काठमाडौं । सिजी नेटको बारेमा हामीले धेरै कुरा सुनिसकेका छौं । कुरा त सुन्यौं, तर इन्टरनेटको स्पिड कस्तो होला ? यो कौतुहलता मेटाउने मौका थोरैले मात्र पाउनु भएको छ । किनकि सिजी नेट अहिले ललितपुरको जावलाखेल, झम्सिखेल, भनिमण्डल, एकान्तकुना लगायत सीमित ठाउँमा मात्रै उपलब्ध छ ।
सिजी नेटले सेवा सुरु गरेको केही समयपछि मैले त्यसको इन्टरनेट सेवा आफ्नो कोठामा जडान गरेको छ । त्यसैले आज म सिजी नेटको स्पिड टेस्ट गरेर हेर्दैछु र अनि तपाईंहरुलाई पनि देखाउँदैछु।
सिजी नेट जोड्दा मलाई डुअल ब्याण्ड राउटर दिइएको छ । यसको विशेषता र यसले इन्टरनेट स्पिडमा पार्ने असरको विषयमा हामीले यस अघि नै छुट्टै सामग्री तयार पारिसकेका छौं ।
सुरुमा मैले सिजीले दिएको नोकिया राउटरको डब्लू ल्यान बन्द गरेर स्पिड जाँच्ने कोसिस गरेको छु । ता कि अन्य डिभाइसमा यो वाईफाई कनेक्ट हुन नपाओस् र इन्टरनेटको वास्तविक स्पीड थाहा पाउन सकियोस् ।
वास्तविक स्पिड थाहा पाउनकै लागि मैले ल्यापटपमा राउटरबाट ल्यान केबल जोडेको छु । मेरो ल्यापटपमा तार मार्फत इन्टरनेट कनेक्ट भइसकेपछि सबैभन्दा पहिला ओक्लाको स्पिड टेस्ट टुलबाट सिजी नेटको स्पीड टेस्ट गरें ।
सुरुमा यसले डिभाइसमा जुन इन्टरनेट कनेक्ट छ, त्यसको डाउनलोड स्पीड जाँच गर्दछ । यसरी जाँच गर्दा सिजी नेटको इन्टरनेटको डाउनलोड स्पिड ११६.७६ एमबीपीएस देखियो भने अपलोड स्पिड १०४.४५ एमबीपीएस रहेको पाइयो ।
नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट पनि इन्टरनेटको स्पीड टेस्ट गर्न सकिन्छ । वेबसाइटको पुछारमा रहेको स्पीड टेस्टमा क्लिक गरेर सिजी नेटको स्पिड टेस्ट गर्दा डाउनलोड स्पिड ११३ एमबीपीएस र अपलोड स्पिड १३८ एमबीपीएस देखायो ।
यो त सिजीले तोकेको भन्दा पनि बढी हो । अब नेटफ्लिक्सको फास्ट डटकमबाट पनि स्पिड टेस्ट गरेर हेरें । फास्ट डटकममा भने डाउनलोड स्पिड ९३ एमबीपीएस र अपलोड स्पिड ७६ एमबीपीएस देखायो ।
टुल र त्यसले प्रयोग गर्ने सर्भरपिच्छे इन्टरनेटको स्पिड फरक फरक देखाउन सक्छ । यस्ता टुलबाट स्पिड टेस्ट गरेर मात्रै पनि वास्तविक स्पिड थाहा पाउन सकिन्न । त्यसैले मैले एउटा भिडिओ अपलोड र डाउनलोड गरेर हेरेको छु ।
१.४ जीबीको भिडिओ फाइल वीट्रान्सफर र युट्युव दुवैमा अपलोड गरेर जाँच गरेको थिएँ । विट्रान्सफरमा करिब साढे एक जीबीको फाइल अपलोड हुन झण्डै ८ मिनेट लाग्यो ।
विट्रान्सफरको सर्भर विदेशमा भएको र सम्पूर्ण रुपमा अन्तर्राष्ट्रिय व्याण्डविथ खपत गर्ने भएकाले त्यसमा अलि ढिलो हुन गएको हुनुपर्छ । यो स्पिड चाहिँ त्यति तीव्र लागेन । त्यसपछि मैले त्यही फाइल डाउनलोड गरेर जाँचे ।
डाउनलोड भने निकै फास्ट रहेछ । साढे एक जिबीको फाइल डाउनलोड केवल दुई मिनेटमै पुरा भयो । त्यसपछि मैले सोही भिडिओ फाइल युट्युवमा अपलोड गरेर हेरें ।
जसमा लोकल ब्याण्डविथ खपत हुन्छ। युट्युवमा भने उक्त भिडियो निकै फास्ट अर्थात ३ मिनेट २० सेकेन्डभित्रै अपलोड भयो । त्यससँगै मैले ल्यापटपमा फोरके भिडियो स्ट्रिमिङ गरेर पनि हेरें ।
बफरिङ नभइकनै अर्थात बिना रुकावट फोरके भिडिओ आनन्दले चल्यो । ल्यान केवलबाट टेस्ट गर्दा त सिजी नेटको स्पीड समग्रमा राम्रो नै लाग्यो । सबै डिभाइसमा ल्यान केबलबाटै इन्टरनेट चलाइन्छ भन्ने पनि छैन ।
हामीले धेरैजसो डिभाइसमा वाईफाईबाटै इन्टरनेट चलाइरहेका हुन्छौं । त्यसैले मैले वाईफाईमा समेत सिजीको इन्टरनेट कत्तिको फास्ट छ भनेर चेक गरेको थिएँ । त्यसका लागि वाईफाई राउटरबाट आठ मिटर टाढा अर्को कोठामा बसेर वाईफाई कनेक्ट गरेर स्पिड टेस्ट गरियो ।
डुअल ब्याण्ड राउटरमा दुई वटा वाईफाई हुन्छ, २.४ गिगाहर्ज र ५.२ गिगाहर्ज । ५.२ गिगाहर्ज वाईफाई कनेक्ट गरेर हेर्दा ओक्लाको स्पिडटेस्टले सिजीको डाउनलोड स्पिड ११६ एमबीपीएस र अपलोड स्पिड ११७ एमबीपीएस देखायो ।
अनि दूरसञ्चार प्राधिकरणको वेबसाइटबाट टेस्ट गर्दा झण्डै ११४ एमबीपीएस डाउनलोड स्पिड र १३२ एमबीपीएस अपलोड स्पिड पाइयो । त्यसैगरी फास्ट डटकमबाट भने डाउनलोड स्पिड ९९ एमबीपीएस र अपलोड स्पिड ७४ एमबीपीएस देखियो ।
ल्यान केबलबाट र ५.२ गिगाहर्ज वाईफाईबाट सिजी नेट चलाउँदा इन्टरनेटको स्पीडमा खासै अन्तर देखिएन । अन्तिममा मैले २.४ गिगाहर्ज वाईफाईबाट पनि स्पीड चेक गरेर हेरेको थिएँ । यसरी चेक गर्दा स्पिड तुलनात्मक रुपमा एकदमै कम देखियो ।
स्पिड टेस्टबाट चेक गर्दा डाउनलोड स्पिड ४४ एमबीपीएस तथा अपलोड स्पिड २१ एमबीपीएस मात्र पाइयो । अनि प्राधिकरणको वेबसाइटबाट टेस्ट गर्दा ४९ एमबीपीएसको डाउलोड स्पिड तथा २६ एमबीपीएसको अपलोड स्पिड पाइयो ।
अन्तिममा फास्ट डटकममा भने ३४ एमबीपीएस डाउनलोड तथा २२ एमबीपीएस अपलोड स्पिड देखियो । समग्रमा सिजी नेटको इन्टरनेट मलाई चाहिँ एकदमै राम्रो लाग्यो।
अहिले ग्राहक निकै कम भएकाले पनि सिजीको इन्टरनेट स्पिड राम्रो देखिएको हुनसक्छ । तर ग्राहक बढ्दै जाँदा स्पिड यस्तै रहन्छ वा घट्छ, त्यो भने हेर्न भने पर्खिनै पर्छ ।