close

जुनसुकै बेला गुम्नसक्छ तपाईंको जिमेल एक्सेस, सतर्क रहने कसरी ?

टेकपाना टेकपाना

साउन २१, २०७८ १४:३१

जुनसुकै बेला गुम्नसक्छ तपाईंको जिमेल एक्सेस, सतर्क रहने कसरी ?

काठमाडौं । गुगल तथा जिमेल अकाउन्टमा रहेको पहुँच गुमाउने कुरा तपाईंले कल्पना गर्नु भएको छैन होला । तर, यो निकै निराशाजनक र दुःखद् अवस्था तपाईंमाथि पनि निम्तिन सक्छ ।

केही प्रयोगकर्ता पासवर्ड बिर्सेर अथवा अन्य कारणले हप्तौंसम्म आफ्नो लक भएको जिमेल अकाउन्टमा फर्किन सकिरहेका हुँदैनन् । चाहे पासवर्ड बिर्सेर होस् वा आफ्नो अकाउन्ट ह्याक गरेर ह्याकरले त्यसमा परिवर्तन गरिदिँदा नै किन नहोस्, गुगलले लक भएको तपाईंको अकाउन्ट फिर्ता पाउने विभिन्न उपाय दिएको हुन्छ ।

कहिलेकाहीँ त त्यसले काम पनि गर्छ । गुगलका यस किसिमका विकल्प तपाईंको पहुँच बाहिर पनि हुनसक्छन् ।

त्यसैले यस्तो अवस्था आउनु अगावै सचेत रहनु नै श्रेयस्कर हुन्छ । आज हामी तपाईंलाई केही यस्ता सुझावहरू दिँदै छौं, जसले तपाईंलाई आफ्नो अकाउन्टको पहुँच गुमेको खण्डमा त्यसमा रहेका आफ्ना महत्वपूर्ण डेटा तथा सामग्री साथमै राख्न वा फिर्ता पाउन सघाउनेछन् । 

नियमित रुपमा आफ्नो अकाउन्टको ब्याकअप राख्नुहोस्

यदि तपाईंसँग आफ्नो डेटाको हालसालैको ब्याकअप छ भने, गुगल तथा जिमेल अकाउन्टमा रहेको तपाईंको एक्सेस गुमेको खन्डमा समेत तपाईंको तनाव केही मत्थर हुनसक्छ । गुगलले यसका लागि तपाईंलाई आफ्नो डेटा डाउनलोड गर्ने उपाय दिएको हुन्छ ।

जसलाई ‘टेकआउट’ भन्ने गरिन्छ । यसमार्फत तपाईंले गुगलका एपहरूमा रहेको आफ्नो डेटा डाउनलोड गर्न सक्नुहुन्छ । यसमा निश्चित एप अथवा कुनै एउटा मात्र एपको (उदाहरणका लागि जिमेलको) डेटा डाउनलोड गर्ने सुविधा पनि हुन्छ ।

डेटाको प्रकार (फर्म्याट) अनुरूप त्यसलाई डाउनलोड गर्ने तौरतरिका भने केही फरक हुनसक्छन् । उदाहरणका लागि तपाईंको ईमेल एमबीओएक्स फर्म्याटमा डाउनलोड हुन्छ । जसलाई कुनै अर्को जिमेल अकाउन्ट अथवा अधिकांश अन्य ईमेल सेवा तथा एपमा अपलोड गर्न सकिन्छ । 

आफ्ना पुराना पासवर्डको रेकर्ड राख्नुहोस्

यदि तपाईंले कसैगरी आफ्नो पासवर्ड गुमाउनु भयो भने गुगलले तपाईंको परिचय प्रमाणीकरण (Identity verification) गर्न पुरानो पासवर्ड सोध्नसक्छ (एउटा तरिका) । यदि कुनै समय तपाईंले आफ्नो पासवर्ड परिवर्तन गर्नु भएको थियो भने सम्झनुहोस् त, त्यो पुरानो पासवर्ड ।

पक्कै पनि याद गर्न निकै कठिन अथवा असम्भव जस्तै हुन्छ । बेलाबेलामा पासवर्ड परिवर्तन गर्नु सुरक्षाका लागि पनि आवश्यक हुन्छ । यस्तोमा पुरानो पासवर्डको रेकर्ड कतै सुरक्षित राख्ने गर्नुहोस् । यसका लागि एउटा राम्रो उपाय भनेको पासवर्ड म्यानेजर प्रयोग हो ।

सम्भवतः तपाईंले यस्ता एप प्रयोग गरिरहनु भएकै होला । यस्ता एपले पनि पुराना पासवर्डको ट्रयाक रेकर्ड राख्न सघाउने गर्दछन् । अधिकांश पासवर्ड म्यानेजरले कुनै एपमा नयाँ पासवर्ड राख्दा अपडेट गर्ने सुविधा दिन्छन् ।

यदि सम्भव छ भने कुनै नयाँ इन्ट्री गर्नेभन्दा उपलब्ध मध्येबाट रोज्ने गर्नुहोस् । यस्तोमा तपाईंले सहजै पुरानो पासवर्ड पत्ता लगाउन सक्नुहुन्छ । त्यसमा ‘Gmail-Old Password’ जस्तै केही सुविधा हुनसक्छन् । यदि तपाईंले पासवर्ड म्यानेजर प्रयोग गरिरहनु भएको छैन भने आफ्ना पुराना पासवर्डलाई इन्क्रिप्टेड फाइलमा सुरक्षित राख्न पनि सक्नुहुन्छ । 

उपलब्ध रिकभरी सम्बन्धी जानकारी हेर्ने गर्नुहोस्

यदि तपाईंले गुगलको रिकभरी सम्बन्धी जानकारी हेर्ने गर्नुभएको छ भने कसैगरी आफ्नो अकाउन्टको पहुँच गमेको खण्डमा आफ्नो पहिचान प्रमाणीकरण (Verify your identity) गर्ने केही छनौटका विकल्प थाहा पाउनु भएको हुनसक्छ ।

यसका लागि आफ्नो गुगल अकाउन्ट पेजमा जानुहोस् र त्यहाँ बायाँतर्फको स्तम्भमा रहेको ‘सेक्युरिटी’मा क्लिक गर्नुहोस् । अब तलतर्फ स्क्रोल गर्नुहोस् र ‘वेज वी क्यान भेरिफाई इट्स यू’ (Ways we can verify it’s you) मा जानुहोस् ।

यदि रिकभरी फोन नम्बर वा रिकभरी ईमेल रजिष्टर गर्नु भएको छ भने त्यस्तो जानकारी यहाँ देखिन्छ । त्यस्तै यदि विगतमा तपाईंले कुनै सेक्युरिटी कोइश्चनको उत्तर लेख्नु भएको थियो भने, यो सूचीमा त्यसको पनि जानकारी देखिन्छ ।

तर यदि तपाईंले त्यसमा क्लिक गर्नु भयो भने त्यहाँ एउटा सूचना देखिनेछ, जसमा गुगलले सेक्युरिटी कोइश्चनको सपोर्ट यस अघि नै बन्द गरेको जानकारी पाउनु हुनेछ । यदि तपाईंसँग माथिको जस्तो कुनै पनि भाग छैन भने त्यसमा कम्तिमा एउटा उपायको रुपमा आवश्यक जानकारी राख्नु उपयुक्त हुन्छ ।

यदि तपाईं साच्चिकै यो विषयमा सावधान रहन चाहनुहुन्छ भने अगाडि बढेर सबै जानकारी राख्नुहोस् । जसको बारेमा हामी यहाँ अगाडि बताउँदै छौं । 

कभरी ईमेल अकाउन्ट सेट गर्नुहोस्

तपाईंको अर्को जिमेल अकाउन्ट, अर्कै ईमेल सेवाप्रदायक कम्पनीको ईमेल अकाउन्ट अथवा आफन्त तथा साथीभाइको ईमेल अकाउन्टलाई आफ्नो रिकभरी ईमेल अकाउन्टको रुपमा राख्न सक्नुहुन्छ । तर याद राख्नुहोस्, तपाईंको त्यस्तो आफन्त वा साथी साइबर सुरक्षामा सचेत व्यक्ति होस् ।

यसका लागि माथिकै जस्तो गरी ‘वेज वी क्यान भेरिफाई इट् यू’ (Ways we can verify it’s you) खण्डमा जानुहोस् र ‘रिकभरी ईमेल’ (Recovery email) मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले रोजेको रिकभरी ईमेल एड्रेस राख्नुहोस् र भेरिफाई (Verify) मा क्लिक गर्नुहोस् ।

यति गरेसँगै गुगलबाट तपाईंले भर्खरै राखेको ईमेल आडीमा छ अंकको भेरिफिकेसन कोड आउँछ । अब आफ्नो ईमेलमा जानुहोस्, उक्त कोड कपी गर्नुहोस् र अघिको रिकभरी पेजमा गएर त्यो कोड राख्नुहोस् । यससँगै तपाईंले एउटा सानो पप-अप देख्नुहुनेछ, जसमा तपाईंको रिकभरी ईमेल भेरिफाइड भएको संकेत हुन्छ । 

रिकभरी फोन नम्बर सेटअप गर्नुहोस्

यसका लागि अघिकै ‘वेज वी क्यान भेरिफाई इट्स यू’ (Ways we can verify it’s you) भएको खण्डमा जानुहोस् र ‘रिकभरी फोन’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् । अब ‘एड रिकभरी फोन’ मा क्लिक गर्नुहोस् र पप-अप बक्समा आफ्नो फोन नम्बर राख्नुहोस् ।

यति गरेसँगै गुगलले तपाईंलाई भर्खरै राखेको मोबाइलमा भेरिफिकेसन कोड म्यासेजको रुपमा पठाउँछ ।  त्यसलाई पप-अप बक्समा राख्नुहोस् । 

आफूले अकाउन्ट सुरु गरेको मिति सम्झिनुहोस्

यदि माथिका सबै विकल्पमा तपाईं असफल हुनु भयो भने गुगलले तपाईंलाई अकाउन्ट तयार पारेको अनुमानित मिति सोध्न सक्छ । धेरैजसोलाई आफूले अकाउन्ट खोलेको मिति खासै याद हुँदैन । त्यसैले आफूले अकाउन्ट खोलेको मिति पत्ता लगाएर त्यसलाई कतै सुरक्षित राख्नुहोस् ।

यस्तो मिति सम्झिने एउटा उपाय भनेको तपाईंको इनबक्समा भएको सबैभन्दा पुरानो ईमेल हो । तर त्यस्तो ईमेल डिलिट गरिसक्नु भएको छ भने चाहिँ केही गाह्रो पर्नसक्छ । चिन्ता नलिनुहोस्, तपाईंसँग अर्को अप्सन पनि छ ।

त्यो भनेको आफ्नो जिमेल खोल्नुहोस् र सेटिङमा गएर ‘फरवार्डिङ एन्ड पीओपी/आईम्याप’ मा जानुहोस् । त्यसमा सुरुमा पीओपी डाउनलोड भित्रको स्टाटसमा गएर प्रारम्भिक मिति हेर्नुहोस् । 

आफ्नो पासवर्ड रिकभर गर्नुहोस्

यदि तपाईंले साच्चिकै आफ्नो पासवर्ड बिर्सिनु भयो अथवा अन्य कारणले अकाउन्टमा पहुँच पाउन सक्नु भएन भने के गर्नुहुन्छ ? पक्कै पनि तपाईं गुगल रिकभरी पेजमा जानुहुन्छ र उपलब्ध प्रश्नको उत्तर दिन थाल्नुहुन्छ ।

यदि तपाईंले यस्तो प्रयास गर्नु भयो भने त्यहाँ उपलब्ध विकल्प सीमित अथवा अपुग भएको लाग्नसक्छ । तर साच्चिकै जिमेल अथवा गुगल अकाउन्टमा रहेको पहुँच गुमाइसक्नु भएको छ भने ‘कान्ट साइन इनटु योर गुगल अकाउन्ट‘ पेजमा गएर उपलब्ध विकल्पहरु अपनाउनुहोस् ।

एकजना पत्रकारले आफ्नो गुगल अकाउन्टमा रहेको पहुँच गुमेको विषयमा भोगेको नराम्रो अनुभव तपाईंले यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ । त्यसैले आफ्नो अकाउन्टमा अहिले समस्या आएको छैन भनेर ढुक्क नबस्नुहोस् । 

जुनसुकै बेला पनि तपाईंको जिमेल अकाउन्टको एक्सेस गुम्न सक्छ । यसर्थ यो सम्भावित जोखिम सामना गर्न तयार रहनुहोस् र आफूसँग पर्याप्त विकल्प कायम रहेको सुनिश्चित गर्नुहोस् । त्यसका लागि यहाँ क्लिक गरेर गुगलको अकाउन्ट रिकभरी चरणहरुबारे थप टिप्स लिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१