close

अहिलेसम्मकै पातलो फ्ल्यागशिप स्मार्टफोन मोटोरोला एज एस प्रो सार्वजनिक

टेकपाना टेकपाना

साउन २२, २०७८ ९:१३

अहिलेसम्मकै पातलो फ्ल्यागशिप स्मार्टफोन मोटोरोला एज एस प्रो सार्वजनिक

काठमाडौं । मोबाइल निर्माता कम्पनी मोटोरोलाले आफ्नो नयाँ स्मार्टफोन मोटोरोला एज एस प्रो सार्वजनिक गरेको छ । कम्पनीले पहिलो चरणमा चिनिया बजारमा यो फोन सार्वजनिक गरेको हो ।

निकै पातलो र कम तौल रहेको यो स्मार्टफोन सबैभन्दा पातलो फ्ल्यागशिप स्मार्टफोन भएको मोटोरोलाको दाबी छ । मोटोरोला एज एस प्रोको थिकनेस (बाक्लोपन) जम्मा ७.९९ एमएम रहेको छ भने यसको तौल १८९ ग्राम छ ।

तीन कलर अप्सन तथा चार स्टोरेज भेरियन्टमा यो फोन सार्वजनिक भएको हो । आज रातिदेखि चिनियाँ बजारमा यसको प्रि बुकिङ सुरु हुँदैछ । तर फोनको बिक्री भने १० अगस्ट बिहान १० बजेबाट मात्र सुरु हुने बताइएको छ ।

मोटोरोला एज एस स्मार्टफोन यसै वर्षको सुरुवातमा सार्वजनिक गरिएको थियो । जुन स्नापड्रागन ८७० प्रोसेसर भएको पहिलो फ्ल्यागशिप स्मार्टफोन हो । तर अब कम्पनीले अहिले आएर मोटोरोला एज एस प्रो स्मार्टफोन ल्याएको हो ।

मूल्यको कुरा गर्ने हो भने ६ जीबी र्‍याम तथा १२८ जीबीका लागि ३७१ डलर (करिब ४४ हजार रुपैयाँ), ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको ४१८ डलर (करिब ५० हजार रुपैयाँ), ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको ४६४ डलर (करिब ५५ हजार रुपैयाँ) र १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको ५११ डलर (करिब ६६ हजार रुपैयाँ) तोकिएको छ ।

मोटोरोला एज एस प्रो स्मार्टफोनमा ६.७ इन्चको १०-बिट ओलेड डिस्प्ले दिइएको छ । जसको रिफ्रेश रेट १४४ हर्ज तथा टच स्याम्पलिङ रेट ५७६ हर्ज रहेको छ । यो डुअल पन्चहोल एलसीडी प्यानलका साथ आएको छ ।

एचडीआर १० प्लस सपोर्ट रहेको यो फोनमा स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ । त्यस्तै फोनमा १२ जीबी टर्बो एलपीडीडीआर ५ र्‍याम तथा ५६ जीबी टर्बो यूएफएस ३.१ स्टोरेज दिइएको छ । फोनको क्यामेराको कुरा गर्ने हो भने मोटोरोला एज एस प्रोमा पछाडि भागमा १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा राखिएको छ ।

त्यसका साथै ८ मेगापिक्सेलको लेन्स र १६ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स पनि यसमा दिइएको छ । साथै फोनमा एउटा म्याक्रो लेन्स समेत पाउन सकिन्छ ।

सेल्फीका लागि फोनमा ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ भने ब्याकअपका लागि ४५२० एमएएच क्षमताको ब्याट्री दिइएको छ । जसमा ३० वाटको टर्बोपावर फास्ट चार्जिङको सपोर्ट समेत छ । यो फोन एन्ड्रोइड ११ मा आधारित एमवाईयूआई २.२ मा आधारित छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१