close

गुगल फोटोजको निःशुल्क स्टोरेज बन्द हुँदै, के हुन सक्छ अरु विकल्प ?

टेकपाना टेकपाना

जेठ ९, २०७८ १२:३

गुगल फोटोजको निःशुल्क स्टोरेज बन्द हुँदै, के हुन सक्छ अरु विकल्प ?

काठमाडौं । गुगल फोटोजको अनलिमिटेड स्टोरेज सुविधाले प्रयोगकर्तालाई हाइसन्चो थियो । मोबाइलबाट जति फोटो खिचे पनि त्यसलाई राख्नको लागि कुनै समस्या थिएन ।

गुगल फोटोजमा राखिएको फोटो क्लाउडमा स्टोर हुने भएकाले मोबाइल फेर्दा पनि वर्षौ अघिको फोटो पनि हामीसँगै रहन्छ । तर, गुगल फोटोजले अनलिमिटेड स्टोरेज सेवा बन्द गर्दै अब १५ जिबीसम्म मात्रै फोटो स्टोरेजको सुविधा दिने घोषणा गरेको छ । यो जुन १ गतेदेखि लागू हुनेछ ।

अब गुगल फोटोजमा १५ जिबी फोटो मात्रै राख्ने सुविधा भएपछि यहाँ भएका यत्रो फोटो के गर्ने त ? गुगल फोटोजमा स्टोर गरिएका फोटोहरु डाउनलोड गरेर राख्ने सुविधा पनि छ । तर, कम्युटरमा डाउनलोड गरेर राखिएको फोटो सधैं आफूसँग नरहन सक्छ ।

धेरै प्रयोगकर्ताको लागि फोटो स्टोर गर्ने सुविधा दिने क्लाउडमा आधारित सेवा नै उत्तम विकल्प बन्न सक्छ । यहाँ कम मूल्यमा फोटो स्टोरेजको सुविधा दिने केही प्लेटफर्महरु उल्लेख छः

गुगल फोटोजः

गुगल फोटोजले १५ जिबीसम्म फोटो स्टोर निःशुल्क गर्न सकिने सुविधा दिएको छ । तर त्यो भन्दा बढी फोटोहरु स्टोर गर्नको लागि गुगल वानको सेवा खरिद गर्न सकिन्छ ।

गुगल वानमा एक सय जिबीसम्म साइजका तस्वीरहरु स्टोर गर्नको लागि करिब २ डलर र वार्षिक करिब २० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यस्तै, २ सय जिबीसम्म तस्विर स्टोर गर्नको लागि मासिक ३ डलर वा वार्षिक ३० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

तर, गुगलले निर्माण गरेको पिक्सेल फोन प्रयोगकर्ताले भने अझैं पनि जति पनि फोटोहरु गुगल फोटोजमा निःशुल्क राख्न सक्छन् ।

आइक्लाउड फोटोज

आइक्लाउड फोटोज पनि गुगल फोटोज जस्तै छ । एप्पलको प्रयोगकर्ताको लागि आइक्लाउड फोटोज नयाँ होइन । आइक्लाउड फोटोजले प्रयोगकर्तालाई ५ जिबीसम्म तस्विर र भिडियो निःशुल्क स्टोर गर्ने सुविधा दिन्छ ।

त्यसपछि भने ५० जिबीसम्म फोटो स्टोरको लागि प्रयोगकर्ताले मासिक करिब १ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ भने २ सय जिबीसम्म फोटो र भिडियो स्टोर गर्नको लागि करिब ३ अमेरिकी डलर मासिक तिर्नुपर्ने हुन्छ ।

फ्लिकर

फोटो र भिडियो स्टोरेजको सुविधा दिने फ्लिकर अर्को प्लेटफर्म हो । यसमा पनि सुरुमा केही तस्विर र भिडियो निःशुल्क राख्न सकिन्छ ।

फ्लिकरले १ हजारसम्म तस्विरहरु निःशुल्क राख्ने सुविधा दिएको छ । यसरी निःशुल्क दिइएको सुविधामा भने एउटा फोटोको फाइल साइज २ सय एमबी र भिडियोको साइज १ जिबी भन्दा बढी हुनु हुन्न ।

तर, त्यसपछिको अनलिमिटेड स्टोरेज सुविधाको लागि भने फ्लिकरमा मासिक ७ अमेकिी डलर वा वार्षिक ६० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । फ्लिकरको अर्को फाइदा के भने यसमा स्टोर गरिएका कुनै तस्विर ट्रेण्डिङमा परेमा तपाईंले बेला बेला केही छुटहरु समेत पाउनु हुन्छ ।

स्मगमग

स्मगमग विशेषगत व्यवसायिक फोटोग्राफरको लागि काम लाग्ने प्लेटफर्म हो । यसमा फोटो र भिडियो स्टोरेज सुविधा सहित आफैंले स्वरुप परिवर्तन गर्न मिल्ने खालको वेबसाइट पनि उपलब्ध हुन्छ ।

विशेषगरी व्यवसायिक फोटोग्राफरले आफ्नो तस्विर स्टोरेज गर्न र बिक्रीको लागि राख्न यो प्लेटफर्म उपयुक्त हुन्छ । स्मगमगमा वार्षिक ५५ डलर वा मासिक ७ अमेरिकी डलर तिरेमा अनलिमिटेड फोटो राख्ने सुविधा र वेबसाइट पाउन सकिन्छ ।

५००पीएक्स

५००पीएक्स पनि व्यवसायिक फोटोग्राफरलाई लक्षित गरी तयार पारिएको प्लेटफर्म हो । यसले फोटोग्राफरलाई आफूले खिचेको फोटोको कपीराइट सुरक्षित राख्न र फोटो बिक्रीको लागि पनि सहयोग गर्छ ।

यसको अनलिमिटेड फोटो राख्ने सुविधा भएको बेसिक प्लानको वार्षिक करिब ६० अमेरिकी डलर वा मासिक ५ अमेरिकी डलर पर्छ । जसमा फोटोग्राफरलाई विभिन्न सेवाहरु पनि थप हुन्छ ।

फोटोबकेट

फोटोबकेटले केही फोटोहरु निःशुल्क स्टोर गर्ने सुविधा दिन्छ । यसमा प्रयोगकर्ताले बढीमा २ सय ५० वटा फोटो निःशुल्क अपलोड गर्न पाउँछन् ।

तर, त्यो भन्दा बढी फोटो अपलोड गर्नको लागि भने यसमा २५ जिबीसम्म फोटो स्टोरेजको लागि मासिक ६ अमेरिकी डलर वा वार्षिक ६५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । अन्य प्लेटफर्मको तुलनामा यसको शुल्क केही महंगो छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१