close

ज्ञानसँगै सीप सिकाउने १५ निःशुल्क एप

टेकपाना टेकपाना

साउन २१, २०७८ १९:२०

ज्ञानसँगै सीप सिकाउने १५ निःशुल्क एप

काठमाडौं । मोबाइल डिभाइसको आविष्कारसँगै हामीले गर्ने अध्ययन अध्यापनको प्रचलनमा पनि धेरै परिवर्तन आएको छ । सिक्नकै लागि भनेर अब कुनै शैक्षिक संस्था वा तालिम लगायतका गतिविधिमा संलग्न हुनैपर्छ भन्ने प्रवृत्ति कम हुँदै गएको छ ।

तपाईंको स्मार्टफोनले राम्रा फोटा र भिडिओ खिच्नेबाहेक सही प्रयोग गरेको खण्डमा ज्ञानको दायरालाई बढाउन पनि सहयोग गर्छ ।

हुन त मोबाइलको आविष्कारभन्दा धेरैअगाडि नै लर्निङ सफ्टवेयरहरू विकास भइसकेका थिए । तर त्यतिबेला तपाईंले किताब किनेजस्तै सो सफ्टवेयरहरू किन्नपर्थ्यो ।अब भने तपाईंले जुनसुकै क्षेत्रसँग सम्बन्धित जानकारी वा ज्ञानका लागि सफ्टवेयर किन्ने होइन, आफ्नै स्मार्टफोनमा उत्कृष्ट एपहरू डाउनलोड गर्नुहोस् । 

कुनै पनि क्षेत्रका बारेमा बझ्न र सिक्नका लागि डाउनलोड गर्नुहोस् यी १५ नि:शुल्क एप:

१. युडमी (Udemy)

वेबसाइटको विकासदेखि लिएर आफ्नो व्यक्तिगत विकाससम्मको बारेमा विभिन्न कोर्ष दिने अनलाइन सर्भिस हाे, युडमी एप

Cover art

उदाहरणका लागि यदि तपाईं गिटार सिक्न चाहनुहुन्छ भने यो एपमार्फत तपाईंले सहजै गिटार बजाउन सक्नुहुन्छ र यदि तपाईंलाई गिटार बजाउन त आउँछ, तर अझै सिक्न चाहनुहुन्छ भने यो एपमार्फत तपाईंले थप सुधार गर्न सक्नुहुन्छ ।

त्यस्तै नयाँ व्यावसाय सुरु गर्न चाहनुहुन्छ ? अथवा कुनै वेबसाइट विकास गर्न चाहनुहुन्छ भने युडमीमा यी सबै कुरा सिक्नका लागि विभिन्न कोर्ष पाउन सकिन्छ । यो एप तपाईंले सित्तैमा डाउनलोड गर्न सक्नुहुन्छ तर यसमा भएका कोर्षका लागि भने तपाईंले पैसा तिर्नुपर्ने हुन्छ।

२. लिन्डा (Lynda)

लिन्डाले पनि युडमीले जस्तै विभिन्न विषयहरुको कोर्ष सञ्चालन गरिरहेको छ । लिन्डाको वेबसाइटमा भिडिओ प्रोडक्सन र सफ्टवेयर डेभलपमेन्टका साथै अन्य कोर्ष उपलब्ध छन् भने यसको मोबाइल एपमा वेबमा भन्दा पनि थुप्रै कोर्ष रहेका छन् ।

Cover art

यस एपमा उपलब्ध कोर्षहरू तपाईंले आफ्नो उपयुक्त समयअनुसार जहाँबाट पनि र जहिले पनि लिन सक्नुहुन्छ । यसको कुनै तालिका बनाएर कोर्ष लिनुपर्ने भन्ने नियम छैन । त्यस्तै युडमीमा भन्दा यसमा अझ बढी कोर्ष उपलब्ध छन् ।

लिन्डाबाट कोर्ष लिनका लागि भने तपाईंले तपाईंको कोर्ष मासिक हिसाबले सब्स्क्राइब गर्नुपर्ने हुन्छ । यदि तपाईं पहिले कोर्षको परीक्षण गर्न चाहनुहुन्छ भने सबै कोर्षमा सुरुको १० दिनको नि:शुल्क ट्रायलको पनि व्यवस्था गरिएको छ ।   

३. खान एकेडेमी (Khan Academy) 

उत्कृष्ट लर्निङ एपमध्ये अर्को एप हो, खान एकेडेमी । युडमी र लिन्डामा जस्तै यसमा पनि विभिन्न क्षेत्रका कोर्ष लिन सक्नुहुन्छ, त्यो पनि नि:शुल्क । खान एकेडेमी अन्तर्गतका सम्पूर्ण कोर्ष तपाईंले नि:शुल्क पढ्न पाउनुहुन्छ ।

Cover art

हुन त यस एपमा भएका धेरैजसो कोर्षहरू एकेडेमिक कोर्ष जस्तै गणित, विज्ञान र मानविकी संकायका कोर्ष छन् । साथै यसमा कम्प्युटर साइन्ससँग सम्बन्धित कोर्षहरू पनि छन् । 

४. टेड (Ted)

छोटो अवधिको भिडियोमार्फत मान्छेहरूलाई विभिन्न प्रेरणादायी विचार दिने गैरनाफामूलक संस्था टेडले विकास गरेको एप हो यो ।

Cover art

यसमा विभन्न क्षेत्रसँग सम्बन्धित १८ मिनेट वा सोभन्दा कम समयका भिडिओ हुन्छन् । ‘टेड टक्स’ नामक कार्यक्रमका लगभग सम्पूर्ण भिडिओ यो एपमा पाउन सकिन्छ ।

५. लुमोसिटि (Lumosity)

यदि तपाईं आफ्नो शरीरलाई स्वस्थ बनाउन चाहनुहुन्छ भने तपाईं व्यायाम गर्नुहुन्छ । तर यदि तपाईं आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न चाहनुहुन्छ भने के गर्नुहुन्छ? यसको लागि सही बाटो हुनसक्छ लुमोसिटि एप । यो एपमा ब्रेन ट्रेनिङका लागि थुप्रै गेमका सिरिज छन् ।

Cover art

आफ्नो मस्तिष्कलाई चुस्त बनाउन विभिन्न विज्ञहरूको सहयोगमा विकास गरिएको ब्रेन ट्रेनिङका गेमहरू यस एपमा पाइन्छ । सो गेमको सहयोगमा तपाईंले आफ्नो मस्तिष्क विकास गर्न सक्नुहुन्छ ।

यो मस्तिष्कको व्ययाम गराउने एप हो । तपाईंले यो एप पनि नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ तर यसमा भएका कतिपय कोर्ष लिनका लागि भने तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।

६. गुडरिड्स (GoodReads)

आजको डिजिटल युगमा पनि केही सिक्नका लागि किताबको महत्त्व उत्तिनै छ । सिकाइको क्रममा धेरैजसो मान्छेहरूका लागि आज पनि राम्रो माध्यम भनेको किताब नै हो । यद्यपि एकै विषयमा पनि हजारौं किताब बजारमा उपलब्ध हुन्छन् ।

Cover art

तपाईंलाई कुनै विषयको बारेमा केही जान्न मन लाग्यो भने कुन चाहिँ किताब पढ्दा राम्रो हुन्छ भन्ने विषयमा प्रायः जसो दुविधा भएको हुन सक्छ । यस्तोमा सही निर्णय लिनका लागि गुडरिड्सले मद्दत गर्दछ । चार करोडभन्दा बढी सदस्य भएको गुडरिड्सको मुख्य लक्ष्य भनेको नै उपयुक्त किताब उपयुक्त मान्छेको हातमा पार्नु हो ।

तपाईंको रुचि जे विषयमा भए पनि यस एपले तपाईंको रुचि र आवश्यकता अनुसारको किताबको बारेमा तपाईंलाई सुझाव दिन्छ ।

७. डियोओलिङ्गो (Duolingo)

के तपाईं विदेशी भाषा सिक्न चाहनुहुन्छ ? स्पेन, फ्रान्स लगायत अन्य १२ वटा देशका भाषा यो एपमा उपलब्ध छ ।

Cover art

यो एप प्रयोग गरेर तपाईंले उपलब्ध भाषाको आफूअनुकूल समयमा कोर्ष लिन सक्नुहुन्छ । भर्खरै सुरु गरेको होस् वा अलिअलि जान्ने, हरेक प्रकारका सिकारुका लागि यो एपमा फरक-फरक कोर्षहरू उपलब्ध छन् । 

८. स्टडीब्लु (StudyBlue)

के तपाईंले कक्षामा राम्रोसँग पढ्न पाउनु भएको छैन ? अथवा तपाईंले केही कोर्षहरू मिस गर्नुभएको छ ? यदि छ भने यस्तोमा तपाईंले कुनै ट्युशन क्लास पनि लिन सक्नुहुन्छ ।

Cover art

तर यदि तपाईं विद्यार्थी र शिक्षकहरूले नै तयार पारेको शैक्षिक सामाग्री स्व:अध्ययन गर्न चाहनुहुन्छ भने स्टडीब्लु तपाईंका लागि उपयुक्त हुनसक्छ । स्टडीब्लु भनेको एउटा क्राउडसोर्स प्ल्याटफर्म हो, जसले तपाईंका छुटेका कोर्ष पुरा गर्न मद्दत गर्छ ।

यस एपमा तपाईंले आफूलाईं आवश्यक विषयको नोट, अध्ययन सामग्रीलगायत अन्य गाइडहरू पनि पाउन सक्नुहुन्छ । 

९. विकिपेडिया (Wikipedia)

विकिपेडिया तपाईंले सुनिरहेकै नाम हो । सायद तपाईंले पनि धेरै कुरा थाहा पाउनका लागि वेबमा विकिपेडिया प्रयोग गर्नुभएको छ होला । तर यसको मोबाइल एप पनि छ, जसले तपाईंले सहजै कुनै पनि बेला तपाईंको इच्छाअनुसार जानकारी उपलब्ध गराउँछ ।

Cover art

हुन त हरेक कुराको विषयमा जानकारी हुने भए पनि सूचना जोकोहीले सम्पादन गर्नसक्ने हुँदा विकिपेडियालाई त्यति विश्वासिलो मानिदैँन । यद्यपि धेरै समयमा यसले मद्दत भने गर्दछ ।

१०. युट्युव (Youtube)

युट्यव हामी सबैको बीचमा एकदमै चर्चित एप हो र सायदै कसैको मोबाइमा यो एप छैन होला । तर धेरैजसो समय हामी यो एप गीत सुन्न र चलचित्र हेर्न प्रयोग गर्छौं ।

Cover art

योबाहेक यसमा पनि हरेक क्षेत्रको विषयमा थुप्रै जानकारीहरु हुन्छन्, जसको सदुपयोग गरेर तपाईंले आफ्नो ज्ञानको दायरा बढाउन सक्नुहुन्छ ।

११. टिंक: कोडिङ फर किड्स (Tynker: Coding for Kids)

बालबालिकालाई अन्तर्क्रियात्मक तरिकाबाट कम्प्युटर प्रोग्रामिङ र कोडिङ सिकाउने एप हो टिंक । यहाँ उपलब्ध कोर्षहरू बालबालिकाले आफ्नो रुचि र आफ्नो अनुकुल समयअनुसार सिक्न र प्रयोग गर्न सक्छन् ।

Cover art

सबै उपलब्ध कोर्षहरू बिगिनर, मेडियम र एड्भान्स लेभलको छ । प्रोग्रामिङको एउटा लेभल पार गरेपछि एपमा बालबालिकाका लागि पाइथन र जाभास्कृप्टका कोर्षहरू पनि छन् । त्यस्तै बालबालिकाले वेबसाइट, एप र गेमहरू कसरी विकास गर्ने भनेर पनि सिक्न सक्छन् । 

१२. गुगल आर्टस् एण्ड कल्चर (Google Arts & Culture)

यदि तपाईंको रुचि ऐतिहासिक कला र सँस्कृतिमा छ भने गुगल आर्टस् एण्ड कल्चर तपाईंको लागि एकदमै उपयोगी एप हुनसक्छ । यस एपले तपाईंलाई चर्चित म्युजियम र ऐतिहासिक स्थलहरूको ३६० डिग्री भर्चुअल टुर गराउँछ ।

Cover art

यस भर्चुअल टुरमा तपाईंले आफूलाईं मनपरेका चित्र जुम गरेर पनि हेर्न सक्नुहुन्छ । एपमा विभिन्न कलाकारहरूले तयार पारेको विवरणसहितका चित्रहरू पनि देख्न सकिन्छ । त्यस्तै तपाईंले आफ्नै ग्यालरी पनि क्रिएट गर्न सक्नुहुन्छ ।

त्यतिमात्र होइन, यहाँ भएका आर्टहरूका विवरण आफ्नै भाषामा ट्रान्सलेट गरेर सुन्न पनि सकिन्छ । 

१३. कोरा (Quora)

कोरा मोबाइल एप प्रयोग गरेर तपाईंले आफ्नो रुचि भएको विषयलाई ब्राउज गर्न सक्नुहुन्छ र तपाईं आफैंले पनि आफ्ना प्रश्नहरू पोस्ट गर्न सक्नुहुन्छ । तपाईंका प्रश्नसँग सम्बन्धित व्यक्तिहरूले तपाईंलाई प्रतिक्रिया दिन पनि सक्छन् ।

Cover art

यसरी आफ्नो रुचिअनुसारको विषयमा अन्तर्क्रियात्मक रुपमा सिक्न र बुझ्न सकिन्छ । त्यस्तै तपाईंले आफूले जानेका विषयमा जवाफ दिएर अरुलाई सूचना दिन पनि सकिन्छ । 

१४. इडीएक्स (EdX)

विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको कोर्षहरू नि:शुल्कमा पढ्ने एउटा राम्रो माध्यम हो, इडीएक्स एप । यो कुनै शैक्षिक कार्यक्रमभित्र पर्दैन । तर तपाईंको रुचि भएको विषयमा भर्चुअल कक्षामा सहभागी भने हुन सक्नुहुन्छ ।

Cover art

यसबाट कुनै डिग्री भने उपलब्ध हुँदैन । यस एपमा बायोलोजी, केमेस्ट्री, बिजनेस म्यानेजमेन्ट, कम्प्युटर साइन्सलगायत दुई हजारभन्दा बढी कोर्षहरू उपलब्ध छन् । 

१५. स्टार चार्ट (Start Chart)

यदि तपाईं अन्तरिक्षमा रुचि राख्नुहुन्छ भने स्टार चार्ट एप तपाईंको सहयात्री बन्न सक्छ । यो एप डाउनलोड गरेर आफ्नो फोन वा अरु डिभाइस आकाशतिर देखाउनुहोस् ।

Cover art

त्यसपछि यो एपले तुरून्तै तपाईंले हेर्नुभएको स्थानको विषयमा सम्पूर्ण विवरण दिन्छ । यस एपबाट तपाईंले अन्तरिक्ष, अर्विट, तारा, ग्रह-उपग्रहहरू लगायतको विषयमा विवरण प्राप्त गर्न सक्नुहुन्छ । 

इन्डिपेन्डेन्स युनिभर्सिटीबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१