काठमाडौं । पछिल्लो समयमा हामीले क्रिप्टोकरेन्सीको विषयमा धेरै सुन्दै आएका छौं । बिटक्वाइन, ब्लकचेन, डजक्वाइन, इथेरियम, एनएफटी लगायतका शब्दहरु हामीले धेरै नै सुनिरहेका छौं । तर के तपाईंलाई थाहा छ, यी सबै भनेको के हो र यसले कसरी काम गर्छ ?
के हो क्रिप्टोकरेन्सी ?
मानव सभ्यताको विकास हुँदै गर्दा पैसाजस्तो केही पनि थिएन । त्यतिखेर मानिसहरू सामानहरु आदानप्रदान गर्थे । तर यो किसिमको विनिमयले मानिस सन्तुष्ट नभएपछि मुद्राको प्रयोग सुरु भयो । सुरुका दिनमा उनीहरूले सुन चाँदी लगायतका बहुमूल्य धातुका सिक्काहरु बनाएर त्यसलाई आफूलाई चाहिएको सामान खरिद गर्नको लागि प्रयोगमा ल्याए ।
एउटा प्रणालीमा सदैव हुने विश्वासका कारण सरकारले पैसामा नियन्त्रण गर्न थाल्यो । साथै धातुका सिक्काहरुको ठाउँमा कागजको पैसा प्रयोगमा आयो । हेर्दा धातुको सिक्का जति कागजका पैसा मूल्यवान नभए पनि सरकारले सुरू गरेको प्रणालीमा यसलाई मान्यता दिइयो, जसले गर्दा धातुका सिक्काभन्दा कागजका पैसा मूल्यवान भए ।
यसको अर्थ कागजी पैसा भनेको एउटा प्रमाण हो, जसलाई सरकारले मान्यता दिएको छ, तपाईंसँग सम्पत्ति छ भनेर । तर समय बित्दै जाँदा विकास भएको समाजले आफ्नो अनुकूल नीति नियमहरु बनाउने क्रममा पछिल्लो समयमा मानिसहरु सामान खरिद गर्न पैसाको प्रयोगभन्दा पनि क्रेडिट कार्ड, डेबिट कार्डहरु प्रयोग गर्न थाले ।
हाम्रो पैसा डिजिटमा मात्र सीमित हुँदैछ । यदि तपाईंले केही समान किन्नुभयो भने तपाईंको बैंक खातामा भएको डिजिट कम हुन्छ र जसलाई तिर्नुभएको हो, उसकोमा डिजिट थप हुन्छ ।
यसरी विभिन्न चरणहरु पार गर्दै आउँदा मानव सभ्यता आफ्नो अनुकूलताको खोजीमा आज क्रिप्टोकरेन्सीको प्रयोगमा पुगेको छ । विनिमयको क्षेत्रमा क्रिप्टोकरेन्सीलाई आजभोलि मान्छेहरुले सबैभन्दा सहज माध्यमको रुपमा लिन थालेका छन् । क्रिप्टोकरेन्सी विनिमयको एउटा भर्चुअल माध्यम हो । झन् बिटक्वाइनको लोगो त ठ्याक्कै सिक्काको जस्तो बाइएको छ ।
तर क्रिप्टकरेन्सीमा न त कुनै धातुका सिक्का हुन्छन् न नै कागजको पैसा । यसले तपाईंको डिजिटल सम्पत्ती विनिमय गर्छ । यद्यपि यसको मूल अवधारणा भने एउटै हो । जसरी बैंकको एउटा खाताबाट अर्को खातामा पैसा पठाउने र पाउनेको अंकमा मात्र घटबढ हुने गर्छ, क्रिप्टोकरेन्सीमा पनि त्यसरी ने काम हुन्छ ।
फरक मात्र यत्ति हो कि, बैंकिङ कारोबारमा विभिन्न बैंकहरुका आ-आफ्ना छुट्टाछुट्टै हिसाबकिताबका रेकर्ड हुने गर्नछन् भने क्रिप्टोकरेन्सीमा हरेक कारोबारको एउटै ठूलो रेकर्ड हुन्छ, जसलाई लेजर भनिन्छ ।
क्रिप्टोकरेन्सी किन ?
पछिल्लो समयमा विश्वभरी नै मान्छेहरु क्रिप्टोकरेन्सीको पछाडि लागिरहेका छन् । वास्तवमा भन्नुपर्दा अन्य कारोबारका प्रणालीभन्दा भर्चुअल कारोबारका छुट्टै फाइदा पनि छन् । यसको पहिलो फाइदा भनेको क्रिप्टोकरेन्सीले कारोबार प्रणालीलाई विकेन्द्रीकरण गरेको छ । क्रिप्टोकरेन्सीमा भएका प्रत्येक कारोबारको रेकर्ड एउटै ठूलो लेजरमा राखिएको हुन्छ, जसका थुप्रै प्रतिलिपिहरु पनि छन् ।
उक्त क्रिप्टोकरेन्सीको नेटवर्कमा जोडिएका प्रत्येक व्यक्तिसँग सो लेजर उपलब्ध हुन्छ । साथै कोही एक व्यक्तिले गरेको कारोबारको रेकर्ड सबै लेजरहरुमा जाने हुँदा कसैले यसको गलत प्रयोग गरेको सजिलै थाहा पाउन सकिन्छ ।
तपाईंले पक्कै क्रिप्टोकरेन्सी माइनिङ वा बिटक्वाइन माइनिङको बारेमा सुन्नुभएको होला । शक्तिशाली कम्प्युटरको प्रयोग गरेर जटिल समस्या हल गरेपछि मात्र बिटक्वाइन निकाल्न सकिन्छ, जसलाई आफ्नो कब्जामा ल्याई एउटा बिटक्वाइन वालेटमा राख्न सकिन्छ, जुन प्रक्रियालाई माइनिङ पनि भनिन्छ ।
हाल विश्वभर लाखौँ मान्छेहरु बिटक्वाइन माइनिङमा संलग्न छन् र यदि तपाईं आफ्नो कम्प्युटरको क्षमतालाई बिटक्वाइन माइनिङमा राम्रोसँग प्रयोग गर्नुहुन्छ भने तपाईंले अतिरिक्त बिटक्वाइन कमाउन सक्नुहुन्छ । यद्यपि बिटक्वाइन क्रिप्टोकरेन्सीको एउटा प्रकार मात्र हो ।
क्रिप्टोकरेन्सीमा भएको विकेन्द्रीकरणको प्रणालीका कारण पनि कसैले यसलाई सजिलै ह्याक गर्न सकिँदैन । उदाहरणका लागि क्रिप्टोकरेन्सीको नेटवर्कमा भएको कुनै एउटा कम्प्युटरको लेजरमा तपाईंले ह्याक गर्न फरक अंकहरु प्रयोग गर्नुभयो भने बाँकी अन्य कम्प्युटरमा भएका अंकभन्दा फरक हुने बित्तिकै तपाईं समातिनुहुन्छ ।
यसरी सुरक्षाको हिसाबले पनि क्रिप्टोकरेन्सी एकदमै व्यवस्थित हुँदा मान्छेहरुको आर्कषण यसप्रति बढेको हो । यसले पारदर्शी कारोबारको प्रवर्द्धन गर्नेहुँदा मान्छेहरु यसप्रति आकर्षित भएको देखिन्छ ।
दोस्रो कारण भनेको मानिसलाई अब झन्झटिलो प्रकृया भएको बैंकिङ कारोबारको आवश्यकता हुँदैन । किनभने क्रिप्टोकरेन्सीका हरेक कुराहरु यसको नेटवर्कमा भएका हरेक व्यक्तिहरुको नियन्त्रणमा हुन्छ । यदि तपाईंलाई अन्तर्राष्ट्रिय कारोबार गर्नपर्यो भने तपाईंले केही समयभित्र नै सो काम गर्नसक्नुहुन्छ । विना कुनै विनिमय दर, व्याज दर लगायत अन्य कुनै कारोबार शुल्क तिरेर ।
सबैभन्दा रोचक कुरा भनेको क्रिप्टोकरेन्सी क्रिप्टोग्राफी भन्ने माध्यमबाट सुरक्षित गरिएको कारण यसलाई क्रिप्टोकरेन्सी भनिएको हो । उदाहरणका लागि अन्य क्रिप्टोकरेन्सीहरुले जस्तै बिटक्वाइनले पनि ब्लकचेन प्रयोग गर्छ ।
ब्लकचेन भनेको एउटा सुरक्षित लेजर हो, जसले लेजरमा भएको रेकर्डलाई ब्लकको रुपमा व्यवस्थापन गर्ने काम गर्छ । अर्थात् तपाईंले बिटक्वाइनमार्फत कुनै एउटा कारोबार गर्नुभएको छ भने त्यो कारोबार लेजरमा ब्लकको रुपमा रेकर्ड हुन्छ । सो ब्लकले कसले कसलाई कति बिटक्वाइन दियो भन्ने जानकारी रेकर्ड गर्छ ।
क्रिप्टोकरेन्सीका प्रकार
विश्वभर अहिले करिब ४००० प्रकारका क्रिप्टोकरेन्सीहरु छन्, जसका आफ्नै भिन्दै विशेषता छन् । जस्तो कि विश्वकै दोस्रो ठूलो लगानी भएको क्रिप्टोकरेन्सीहरू मध्य इथेरियमले बिटक्वाइनले भन्दा पनि छिटो कारोबार गर्छ ।
त्यसैगरी कार्डानो नामक क्रिप्टोकरेन्सी अन्य क्रिप्टोकरेन्सीहरुको तुलनामा प्राविधिक रुपमा अब्बल मानिन्छ भने लाइटकोइन क्रिप्टोकरेन्सीले नयाँ एल्गोरिदम प्रयोग गरेको छ । सबै क्रिप्टोकरेन्सीहरुको आ-आफ्नो छुट्टै विशेषताहरु छन् ।
नकारात्मक पक्ष
बजारमा क्रिप्टोकरेन्सीको निकै चर्चा भइरहँदा र सुरक्षाको हिसाबले यो निकै बलियो हुँदा हुँदै पनि धेरैजसो मानिस अझै पनि यसप्रति विश्वास गर्दैनन् । क्रिप्टोकरेन्सीको मूल्यमा हुने अस्थिरताका कारण पनि धेरै यसमा लगानी गर्न हिच्किचाउँछन् ।
अर्कोतिर यो विल्कुलै नयाँ र डिजिटल भएका कारण पनि यसलाई सहजै स्वीकारेको पाइँदैन । त्यस्तै आज पनि धेरै ठाउँहरुमा यसको कुनै मान्यता छैन । क्रिप्टोकरेन्सीबाट गरिएका भुक्तानीहरु धेरै ठाउँमा चल्दैन भने केही देशहरुले यसलाई गैरकानूनी भनेर पनि घोषणा गरेका छन् । माइक्रोसफ्ट, टेस्ला लगायतका विश्वका ठूला कम्पनीहरुले समेतले क्रिप्टोकरेन्सी प्रयोगलाई प्रचलनमा ल्याएका छैनन् ।
यसको तेस्रो नकारात्मक पक्ष भनेको वातावरणीय चिन्ता हो । यो एकदमै सुरक्षित हुनुको पछाडि यसले प्रयोग गर्ने उर्जा हो । क्रिप्टोकरेन्सीका लागि अत्याधिक बिजुलीको प्रयोग हुनाले पनि याे आलोचित भइरहेको हुन्छ ।
चौंथो भनेको यसका विशेषताका कारण यसले अपराध र अपराधिक कारोबारहरु बढाउन सक्ने भन्ने चर्चा पनि रही आएको छ । क्रिप्टोकरेन्सीमा प्रयोग भएको डेटालाई ट्रेस गर्न मिल्ने भएका कारण यसले अपराधिक गतिविधिलाई श्रेय दिने विश्वास गरिएकाे छ, जबकि कागजी पैसामा ट्रेस गर्ने खालको कुनै कुरा हुँदैन ।