close

युरो कप प्रायोजनमा चिनियाँ प्रविधि कम्पनीको वर्चस्व

टेकपाना टेकपाना

असार २०, २०७८ १३:४७

युरो कप प्रायोजनमा चिनियाँ प्रविधि कम्पनीको वर्चस्व

काठमाडौं । युरो कप २०२० का क्वार्टरफाइनल खेल सकिएका छन् । अब बुधबार सेमिफाइनलका खेल हुँदै छन् । मिनि विश्वकपको रुपमा परिचित युरो कपमा दर्शकहरुले रोमाञ्चक खेलहरुको मज्जा लिने क्रममा फुटबल र खेलाडीसँगै मैदानमा रहेका प्रायाेजकहरूकाे लाेगाे र विज्ञापन भएका डिजिटल बोर्ड पनि पक्कै याद गरेका छन् ।

यस्ता विज्ञापन बाेर्डमा अधिकांश समय चिनियाँ प्रविधि कम्पनीहरूकाे लोगो देखाइन्छ । वास्तवमा यसपटककाे युराेकपमा प्रायाेजककाे रूपमा चिनियाँ कम्पनीहरूकाे वर्चस्व देख्न सकिन्छ ।

यसअघि सन् २०१६ को युरोमा हाईसेन्स टिभी एक मात्र चिनियाँ प्रायोजक थियो । तर अहिले हाईसेन्ससहित टिकटक, भिभो र अलिपे प्रयोजकका रूपमा जोडिएका छन् ।

गुगल, फेसबुक, अमेजन वा एपलजस्ता अमेरिकी कम्पनीहरू प्रायोजकको सूचीमा छैनन् । युरोपेली फुटबल संघले चिनियाँ प्रायोजकको विषयमा कुनै विशेष रणनीति नभएको बताएको छ ।

‘तर हामी मात्रै होइन, हामीसँग जोडिने प्रयोजक पनि विश्वभरका समर्थकहरूसँग जोडिन चाहन्छन्’ संघले बतायो ।

यो वर्ष मात्रै जोडिएको र चीनबाहिर छुट्टै हिसाबले चल्ने टिकटकले युरोलाई विशेष बनाएको छ। यसले टिकटक लाइभ र ह्यासट्याग चुनौतीजस्ता कुराहरू दिएको छ ।

युरोपेली फुटबल संघले टिकटकमा आधिकारिक अकाउन्ट खोलेको छ, जसलाई ४२ लाखले फलो गरेका छन् ।

त्यस्तै अलिपे चिनियाँ भुक्तानी सेवा हो, जुन चीनबाहिर चिनियाँ परिचयपत्र नभई प्रयोग गर्न सकिन्न । तर पनि उसले युरोपेली फुटबल संघसँग ८ वर्षको प्रायोजन सम्झौता गरेको छ ।

अलिपेको भगिनी संस्था एन्ट ग्रुपकै अर्को सेवा एन्टचेन हो, जसले ब्लकचेन प्रविधि प्रदान गर्छ । अलिपेको सम्झौता हुँदाहुँदै एन्टचेनले पनि युरोपेली फुटबल संघसँग ५ वर्षे प्रायोजन सम्झौता गरेको छ । युरो २०२० मा भएका सबै गोलहरूको तथ्याङ्क एन्टचेनमा रहन्छ र अलिपेले सबैभन्दा बढी गोल गर्नेलाई दिइने ट्रफी प्रदान गरेको छ ।

किन चिनियाँ ब्रान्डहरू युरोपेली फुटबलको बजारमा आएका छन् त ?

बर्मिङ्घम विश्वविद्यालयका खेलकुद नीति र व्यवस्थापन शिक्षक शुशु चेनका अनुसार सन् २०१६ को प्रायोजनपछि हाईसेन्सको बिक्रीमा वृद्धि भयो । तर व्यापारका लागि भन्दा पनि यो काम चिनियाँ राष्ट्रपति सी जिनपिङका कारण भएको हुनसक्छ ।

सी फुटबलमा समर्थक हुन् र चिनियाँ सरकारले प्रविधि कम्पनीमाथि कडाइ गरिरहेको अवस्थामा यो सुन्दर खेलको समर्थन गरेको देखाउने बठ्याइँपूर्ण जनसम्पर्क चाल हुनसक्छ ।

‘युरोप चिनियाँ कम्पनीहरूका लागि महत्त्वपूर्ण बजार बन्दै छ’ ओम्डियाका वरिष्ठ विज्ञापन विशेषज्ञ म्याट बेले भन्छन् ।

सन् २०१४ मा सीले चिनियाँ विद्यालय शिक्षामा खेलकुद समावेश गरे भने सन् २०१६ मा चिनियाँ सुपर लिग फुटबल सुरु गरियो ।

लीगमा ब्रजिली स्टार ओस्कारसहित महँगा अन्तर्राष्ट्रिय खेलाडीहरू किनिए । ओस्कारको साप्ताहिक तलब चार लाख पाउन्ड थियो तर छिटै चिनियाँ टोलीलाई आर्थिक अफ्ठेरो परेको देखियो ।

सन् २०२० को डिसेम्बरमा लिगलाई पैसाको खेल नबनाउन खेलाडीको उच्चतम तलब तोक्ने निर्णय गरियो । चीनमा फुटबल प्रख्यात छ । आर्सनल क्लबको मात्रै त्यहाँ २० करोड समर्थक भएको बताइन्छ, जुन यूकेको जनसङ्ख्याको तीन गुणा बढी हो ।

त्यसैले चिनियाँहरू पनि युरो २०२० हेरिरहेका छन् । बीबीसीका मिडिया विशेषज्ञ केली एलनका अनुसार चिनियाँ सामाजिक सञ्जालमा युरो ह्यासट्याग भएका ५० लाखभन्दा बढी पोस्ट प्रकाशन भएका छन् ।

‘युरोका एक तिहाइ प्रायोजकका रूपमा रहेका चिनियाँ कम्पनीका बारेमा चीनमा राम्रो समाचारहरू प्रकाशन भएका छन्,’ उनले भनिन् ।

फुटबल चर्चित भए पनि चीनको फुटबल टोली भने विश्वको ७५औँ स्थानमा रहेको छ। विश्वकप फुटबलमा चीनले सन् २००२ यता खेलेको छैन ।

के फुटबलमा चीनको उच्चतम सफलता प्रायोजन मात्रै हो त ?

सायद । बिग अरेन्ज मिडियाका जो डे क्वान्ट भन्छन्, ‘तर त्यो मात्रै लक्ष्य होइन । ब्रान्डलाई चर्चित बनाउने प्रयास पनि हो।’

‘युरोले ठूलो जनसङ्ख्या र बजार प्रतिनिधित्व गर्छ । अनलाइनले बजार लिँदै गएको अवस्थामा टिभीमा यति धेरै मानिस एकै पटक आएको लामो समयपछि हो ।’

विज्ञापन क्षेत्रमा अनुभवी सिन्डी ग्यालोप मेक लभ नट पोर्नका संस्थापक हुन् र उनका एक अभिभावक चिनियाँ हुन्।

ग्यालोप भन्छन्, ‘सबै देशमा एसियालीप्रतिको घृणालाई कम गर्नुपर्ने अवस्था रहेको बेला फुटबलको विश्वव्यापी भाषामा चिनियाँ ब्रान्डहरू देखिनु राम्रो हो ।’

‘म पनि चिनियाँ विज्ञापनहरू देखेर छक्कै परेको छु । तर यो अवस्थाको यसको अर्थ छ,’ उनले भने ।

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३