काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल साथै ‘इडियुरोम’ सेवामा जोडिएको छ । विश्वव्यापी अनसुन्धान तथा शैक्षिक सञ्जालमा आवद्धताले केन्द्रीय क्याम्पसका विभिन्न संकायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाइ थप सुदृढ गर्ने विश्वास लिइएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जाल (ट्रान्स युरोसिया इन्फरमेसन नेटवर्क) नेपालमा जोडिएको थियो । हालसम्म नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय लगायत २५ वटा संघ संस्थाहरु यस सञ्जालमा आवद्ध भएका छन् ।
इडियुरोम अनुसन्धान र शैक्षिक संघसंस्थाका व्यक्तिलाई विश्वका अन्य संघसंस्थामा पुग्दा सहजै नेटवर्क पहँच उपलव्ध गराउने विश्वव्यापी सेवा हो । जस्तै त्रिभुवन विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापकहरु नेपालकै वा विदेशको इडियुरोम सेवामा जोडिएको अर्को विश्वविद्यालयमा पुग्दा इन्टरनेट लगायतका सेवाहरुमा स्वतः पहँच स्थापित हुन्छ ।
आफ्नो संस्थामा प्रयोग हुने पासवर्डबाट नै इन्टरनेट लगायतका सेवामा जोडिन सकिनेछ । उदाहरणका लागि तपाईंले त्रिविबाट इडियोरोमको सेवा लिनुभएको छ भने त्रिविले दिने युजरनेम र पासवर्ड प्रयोग गरी विश्वभर इडियुरोममा आवद्ध अनुसन्धान संस्था, विश्वविद्यालय लगायतमा सहजै नेटवर्क पहुँच पाउन सकिन्छ ।
सन् २००२ देखि युरोपबाट सुरु भएको इडियुरोम सेवाको मुख्य उद्देश्य अनुसन्धान र शिक्षाका क्षेत्रमा क्रियाशिल संघ संस्था र व्यक्तिबीच इन्टरनेट लगायतका सेवाहरुमा सहज पहुँच स्थापित गरी अनुसन्धान र शैक्षिक क्रियाकलापलाई सुदृढ गर्नु रहेको छ ।
इडियुरोम सेवा हाल १०० भन्दा बढी देशमा उपलब्ध भइसकेको छ ।
नेपालका शैक्षिक तथा अनुसन्धानसँग सम्बन्धित संघ संस्थाहरुलाई एक आपसमा जोडी अनुसन्धान र सहकार्यको वातावरण तयार पार्ने, विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्धता गर्ने तथा इडियुरोम सेवामा जोड्ने कामको नेतृत्व नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गर्दै आएको छ ।
विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएसँगै त्रिविका विद्यार्थी, अनुसन्धानकर्मी एवं प्राध्यापकले अनुसन्धान तथा शैक्षिक सञ्जालको प्रयोगवाट अन्य विश्वविद्यालयहरुसँग नेटवर्कमा आधारित सहकार्यलाइ थप सुदृढ हुने सूचना प्रविधि एवं नवप्रवर्तन केन्द्रका निर्देशक प्रा. डा. सुवर्ण शाक्ले बताए ।
टेकपानासँग कुरा गर्दै उनले भने, ‘अब देशभित्र र देशबाहिर इडियुरोम सेवा भएका संघ संस्थामा पुग्दा त्रिविका प्रयोगकर्ताहरुले साथै इडियुरोम सेवामा आवद्ध भएका अन्य संघ संस्थाका व्यक्तिहरूले हामीकहाँ आइपुग्दा स्वतः नेटवर्कमा पहुँच स्थापित हुनेछ । ’
नेपालमा अनुसन्धान र शिक्षा क्षेत्रको विकासमा यसले मद्धत गर्ने विश्वास उनको छ ।