काठमाडाैं । अनलाइन शपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियाे २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ ।
बुधबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
दराज अलिबाबा समूहको एक हिस्सा हो । अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो ।
यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ ।
टोकियो २०२० समर ओलम्पिक २३ जुलाईदेखि सुरु हुँदैछ । २ सय भन्दा बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवर्द्धन होस् भन्ने नै रहेको छ ।