टोरेज, सुरक्षाका धेरै कुराहरु छन् । एआई नै प्रयोग गरेर कुनै पनि केसको प्रिडिक्सन गर्ने जस्ता समेत सफटवेयर बनिसकेका छन् ।
समग्र विश्वभरको प्रविधिको सिङ्गो बजारमा हेर्ने हो भने लिगल टेक्नोलोजीको एकदमै सानो हिस्सा छ । यो नवीन अवधारणा हो । पछिल्लो दुई दशकभित्र आएको अवधारणा हो । २००० देखि २०१० सम्म धेरै विकास भएको थिएन । तर २०१० देखिको विकास भने तीव्र गतिमा भइरहेको छ ।’
यसबाहेक लिगल टेक्नोलोजीले समय बचाउन मद्दत गरी एउटा लयरलाई दिनमा धेरैवटा क्लाइन्ट भेट्ने समय दिन्छ । जसले गर्दा धेरै मान्छेहरुको एक्सेस ल र जस्टिसमा हुन्छ । यसले खाली कामको इफिसियन्सीमा मात्र होइन। एक्योरेसीलाई बढाउन पनि मद्दत गर्न उनको भनाइ छ ।
हालसम्म नेपालमा व्यक्तिगत लयर तथा ल फर्महरुका लागि मात्र सिलिकन हायरले सिस्टम तथा सेवाहरु निर्माण गरेको छ । अदालतहरुको काम काराबाही अलिक जटिल हुने भएको कारण त्यतातिर अहिले नगइसकेको आलोकले बताए । तर अदालतले माग गरेको अवस्थामा त्यो पनि गर्न सक्ने उनी बताउँछन् ।
‘दुई/चारपटक उहाँहरुसमक्ष जान खोज्दा केही बुझ्नु नै भएन । सबैभन्दा पहिले त हामीले लिगल टेक्नोलोजीको बारेमा साक्षरता बढाउनुपर्छ । तब मात्र यसको उपयोगिता देखाउन सकिन्छ,’ उनले भने ।
तर पछिल्लो पुस्ताका कानूनकर्मीहरू प्रविधिसँग चिरपरिचित र ‘टेक स्याभ्भी’ भएका कारण आगामी दिनमा आफूहरुले ल्याएको अवधारणाले काम गर्ने कुरामा उनी आशावादी छन् ।
‘अहिले हामी परीक्षणकै चरणमा छौं । अझै पनि सबैतिर पुरानै पुस्ताको भीड छ । काम गरेर परिणाम देखाउन अझै समय लाग्छ,’ आलोकले भने ।