close

चिप अभावका कारण ४० प्रतिशत उत्पादन घटाउँदै टोयोटा

टेकपाना टेकपाना

भदौ ५, २०७८ १०:४९

चिप अभावका कारण ४० प्रतिशत उत्पादन घटाउँदै टोयोटा

काठमाडौं । विश्वव्यापी रुपमा चिप अभाव भएपछि जापानी कार कम्पनी टोयोटाले सेप्टेम्बर महिनामा विश्वभर आफ्नो उत्पादन ४० प्रतिशतले घटाउने तयारी गरेको छ ।

संसारकै सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले अर्को महिनामा करिब नौ लाख कार उत्पादन गर्ने लक्ष्य राखेको थियो । यद्यपि चिपको अभावका कारण कम्पनीले सो लक्ष्यलाई घटाएर पाँच लाख ४० हजार कार उत्पादन गर्न बताएको छ ।

त्यस्तै विश्वको दोस्रो ठूलो कार उत्पादक कम्पनी फक्सवागनले पनि आफ्नो उत्पादन घट्नसक्ने बताएको छ । त्यस्तै फोर्ड, निशान, डेमलर, बीएमडब्लू र रेनल्ट जस्ता कम्पनीहरूले पनि चिप अभावकै कारण आफ्नो उत्पादन पहिले नै घटाइसकेको छ ।

टोयोटाले भने आज सम्म यो अभावको सामाना गर्दै आएको थियो । फ्रान्स, चेक रिपब्लिक र टर्कीमा हुने समर सटडाउनलाई एक हप्ता लम्बाएर कम्पनीले अन्य क्षेत्रको उत्पादनमा सन्तुलन गरिरहेको थियो ।

नयाँ बन्ने कारहरूमा दर्जनौँ माइक्रोचिप राख्ने गरिन्छ । एक दशकअगाडि आएको फुकुसिमाको भूकम्प र सुनामीपछि आफ्नो व्यावसायलाई निरन्तरता दिन लागि भन्दै दिगो रणनीति अनुसार टोयोटाले भने चिप स्टोर गरेको थियो ।

फलस्वरुप विश्वव्यापी रुपमा चिप अभाव हुदाँ पनि कम्पनीलाई कुनै असर परेको थिएन । तर अब भने यो समस्या टोयोटाले पनि भोग्नुपर्ने संकेत देखिएको छ । यदि महिना भित्र कम्पनीले जापान र अन्य केही देशहरूका उत्पादनलाई घटाउने भएको छ । जसमध्ये एसिया र अमेरिका गरेर सबैभन्दा धेरै ३६०,००० कारको उत्पादन सेप्टेम्बर महिनामा घटाउने भएको छ ।

कोरोना महामारीको कारण बजारमा चिप प्रयोग हुने सामग्री जस्तै फोन, टेलिभिजन तथा गेमिङ सामग्रीहरूको माग बढेको छ । यसका कारण बजारमा चिप अभाव भएको हो । कार उत्पादनदेखि लिएर अन्य ससाना सामग्रीहरूको उत्पादनमा पनि कमी आएको छ । चिप अभावको विषयमा सबैभन्दा सुरुमा एप्पलले गत वर्ष चेतावनी दिएको थियो । त्यसलगत्तै एकपछि अर्को गर्दै टेक्नोलोजी कम्पनीहरूले चिप अभावका कारण उत्पादनमा असर गरेको बताएका थिए ।

गत महिना मात्र चिप उत्पादक कम्पनी इन्टेलका सीईओ प्याट जेलसिङगरले चिप अभावको स्थिति थप विग्रदै जाने बताएको थियो । उनले चिप आपूर्ति सामान्य अवस्थामा आउन अझै एकदेखि दुई वर्ष लाग्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१