काठमाडौं । ह्याशट्याग जस्टिस फर लालबहादुर (#JusticeForLalBahadur) अभियानले अहिले सामाजिक सञ्जाल तताएको छ । फेसबुक, टिकटक, ट्वीटरलगायतमा यस अभियानबारे एक महिनायता सयाैं पोस्ट शेयर भएका छन् । आखिर कसरी सुरु भयो त सामाजिक सञ्जालमा ह्याशट्याग जस्टिस फर लालबहादुर अभियान ?
गोपालराज भनिने लालबहादुर बिक इटहरीका स्थानीय हुन् । उनी अहिले १८ करोडभन्दा बढी रुपैयाँ ठगी भएको एउटा घटनामा मुछिएर सुनसरीको झुम्का कारागारमा कैद सजाय भोगिरहेका छन् । उनी काम गर्दै आएको ज्वेलर्सका सञ्चालकको बदमासीमा उनी संलग्न भएको भन्दै जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको हो ।
लाल बहादुरलाई तीन करोड १४ लाख ३३ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनाइएको छ । आफूलाई नगरेको गल्तीको सजाय भोग्नुपर्ने भएपछि बिकले विभिन्न मिडियामा आफूलाई फसाइएको कुरा बाहिर ल्याए ।
त्यसपछि मंसिर २२ गते उनले आफू उक्त कार्यमा संलग्न नरहेको भन्दै टिकटकमा भिडिओ सार्वजनिक गरे । साथै विभिन्न टिकटकरमाझ गएर आफूलाई सहयोग गर्न माग गरे । अहिले उक्त भिडिओलाई विभिन्न माध्यममा शेयर गर्दै लालबहादुर बिकलाई न्याय दिन माग गरिएको छ ।
यसरी गत महिनाबाट सुरु भएको यो अभियानमा अहिले सामाजिक सञ्जालबाट जोडिने क्रम जारी छ । उनलाई न्याय दिलाउन दबाब दिने उद्देश्यले #JusticeForLalbBahadurBK, #JusticeForLalBahadur अभियान सञ्चालन गरी पोस्ट भइरहेकाे छ ।