close

डक्टरसँग घरबाटै निःशुल्क भिडिओ परामर्श लिन मिल्ने गज्जबको एप

टेकपाना टेकपाना

जेठ ८, २०७८ १२:३४

डक्टरसँग घरबाटै निःशुल्क भिडिओ परामर्श लिन मिल्ने गज्जबको एप

काठमाडौं । निषेधाज्ञाको समयमा मानिसहरु घरमै सुरक्षित रुपमा बस्नुपर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा अस्पताल र क्लिनिकमा जाँदा थप अर्को रोग बोकेर आइएला कि भन्ने चिन्ता छ ।

तर नियमित बिरामीलाई सो रोगसँग सम्बन्धित चिकित्सक वा विशेषज्ञसँग परामर्श लिन जरुरी हुन्छ । दीर्घ रोगी, गर्भवति र बालबच्चाका लागि त स्वास्थ्य चिकित्सकसँग बारम्बार परामर्शमा जोडिनुपर्ने हुन्छ ।

यस्तो अवस्थामा धेरै मानिसहरु अस्पताल कसरी जाने, डक्टरसँग कसरी परामर्श लिने भन्ने दुविधामा हुन सक्छन् । यसका लागि सरल उपाय लिएर चाँडै नै औपचारिक रूपमा मेरो डक्टर आउने भएकाे छ ।

परीक्षणका क्रममा रहेकाे याे अनलाइन सेवाबाट तपाईंले घरमै बसी आफूले चाहेको डक्टरसँग समय लिने, भिडिओबाटै आफ्ना समस्या सुनाउन र समाधान खोज्न सकिने लगायतकाे सुविधा रहने जनाइएकाे छ ।

मिदास टेक्नाेलाेजीले विकास गरेकाे मेराे डक्टरकाे सेवा मोबाइल एप वा वेबसाइट दुवैबाट लिन सकिन्छ । मेराे डक्टरमा देशभरका सयौं विशेषज्ञ चिकित्सकहरू इन्टरनेटमार्फत भिडिओ परामर्श गरेर बिरामीहरुको स्वास्थ्य जाँच गर्न उपलब्ध गराइने बताइएकाे छ ।

तपाईं कुन रोगसँग सम्बन्धित विशेषज्ञ चाहनुहुन्छ, यो एपमा सजिलै खोज्न सक्नुहुन्छ र डक्टरसँग निःशुल्क भिडिओ परामर्शका लागि समय लिन सक्नुहुन्छ । आपतकालीन अवस्थामा डाक्टरसँग तुरुन्त भिडिओ परामर्श गरी स्वास्थ जाँच गर्नसमेत सकिन्छ ।

त्यस्तै आफूले चाहेको अस्पतालमा गई उपचार गराउन लिनुपर्ने अप्पोइन्मेन्ट बुक गर्न सकिनुका साथै आफ्नो डाक्टरसँग भिडिओ परामर्श गरेर फलोअप स्वास्थ जाँच गर्न सकिन्छ ।

एपबाटै ल्याब रिपोर्ट र औषधि प्रयोग गर्ने विवरण सजिलै प्राप्त गर्न सकिन्छ । केही दिनमै औपचारिक रूपमा यो सेवा सार्वजनिक हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१