close

दूरसञ्चारका २ तिहाई गुनासा इन्टरनेटसम्बन्धी

टेकपाना टेकपाना

साउन २२, २०७८ १६:२१

दूरसञ्चारका २ तिहाई गुनासा इन्टरनेटसम्बन्धी

काठमाडौं । दूरसञ्चार क्षेत्रमा दर्ता हुने गुनासो मध्य धेरै जसो इन्टरनेटसँग सम्बन्धित रहेको पाइएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले गत आर्थिक वर्ष २०७७/०७८ मा दर्ता भएका गुनासामध्ये ७० प्रतिशत भन्दा बढी इन्टरनेटसँग सम्बन्धित रहेको देखाएको हो ।

प्राधिकरणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा दूरसञ्चार सेवा सम्बन्धी कुल तीन सय नौ ओटा गुनासा दर्ता भएका थिए । त्यसमध्ये इन्टरनेट सेवा सम्बन्धित दुई सय १९ तथा टेलिफोन सेवा सम्बन्धित ९० ओटा गुनासा रहका छन् । इन्टरनेटतर्फ इन्टरनेट नचलेको, इन्टरनेट स्पीड घट्ने, इन्टरनेट सुस्त चल्ने, इन्टरनेट प्याकेज, ब्याण्डविथसँग सम्बन्धित गुनासा सबैभन्दा बढी रहेका छन् ।

त्यस्तै भ्वाइस अर्थात टेलिफोन सेवा तर्फ बिलिङ, ब्यालेन्स काटिने, सिमकार्ड, नेटवर्क समस्या, डाटा प्याकेज समस्या, रोमिङ, ल्यान्डलाइनका विषयमा गुनासा दर्ता भएको प्राधिकरणले जनाएको छ । जसमा गएको असारमा सबैभन्दा बढी गुनासा दर्ता भएको छ । असारमा मात्रै ७० ओटा गुनोसा दर्ता भएको प्राधिकरणले जनाएको छ । भने, अन्य महिनामा १५-२० ओटाका दरले गुनासा दर्ता हुने गरेको छ ।

दर्ता भएको कुल गुनासा मध्य सबैभन्दा बढी नेपाल टेलिकमसँग सम्बन्धित रहेका छन् । तथ्याङ्क अनुसार गत आवमा नेपाल टेलिकमको नाममा ८२ ओटा गुनोसा दर्ता देखिन्छ । भने, दोस्रोमा इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको नाममा सबैभन्दा बढी गुनासो दर्ता भएको छ ।

क्लासिक टेकको विषयमा ५४ ओटा गुनासो दर्ता हुँदा तेस्रोमा रहेको वर्ल्डलिंक नाममा ५२ ओटा गुनासा दर्ता भएको छ । भने, भायानेटको नाममा ३५, सुबिसुको नाममा २८ र एनसेलको नाममा २६ ओटा गुनासा दर्ता भएका छन् ।

यसरी दर्ता हुने गुनासो मध्य धेरै जसो गुनासा प्राधिकरणले गत पुस १ गतेबाट सञ्चालनमा ल्याएको ‘कम्प्लेन ह्यान्डलिङ सिस्टम’ बाट दर्ता भएको प्राधिकरणले जनाएको छ । तथ्याङ्क अनुसार कुल दर्ता भएको गुनासा मध्य ५२.८४ प्रतिशत कम्प्लेन ह्यान्डलिङ सिस्टमबाटै दर्ता भएको छ ।

भने, ४४.४८ प्रतिशत इमेलमार्फत र बाँकी फोन, कार्यलयमा पुगेर निवेदन दिने तथा सामाजिक सञ्जालमार्फत भएका छन् । यसरी दर्ता भएका गुनासा मध्य प्राधिकरणबाट सत प्रतिशत नै सम्बोधन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यहाँबाट सम्बोधन भएर सेवा प्रदायमा पुगेका पनि ९० प्रतिशत भन्दा बढी गुनासा सम्बोधन भइसकेको सेवा प्रदायकबाट जानकारी प्राप्त भएको छ ।

बाँकी रहेका १० प्रतिशतको हकमा सेवा प्रदायकबाट जवाफ आउन बाँकी रहेको छ । सेवा प्रदायकबाट जवाफ नआएको खण्डमा उनीहरूलाई गुनासा सम्बन्धमा भएको प्रगति बुझाउनका लागि निर्देशन दिएर भएपनि तत्कालै सम्बोधन गराइने प्राधिकरणले जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१