काठमाडौं । ह्वाट्सएपमा साथी भन्दै अकाउण्टमा पहुँच बनाउने क्रम निरन्तर रुपमा चलिरहेको छ । लामो समयदेखि यस्ताे स्क्याम ह्वाट्सएपमा चलिरहेको भएता पनि कम्पनीले कुनै समाधान ल्याउन सकेकाे छैन ।
स्क्यामका कारण अकाउण्ट ह्याक हुने र यसबाट अन्य साथीलाई नराम्रो म्यासेज जाने घटना बढेकाे छ । यसर्थ ह्वाट्सएप प्रयाेगकर्ताले यस्ता स्क्यामबाट आफू कसरी बच्ने र अरुलाई पनि कसरी सुरक्षित राख्ने भनेर जानकारी लिन जरूरी हुन्छ । त्यसका लागि सबैभन्दा पहिले स्क्याम कसरी हुन्छ भनेर जानाैं ।
तपाईंले यदि ६ डिजिटको ह्वाट्सएप कोड प्राप्त गर्नुभयो भने तपाईं स्क्याममा पर्नुहुनेछ । यसको अर्थ आफैंले कोशिश गर्दा प्राप्त भएको ६ डिजिट नभएर यदि तपाईंले सोच्दै नसोचेको समयमा यस्तो म्यासेज आएको खण्डमा तपाईंले विचार पुर्याउनुपर्ने हुन्छ ।
त्यस्तो कोड भनेको तपाईंको ह्वाट्सएप अकाउण्ट लगइन गर्दा आवश्यक पर्छ । यदि तपाईंले लगइन गर्न प्रयास गर्नुभएको छैन, अथवा अकाउण्ट व्यवस्थापन गर्नुभएकाे छैन भने त्यस्तो समयमा आएका कोड स्क्याम हुन् ।
त्यसरी कोड आएसँगै तपाईंलाई ह्याकरले तपाईंसँग उक्त कोड पठाइदिन भन्दै साथिको रुपमा म्यासेज गर्न सक्छ । कतिपय अवस्थामा उसले साथीको अकाउण्ट ह्याक गरी साथीको ह्वाट्सएपबाट म्यासेज गरेर पनि कोड माग्न सक्छ ।
उसले त्यसरी म्यासेजमा कोड माग्दा मैले मेरो नम्बर हाल्नुपर्ने तपाईंको नम्बर हालेछु कोड तपाईंको म्यासेज गयो, त्यो पठाइदिनु भनेर पनि भन्न सक्छ । अथवा विभिन्न प्रलोभनयुक्त वहाना बनाई कोड माग्न सक्छ ।
त्यसरी तपाईंले कोड उपलब्ध गराएसँगै अब ह्याकरले तपाईंको अकाउण्टमा एक्सेस प्राप्त गरी सम्पूर्ण जानकारी लिन सक्छ । यस्तोमा तपाईंले ह्वाट्सएप अकाउण्ट डिलिट गरी त्यसलाई सधैंको लागि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । अथवा कतिपय अवस्थामा त ठूला अपराधिक घटनामा समेत तपाईंलाई फसाउन सक्छ ।
त्यतिमात्रै नभएर उक्त अकाउण्टबाट उसले तपाईंको परिवार तथा आफन्तलाई म्यासेज गरेर आफूलाई पैसा खाँचो भएकाले केही समयको लागि पैसा उपलब्ध गराउन भन्दै पैसा लिने घटनाहरु पनि धेरै भएका छन् ।
सुरक्षित कसरी रहने ?
यस्तो घटनमा कसरी सुरक्षित रहने भन्ने विषयमा ह्वाट्सएपले भनेको छ, ‘ह्वाट्सएले आफ्नो प्रयोगकर्ताको सुरक्षाको लागि सधैं काम गर्दै आएको छ । तर, तपाईंको नम्बर भएको अर्को साथिीको म्यासेज र कलको हकमा भने यसले काम गर्दैन । त्यस्तोमा प्रयोगकर्ता आफैंले केही कुरामा ध्यान दिन जरुरी छ ।’
त्यसका लागि प्रयोगकर्ताले कहिलै पनि पासवर्ड तथा एसएमएस सेक्युरिटी कोड अरुलाई दिनु हुँदैन् । यतिसम्म कि त्यो व्यक्ति आफ्नो आफन्त तथा साथीभाइ नै किन नहोस् कोड कसैले नदिनुहाेस् ।
थप सुरक्षाको लािग टु–स्टेप–भेरिफिकेशन इनलेबल गर्न आवश्यक छ ।
यदि तपाईंलाई तपाईंको साथी तथा परिवारको अकाउण्ट बाट पैसाको लागि अनुरोध भएमा सुरुमा उक्त व्यक्तिलाई फोन गरेर कन्फर्म गर्ने बानी बसाल्नुहोस् ।