close

बजेटले इन्टरनेट सेवालाई लोप्पा देखाएजस्तो भयोः अध्यक्ष पराजुली

टेकपाना टेकपाना

जेठ १५, २०७८ १९:१२

बजेटले इन्टरनेट सेवालाई लोप्पा देखाएजस्तो भयोः अध्यक्ष पराजुली

काठमाडौं । इन्टरनेट सेवाप्रदायकका लागि सरकारले ल्याएको बजेट लोप्पा ख्वाए जस्तो भएको आइस्पानका अध्यक्ष सुधीर पराजुलीले प्रतिक्रिया दिएका छन् । बजेट मन्तव्य सकिएलगत्तै टेकपानासँग संक्षिप्त कुराकानी गर्दै उनले इन्टरनेट सेवाप्रदायकका लागि बजेट सोचे अनुरुप नरहेको बताए । 

‘हामीले इन्टरनेट सेवामा लाग्दै आएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) हट्ने आश्वासन पाएका थियौं,’ उनले भने, ‘तर बजेट मन्तव्यका क्रममा त्यो विषय कतै सुनिएन । यस हिसाबले आईएसपीका लागि यो बजेटले केही पनि राहत नदिएको जस्तो महसुस भएको छ ।’

यस्तो कोभिडको महामारीको समयमा यसको यतिधेरै महत्व देख्दादेख्दै पनि इन्टरनेटका उपभोक्तालाई बजेटले कुनै पनि किसिमले सम्बोधन गर्न नसकेको उनको भनाई थियो । ‘यस्तो महत्वपूर्ण सेवाको  विषयमा केही पनि नसोचिएको देख्दा बजेटले हामीलाई निरास बनाएको छ,’ उनले भने, ‘झट्ट हेर्दा यो चुनावी बजेटको जस्तो देखिन्छ ।

यसमा बृद्ध भत्ता बढाउने जस्ता स्रोत छरपस्ट पार्ने किसिमको देखिन्छ । अरु केही उद्योगलाई भने राम्रै भएको हुनसक्छ ।’ अध्यक्ष पराजुलीले टीएससीसँगै इन्टरनेट लिजलाइनमा लाग्ने कर, राउटर ओएनयू आयातमा लाग्ने शुल्क जनताले नै व्यहोर्ने भएकाले त्यसमा छूट हुने आफूहरुको अपेक्षा रहेको बताए ।

‘यद्यपी करको दर आउन बाँकी नै छ,’ उनले भने, ‘त्यो नहेरी समग्रमा भन्न सकिँदैन । बजेटमा सबै कुरा अटाउँदा पनि अटाउँदैन । झट्ट सुन्दा बजेट पपुलिस्ट किसिमको देखियो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३