काठमाडौं । फेसबुक १० खर्ब डलर भएको पाँचौ अमेरिकी कम्पनी बन्न सफल भएको छ । शेयर बजारमा आएको ४.२ प्रतिशतको उछालसँगै फेसबुकले यो सफलता हात पार्न सफल भएको हो । कम्पनीको प्रतिशेयर मूल्य हाल ३५५.६४ अमेरिकी डल पुगेको छ । यसरी शेयर बजारमा आएको परिवर्तनले कम्पनीलाई अमेरिकाको १० खर्ब डलर मूल्य बराबरको पाँचौ कम्पनी बनाएको हो ।
यो सूचीमा यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गुगल रहेका छन् । त्यसमध्ये माइक्रोसफ्ट र एप्पल कम्पनीको मूल्य २० खर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ । अमेरिकी फेडरल ट्रेडले कम्पनीविरुद्ध हालेको एन्टिट्रस्टको मुद्धामा कम्पनीको पक्षमा निर्णय भएसँगै कम्पनीको शेयर मूल्यमा वृद्धि भएको थियो ।
सन् २०१२ मा पहिलो पटक शेयर बजारमा सूचिकृत भएको फेसबुकको शेयर निरन्तररुपमा बढिरहेको छ । सन् २०१८ मा कम्पनीकाे आम्दानीमा आएको गिरावटका कारण भने कम्पनीको शेयर एकैपटक १९ प्रतिशतले घटेको थियो ।
तर, त्यसपछि भने निरन्तर शेयर मूल्य बढिरहेको छ । हाल कम्पनीको शेयर मूल्य सन् २०१८ को तुलनामा ९० प्रतिशतले बढी भएको जनाइएको छ ।