close

स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले अब कनेक्ट आईपीएसबाट रकम प्राप्त गर्न सक्ने

टेकपाना टेकपाना

जेठ ९, २०७८ १९:९

स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले अब कनेक्ट आईपीएसबाट रकम प्राप्त गर्न सक्ने

काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस, नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ ।

यसअन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रेहेको खाताबाट कनेक्ट आईपीएसमार्फत् स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रहेको खातामा अनलाइन फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।

बैंक र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ । एससीबीएनएल र एनसीएचएल बीच यस सहकार्यले ग्राहकहरूलाई अन्लाईन भुक्तानीमा थप सहयोग पुग्ने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ ।

प्रारम्भिक चरणको कार्यान्वयनमा, कुनै पनि कनेक्ट आईपीएसको सदस्य बैंक र वित्तीय संस्थाका ग्राहकहरूले (यसको वेब वा मोबाइल एप्स् वा एनपीआई वा बैंक र वित्तीय संस्थाका मोबाइल एप्स/इन्टरनेट बैंकिङ्गबाट) स्ट्यान्डर्ड चार्टर्डमा रहेको कुनै पनि खातामा सिधै रकमान्तर गर्न सक्नेछन् ।

यसले एससीबीएनएलका ग्राहकहरूलाई कनेक्ट आईपीएसमार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्नेछन् र बैंकले व्यावसायिक ग्राहकहरूलाई भुक्तानी संकलन गर्न यस प्रणालीमा आव‍द्ध गर्न सहज हुनेछ ।

दोस्रो चरणमा एनपीआईका सेवाहरूलाई एससीबीएनएलका S2B र मोबाइल बैंकिङ्ग लगायतका च्यानलहरूमा विस्तार गरिने छ, जस अन्तर्गत एससीबीएनएलका ग्राहकहरूले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तरण गर्न सक्नेछन् ।

त्यसैगरी अन्तिम चरणमा, एससीबीएनएलले आफ्ना ग्राहकहरूलाई कनेक्ट आईपीएसमा आफ्नो बैंक खाता लिङ्क गराई भुक्तानीहरू सिधै कनेक्ट आईपीएस प्लेटफर्मबाट प्रयोग गर्न सकिने अन्य सेवा पनि उपलब्ध गराउनेछ ।

कनेक्ट आईपीएस र एनपीआई एनसीएचएलले नेपालमा रियल टाइम भुक्तानी प्रणालीको एक प्लेटफर्मको रूपमा प्रदान गरेको छ, जुन हाल ५३ भन्दा बढी बैंक र वित्तीय संस्थाहरूले कनेक्ट आईपीएसको आफ्नो च्यानल (मोबाइल एप, कनेक्ट आईपीएस डटकम र पेमेन्ट गेटवे) र बैंकका आफ्ना च्यानलहरूमा (मोबाइल/ इन्टरनेट बैंकिङ्ग) फण्ड ट्रान्स्फर र अन्य सेवा भुक्तानीको लागि प्रयोग गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१