close

फाइबर चुडिँदा प्रदेश २ का विभिन्न स्थानमा इन्टरनेटको समस्या

टेकपाना टेकपाना

जेठ २, २०७८ १०:११

फाइबर चुडिँदा प्रदेश २ का विभिन्न स्थानमा इन्टरनेटको समस्या

काठमाडौं । पछिल्लो समय प्रदेश दुईका विभिन्न स्थानमा एफटीटीएच इन्टरनेटमा समस्या देखिन थालेको छ । सडक खन्ने क्रममा पोलहरु सारिँदा र सडक खन्ने क्रममा अप्टिकल फाइबर चुडिँदा हप्दा दिनसम्म इन्टरनेट सेवा अवरुद्ध हुने समस्या देखिन थालेको हो । 

शनिबार टेकपाना मिडियाले आयोजना गरेको दूरसञ्चार नीतिगत बहस कार्यक्रममा बोल्दै सुबिसुका प्राविधिक प्रमुख रामकृष्ण परियाले नियमित पोल सिफ्टिङका कारण लगाता रुपमा यस किसिमको समस्या आइरहेको बताए ।

ग्रामीण दूरसञ्चार विकास कोषको अनुदानमा सुबिसुले २ नम्बर प्रदेशका हरेक वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा एफटीटीएच इन्टरनेट विस्तार गरेको छ । प्रदेशमा देखिएको यस किसिमकव समस्याको विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा समेत जानकारी गराइसकिएको परियारले बताए । 

त्यस्तै कार्यक्रममा बोल्दै अर्का वक्ता नेपाल टेलकमका निर्देशक अनन्तमान सिँहले समेत खासगरी हाईवे क्षेत्रमा यस किसिमको समस्या देखिएको बताए ।

‘हामीले दूरसञ्चार प्राधिकरणसँगको समन्यव तथा राइट अफ वे अनुसार सडक छेउछाउमा अप्टिकल फाइबर बिच्छ्याएका हुन्छौं,’ उनले भने, ‘तर सडक खन्ने क्रममा फाइबर काटिने समस्या लगातार रुपमा व्यहोरीरहेका छौं । यसले गर्दा सेवाको गुणस्तर कायम गर्न चुनौती थपिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४