close

देशकै पहिलो तरल अक्सिजन प्लान्ट शिलान्यास

टेकपाना टेकपाना

जेठ ३१, २०७८ ९:१३

देशकै पहिलो तरल अक्सिजन प्लान्ट शिलान्यास

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा देशकै पहिलो तरल अक्सिजन प्लान्टको शिलान्यास भएको छ । राेहिणी गाउँपालिकाको धकधईस्थित शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरे ।

प्लान्ट निर्माण सम्पन्न भएपछि दैनिक सात हजार ठूला सिलिन्डर अर्थात् ६० टन अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन हुने जनाइएको छ । करिब एक अर्ब रुपियाँको लगानीमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टले लुम्बिनी प्रदेशको मात्र नभई देशमा भइरहेको अक्सिजनको मागलाई केही हदसम्म धान्नसक्ने प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले बताए ।

मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीमा अक्सिजन प्लान्टको शिलान्यास हुनु गर्वको कुरा भएको भन्दै लुम्बिनी प्रदेश अब अक्सिजन आपूर्ति गर्नसक्ने प्रदेशका रूपमा उभिन लागेको बताए ।

‘लुम्बिनी प्रदेशमा मात्र होइन, देशभर नै अक्सिजन आपूर्ति गर्नसक्ने गरी अक्सिजन उद्योग स्थापना हुन लागेको छ,’ उनले भने । प्लान्ट निर्माण गर्न लागेको शंकर ग्यास उद्योगका प्रबन्ध निर्देशक शंकरलाल अग्रवालले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी प्लान्ट शिलान्यास गरिएको जानकारी दिए ।

उनले सरकारबाट विद्युत् आपूर्तिमा सहयोग भएमा प्लान्टले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्नसक्ने र तत्काल देखिएको मागलाई धेरै हदसम्म सम्बोधन गर्नसक्ने बताए । जिल्लामा तीन उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् ।

ती उद्योगको दैनिक क्षमता ११ सय अक्सिजन सिलिन्डर भर्ने छ । भारतबाट केही दिनअघि तरल अक्सिजन ल्याएपछि क्षमता बढेर १४ सय पुगेको छ ।

पहिला दैनिक १७ सय सिलिन्डर खपत हुनेमा अहिले आठ सय मात्रै छ . शङ्कर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमा गरी तीनवटा प्लान्टसँग दैनिक एक हजार १५० सिलिन्डर अक्सिजन उत्पादनको क्षमता छ ।

विद्युत् आपूर्तिमा अवराेध र प्लान्ट बिग्रिनाले क्षमताअनुरूपको उत्पादन भने छैन । शंकर अक्सिजन ग्यासले भारतबाट तरल अक्सिजनको ट्याङ्क आयात गर्न थालेपछि उत्पादन बढ्न थालेको छ ।

उक्त प्लान्टले पछिल्लो एक सातामा मात्रै तीनवटा ट्याङ्कमा तीन हजार ५०० सिलिन्डर अक्सिजन आयात गरेको छ । ओमसतिया गाउँपालिकामा रहेको लुम्बिनी अक्सिजन इन्डस्ट्रिज प्रालिले दैनिक बढीमा तीन सय सिलिन्डर, तिलोत्तमा–१४ स्थित लुम्बिनी अक्सिजन ग्यास प्रालिले दैनिक २५० सिलिन्डर उत्पादन गर्दै आएका छन् । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१