लुना शर्मा/- काठमाडौं । नेपाली बजारमा हालै डेल इन्सपिरन १४ ५४१० (Inspiron 14 5410) मोडलको नयाँ ल्यापटप सार्वजनिक भएको छ । नयाँ डिजाइन र फिचरसहित ५४१० सिरिजमा आएको यो ल्यापटप विण्डोज १० होम अपरेटिङ सिस्टममा उपलब्ध छ ।
कम्पनीले बजारमा यसअघि इन्सपिरन १४ ५४०६ (Inspiron 14 5406) ल्याएको थियो । यसको अपग्रेडेड भर्सनको रूपमा कम्पनीले इन्सपिरन १४ ५४१० सार्वजनिक गरेकाे हाे ।
मैले यो मोडल प्रयोग गरेको एक साता भयो । आज म ल्यापटप चलाएको आधारमा यसकाे रिभ्यु गर्दै छु ।
एक्सेसोरिजको कुरा गर्दा यो ल्यापटप डेलको बक्समा प्याक भएर आउँछ । जसमा एउटा इन्टेलको ब्याचिङ पनि देख्न सकिन्छ । साइडमा हेर्ने हो भने मोडेलको नम्बर, कलर, प्रोसेसर, र्याम, एचडीडी लगायतकाे जानकारी दिइएको छ ।
यसबाट यो थाहा हुन्छ कि यो ल्यापटपमा इन्टेलको कोर आई सेभेन प्रोसेसर, १६ जीबी र्याम र ५१२ जीबी एसएसडी रहेको छ ।
अब बक्सभित्रको एक्सेसोरिजको कुरा गर्नुपर्दा, सुरुमा बक्स खोल्ने बित्तिकै ‘स्टाइलस’ देखिन्छ, जसलाई सजिलोका लागि ‘पेन’ भनेर बुझ्न पनि सकिन्छ ।
यो स्टाइलस् ब्याट्रीमा आधारित हुन्छ । जसमा ‘फोर ए’ ब्याट्रीको प्रयोग हुन्छ । यसबाट सजिलै ल्यापटपमा लेख्न, नोट टिप्न र स्केच गर्न सकिन्छ ।
यो ल्यापटपमा ‘टु इन वान’ फिचर भएकाले टच स्क्रिनको प्रयोगका लागि उक्त पेन एउटा छुट्टै बक्समा राखेर दिइएको हुन्छ ।
यसका साथै युजर म्यानुअल, एडप्टर र पावर कोर्ड पाइन्छ । चार्जरको कुरा गर्नुपर्दा ६५ वाटको एडप्टर हुने हुनाले चर्जिङ छिटो हुन्छ ।
बडी डिजाइन
ल्यापटपको माथिल्लो तह प्लाटिनम सिल्भरसँग मेट फिनिसिङ गरिएको छ । पछाडिको तहमा चाहिँ ‘टाईटन ग्रे’ रहेको छ । जसका कारण झट्ट हेर्दा ल्यापटप आकर्षक देखिन्छ ।
ल्यापटपको डिजाइनका लागि दुई वटा सामग्रीको प्रयोग गरिएको छ । दुई साइडमा आल्मुनियमसँग मेटल अनि फाइबर बडी जडित छ ।
यो ल्यापटपको तौल १.४६ केजी रहेको छ । यात्रा गर्दा साथमा लिएर हिँड्दा अथवा हातमा बोक्द पनि त्यति गह्रौं महसुस हुँदैन । यसर्थ यो ल्यापटप प्रयोगको लागि छरितो र हेर्दा पनि आकर्षक छ ।
यस ल्यापटपमा यूएसबी टाइप सी पोर्टसँगै, दुई वटा यूएसबी ३.२ जिन १ पोर्ट्स पनि उपलब्ध छ । डेटा ट्रान्सफर एकदम सजिलो र छिटो हुन्छ । त्यसैकाे साइडमा चर्जिङ पोर्ट, एचडीएमआई पोर्ट अनि टाइप सी पोर्ट पनि छ ।
टाइप सी पोर्ट मल्टिफङ्सनल पोर्ट रहेको छ, जसबाट डेटा ट्रान्सफर मात्र नभई ल्यापटपलाइ चार्ज पनि गर्न सकिन्छ । उक्त पोर्टले डिस्प्ले पोर्ट र पावर डेलिभरीको काम गर्दछ । त्यसैगरी यो ल्यापटपमा माइक्रो एसडी कार्ड स्लट पनि उपलब्ध छ ।
चार्जिङ पोर्टको साइडमा इन्डिकेसनको लागि लिड पनि दिइएको छ । जसले ल्यापटप चार्ज भए/नभएको जानकारी दिन्छ । लिड खुल्ला सेन्सर भएकाले ल्यापटपको लिड माथितिर लग्नासाथ ल्यापटप स्वतः खुल्दछ । पासवर्डको रुपमा फिङ्गरप्रिन्ट रजिष्ट्रर गरी अनलक गर्न सकिन्छ ।
डिस्प्ले
अघिल्लो जेनेरेसनको इन्सपिरन ५४०६ मोडेलमा ‘थ्री टाइम्स मोडुलेक्स टेक्नाेलाेजी’ डिस्प्ले थियो । तर यसमा डेलले पुरै चार साइजको साँघुरो बेजल डिस्प्ले दिएको छ । जसमा स्क्रिन ठूलो देखिनुका साथै क्वालिटी र प्रस्तुति राम्रो देखिन्छ ।
१९२०x१०८० रेजुलाेसनमा ६० हर्ज डिस्प्ले रहेको ल्यापटपमा ट्रु लाइफ डिस्प्ले रहेकाले कलर पनि एकदमै आकर्षक देखिन्छ । फोटो अथवा भिडिओ हेर्दा प्रत्यक्ष जीवनमा हेरिने कलरहरु जस्तो महसुस हुन्छ ।
यो ल्यापटपको ग्लोसी डिस्प्ले हेर्नका लागि निम्न मोड सेटअप गर्न सकिन्छः
ल्यापटप मोड
टेन्ट मोड
स्ट्याण्ड मोड
ट्याब्लेट मोड
उल्लिखित चारओटै मोडहरु सजिलै चलाउन सकिन्छ । परिवर्तन गर्न मिल्ने मोडहरु भएकाले यो ल्यापटप एकदम लक्जरियस छ भन्ने बुझिन्छ ।
ल्यापटप मोड भनेको सामान्य रुपमा प्रयोगकर्ताहरुले चलाइरहेकै अवस्था जस्तो भयो भने टेन्ट मोडबाट कुनैपनि प्लेन सर्फेसमा ल्यापटपमा टेन्टजस्तो फोल्ड दिएर किताब पढ्न, नोटहरु हेर्न र स्केच गर्न पनि मिल्दछ ।
स्ट्याण्ड मोड चाहिँ बेडमा पल्टिएर फिल्महरु हेर्नको लागि सजिलो हुन्छ । यसो गर्दा एउटा ट्याब्लेटलाई स्ट्याण्डमा राखेर हेरेजस्तो महसुस हुन्छ ।
ट्याब्लेट मोड विशेषगरी गेम खेल्न र ड्रइङ गर्नको लागि उपयुक्त हुन्छ ।
यो ल्यापटपले १४ इन्च आईपीएस टच स्क्रिन ट्याब्लेट मोड दिन्छ । जसमा स्टाइलसले माउस टचको काम गर्छ र यसरी ल्यापटप चलाउँदा ट्याब्लेट किबोर्ड पनि पपअप हुन्छ ।
स्केच गर्न र इल्युस्ट्रेटर मा डिजाइनहरु, ड्रइङहरु बनाउनका लागि भने यो ल्यापटपले ‘टु इन वान’ को सुविधा दिएको छ । यो ल्यापटपमा भएको टु इन वान फिचरका कारण ट्याब्लेट र स्केच प्यादड छुट्टै किनिरहनुपर्ने अवस्था आउँदैन ।
२१० निट्सको ब्राइटनेस भएका कारण, इन्डोर प्रयोजनका लागि सहज छ, तर आउटडोर प्रयोजनका लागि भने असहज हुनसक्छ ।
यस ल्यापटपमा इन्टेल आइरिस ग्राफिक्सको साथमा २ जीबी NVIDIA® GeForce® MX350 ग्राफिक्स रहेको छ । जुन गेमिङका लागि न्यूनतम चाहिने सम्भावित ग्राफिक्स हो । त्यसैले सामान्य भिडियो इडिट र गेम खेल्नका लागि ल्यापटपमा ल्याग हुने समस्या आउँदैन ।
किबोर्ड
यो ल्यापटपमा भएको किबोर्ड ब्याकलिड किबोर्ड हो, जसका की ९ प्रतिशतले फराकिलो रहेको छ । यसर्थ लेखन सहज र टाइपिङ छिटो हुन्छ ।
ट्रयाक प्याड
प्रिसाइसन ट्रयाकप्याड भएकाले मज्जाले जुम-इन, जुम-आउट गर्न सकिन्छ । त्यसमाथि यसमा डाइमण्ड-कट भएर समग्रमा लकलाई बढाएको छ ।
ब्याट्री
३ सेल ब्याट्रीमा ४१ वाट प्रतिघण्टाको ब्याट्री रहेको छ । एकपटक चार्ज गरिसकेपछि ६/७ घण्टा राम्रोसँग ब्याकअप दिन्छ । डेलले ‘एक्सप्रेस चार्ज’ को विकल्प दिएकाले यसमा ६० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुन्छ । यसर्थ ब्याट्रीमा निर्धक्क हुन सकिन्छ ।
मेमोरी
यसमा ८ जीबी र १६ जीबी गरी दुई वटा भेरिएन्टको मेमोरी उपलब्ध छ । यसको साथसाथै ५१२ जीबी एसएसडी रहेको छ । यदि यो स्टोरेज कम लागेको खण्डमा १ टीबी सम्मको एक्स्टर्नल स्टोरेज पनि प्रयोग गर्न सकिन्छ ।
हार्डवेयर कन्फिगरेसन
ल्यापटपमा 11th generation intel core i7 1165g7 tiger lake छ , जुन लेटेस्ट प्रोसेसरमध्ये एक हो ।
यो प्रोसेसरमा ४ कोर ८ थ्रेड र ८ एमबी केच मेमोरी पाउन सकिन्छ । ल्यापटप चलाउँदा, गेम खेल्दा अथवा कुनै हेभी सफ्टवेयर चलाउँदा कुनै किसिमले ल्याग हुँदैन ।
सफ्टवेयर कन्फिगरेसन
अपरेटिङ सिस्टम विन्डोज १० को सपोर्टमा चलेको यो ल्यापटपमा माइक्रोसफ्टको सफ्टवेयर २०१९ पनि राम्रोसँग चल्छ । यसर्थ माइक्राेसफ्ट वर्ड, पावरपोइन्ट र एक्सल राम्रोसँग सित्तैमा चलाउन सकिन्छ ।
यसका साथै डेलले १५ महिनाको म्याकफी एन्टीभाइरस उपलब्ध गराएकाले भाइरसको डर हुँदैन । साथै, यो ल्यापटपमा चाडै आउन लागेको विन्डोज ११ पनि स्वतः अपडेट हुने डेलले जनाएको छ ।
क्यामेरा
यसमा सीएमओएस सेन्सर प्रविधि भएको एचडी आरजीबी फ्रन्ट क्यामेरा छ । यो वेबक्याम ०.९२ मेगापिक्सेलको छ, भिडियो कल कन्फरेन्स कल गर्नका लागि त ठीकै छ, तर लाइभ स्ट्रिम गर्न अथवा गेमिङ च्यानल चलाउनका लागि चाहिँ एउटा कृत्रिम लाइटको प्रयोग गर्दा नै राम्रो देखिन्छ ।
यसम ७२० मा ३० एफपीएसमा भिडियो रेकर्ड गर्न मिल्छ । ल्यापटपको क्यामेरा क्वालिटी फोटो/भिडियो खिच्न उत्कृष्ट नै नभए पनि काम चलाउ भने छ ।
अडियो
अडियो कन्ट्रोलरको कुरा गर्नुपर्दा, यो ल्यापटपले स्टेरियो कन्भर्सन सपोर्ट गर्छ । यसमा दुई वटा स्पिकर छन्, आन्तरिक र बाह्य । इन्टर्नल अडियो इन्टरफेसले हाइ डेफिनेसन अडियो उपलब्ध गराउँछ भने एक्सटर्नलले ग्लोबल हेडसेट ज्याक उपलब्ध गराउँछ ।
सामान्यतया स्पिकर अथवा हेडफोन लगाएर ल्यापटपले उपलब्ध गराउने साउण्ड क्वालिटी एकदम राम्रो छ ।
फिङ्गरप्रिन्ट
यो ल्यापटपमा क्यापासिटिभ फिङ्गरप्रिन्ट सेन्सर टेक्नोलोजी रहेको छ । आफ्नो फिङ्गरप्रिन्ट रजिष्टर गरेपछि पासवर्ड बिर्सिने डर नहुनुका साथै यो सुरक्षित पनि छ ।
अपेक्षा गरिएका केही कुरा
यो ल्यापटपमा भएका अन्य फिचरहरुको तुलनामा वेबक्याम त्यति उत्कृष्ट भने छैन, ठीकठाक नै छ । ब्राइटनेस पनि २१० निट्सको मात्र नभई अलि बढी भएको भए राम्रो हुन्थ्यो ।
यसमा अर्को समस्या हिटिङमा देखिएको छ । लामो समयसम्म पोल्नेगरी तातेको नभएपनि तातिरहेको महसुस हुने हुनाले यसलाई समस्याको रुपमा लिन सकिन्छ ।
टु-इन-वान ल्यापटप भएको ओएस अली अनुकूल नभएको जस्तो छ । कहिले काहिँ ल्यान्डस्केपबाट पोट्रेटमा स्क्रिन सिफ्ट गर्दा एपहरुको नोटिफिकेसन आश्चर्यजनक लाग्दछ ।
पानी र फोहोर प्रतिरोधी भएपनि यो ल्यापटपलाई त्यति सामान्य रुपमा लिन भने मिल्दैन । टच स्क्रिन फिङ्गरप्रिन्ट भएकोले यस ल्यापटपलाई लग्जरियस र महत्वपूर्ण मान्न सकिन्छ । यो ल्यापटप चलाउँदा राम्रो सावधानी अपनाउनु पर्ने देखिन्छ ।
लक्षित प्रयाेगकर्ता
यो ल्यापटप (१६ जीबी) को नेपाली बजार मूल्य रु. एक लाख ६५ हजार दुई सय रहेको छ । यो ल्यापटप किन्ने/किन्ने त आवश्यकतामा निर्भर गर्दछ ।
यसो हेर्दा यो ल्यापटपको टार्गेट अडियन्समा कलाकारहरु, इन्जिनियर, आर्किटेक्ट, ग्राफिक डिजाइनर, कन्टेन्ट क्रियटर, ब्लगर, इल्युसट्रेटर, फोटोरभिडियो इडीटर र यात्रामा काम गरिरहनुपर्नेहरु पर्दछन । यसको ३६० डिग्री हिंगले धेरै कामहरु सजिलो पारिदिन्छ ।