close

फुटबलमा अनलाइन सट्टेबाजी धन्दा, बाहिरिँदै नेपाली पुँजी

टेकपाना टेकपाना

असार २३, २०७८ ७:५३

फुटबलमा अनलाइन सट्टेबाजी धन्दा, बाहिरिँदै नेपाली पुँजी

काठमाडाैं । युरोप–अमेरिकामा युरो कप र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजी, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानूनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको जुवाबाट ठूलो रकम अवैध ढङ्गले बाहिरिने गरेको सम्बद्ध अधिकारी बताउँछन् ।

युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगिताजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितालाई मनोरञ्जनका रूपमा भन्दा अवैध आम्दानीको आधार बनाउनेहरूका कारण अनलाइन ठगी अपराध बढ्दै गएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सट्टेबाजी तथा अनलाइन जुवामा संलग्न रहेको अभियोगमा आइतबार ८ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू अधिकांश उद्योगी व्यवसायी हुन् । उनीहरू अवैध आर्जनका लागि यस्तो अपराधमा संलग्न हुने गरेको दाबी प्रहरीको छ ।

‘विकसित मुलुकका नागरिकका लागि सट्टेबाजी तथा बाजी लगाउनु पर्व हो’, एक प्रहरी अधिकारीका भनाइमा नेपालमा भने त्यस्तो कार्य गैरकानूनी हो । अनलाइन बेटिङ नेपाल जस्तो अल्पविकसित मुलुकका लागि लाभदायक छैन ।

विशेषगरी वाट्सएप र भाइबरबाट खेलिने यो घातक जुवामा नेपाली युवा किन फस्दैछन् ? महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला भन्छन्, ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै हो ।’

‘खेलाउनेहरू सबै विदेशी हुन्छन्, उनीहरू खेल्ने कसैको पनि प्रत्यक्ष सम्पर्कमा आउँदैनन्, एपबाट खेलाउँछन् र इलेक्ट्रोनिक पेबाट रकम लिन्छन्, खेल्ने र खेलाउनेबीच एजेन्ट (दलाल)हरू कमिसन लिएर प्रयोग हुन्छन्’, कोइरालाको भनाइ छ ।

युरो कप र कोपा अमेरिका फुटबल प्रतियोगितामा सट्टेबाजी लगाउने मुख्य सञ्चालक भारतीय नागरिक आदित्य भन्ने रेड्डी अग्रवाल भएको प्रहरीको आरोप छ । होटल र्याडिसनका सञ्चालक आदित्यले सविता बस्नेत नाम गरेकी युवतीलाई प्रयोग गरी अनलाइन बेटिङ खेलाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार एक लाख रुपियाँभन्दा माथिको सट्टेबाजीमा सम्पन्न, व्यापारी तथा सयदेखि हजार दरका सट्टेबाजीमा धेरैजसो नेपाली युवाको सहभागिता देखिएको छ ।

काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये राजेन्द्र श्रेष्ठ, जीवन लामा, सुरज टिवडेवाल, भारत विहारका अशोक गुप्ता, हरियानाका राजेशकुमार अग्रवाल, सुचित डालमिया अग्रवाल र वीरगञ्जका अमरनाथ गुप्ता व्यापारी हुन् । उनीहरूको साथबाट ३४ लाख ६५ हजार रुपियाँ बरामद भएको प्रहरीको भनाइ छ ।

सट्टेबाजीबाट आर्जित रकम कानूनी रूपमा वैध हुँदैन । ई–सेवा सहज नभएको अवस्थामा हुन्डी र आईएमईमार्फत समेत लेनदेन हुने गरेको पाइएको छ । अनलाइन बेटिङ जुवाले हुन्डी कारोबार पनि मौलाएको छ, प्रवक्ता कोइरालाका अनुसार अनलाइन ठगी पनि त्यत्तिकै छ ।

चीन, भारत, नेपाल, दुबई र मलेसिया गरी यी चार देशमा स्काई एपबाट बढी नै ‘अनलाइन बेटिङ’ खेल्ने गरेको पाइन्छ । नेपालमा मात्र यतिबेला २० करोड रुपियाँभन्दा बढीको रकम बाजी लगाइएको दाबी प्रहरीको छ । सो रकम हारजित जसको पक्षमा आए पनि भित्रिनेभन्दा बाहिरिने सम्भावना ठूलो छ ।

नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेल अनलाइन बेटिङको रकम हुन्डीबाहेक अन्य मार्गबाट बाहिरिने सम्भावना न्यून रहेको बताउँछन् । खल्ती तथा ई–पेलगायतका सेवा मुलुकभित्रका लागि मात्र भएको भन्दै उनले अनलाइन ठगी यस्ता सेवाबाट नहुने स्पष्ट पारे । तर चिट्ठा, उपहारका नाममा हुने अन्तर्राष्ट्रिय ठगीका घटनामा यस्ता सेवा दुरुपयोग हुने गरेको पाइएको छ ।

त्यस्तै मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको कसुरअनुसार सट्टेबाजी अपराध जुवाअन्तर्गत हुने भएकाले पाँच दिन प्रहरी हिरासतमा राख्नुबाहेक कानूनी उपचारको अन्य विकल्प देखिँदैन ।

घटनास्थलमा बरामद रकम सरकारी ढुकुटी तथा राजस्वमा बुझाउने र खेल्ने र खेलाउनेलाई प्रहरी हिरासतमा लिई कारबाहीको व्यवस्था रहेको छ । कमजोर कानून भएका कारण सट्टेबाजीको समस्या बढेको प्रहरीको दाबी छ । -गाेरखापत्रबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३