close

भारतमा 'ग्रीन हाइड्रोजन मिसन' अनुमोदन, वार्षिक ५० लाख टन हाइड्रोजन उत्पादन गर्ने उद्देश्य

टेकपाना टेकपाना

पुस २१, २०७९ १२:५९

भारतमा 'ग्रीन हाइड्रोजन मिसन' अनुमोदन, वार्षिक ५० लाख टन हाइड्रोजन उत्पादन गर्ने उद्देश्य

काठमाडौं । भारत सरकारले अन्ततः राष्ट्रिय हरित हाइड्रोजन मिसन अनुमोदन गरेको छ । भारतलाई हरित हाइड्रोजन उत्पादनका लागि विश्वकै हब बनाउने उद्देश्यले याे परियाेजना औपचारिक रूपमा स्वीकृत गरिएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार एक खर्ब ९७ अर्ब ४४ करोड भारतीय रुपैयाँ लागतकाे हाइड्राेजन परियाेजना  बुधबार केन्द्रीय मन्त्रीपरिषद्ले पारित गरेको छ । विशेषगरी हरित हाइड्रोजनका लागि निर्यात अवसरहरू सिर्जना गर्ने उद्देश्यले याे परियाेजना सञ्चालन गर्न लागिएकाे हाे ।

पेट्रोलयम इन्धनका लागि भारत अन्य देशमा निर्भर छ । उक्त निर्भरतालाई कम गर्न, ऊर्जा क्षेत्रमा डिकार्बोनाइजेसन गर्न र स्वदेशी उत्पादन क्षमताको विकास गर्न हरित हाइड्रोजन मिसन ल्याइएको हो । यसको अन्तिम उद्देश्य भनेको हाइड्रोजन प्रयोग गरेर अर्थतन्त्र सुदृढ बनाउनु रहेको छ ।

हाइड्रोजन इन्धन इलेक्ट्रोलाइसिस नामक विद्युतीय प्रक्रियामार्फत पानी विभाजन गरेर बनाइन्छ, जसमा इलेक्ट्रोलाइजर उपकरण प्रयोग गरिन्छ । सो इलेक्ट्रोलाइजर सञ्चालन गर्न नवीकरणीय ऊर्जाको प्रयोग हुन्छ ।

नवीकरणीय ऊर्जा भनेको त्यस्तो ऊर्जा हो, जो प्राकृतिक रूपमा कहिल्यै सकिँदैनन् र बारम्बार पुनर्प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि सोलार ऊर्जा, वायु ऊर्जा, हाइड्रोपावर आदि । यो परियोजनाले वातावरणीय प्रदूषण कम गराउन मद्दत गर्ने र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सघाउने सरकारको विश्वास छ । 

हाइड्रोजनलाई इन्धनका रूपमा प्रयोगः

हाइड्रोजन प्रकृतिमा सबैभन्दा सहजै पाइने तत्त्व हो, जुन अन्य तत्त्वसँग मिश्रित अवस्थामा रहेको हुन्छ । मिश्रित अवस्थाको हाइड्रोजनलाई (उदाहरणका लागि पानी दुई भाग हाइड्रोजन र एक भाग अक्सिजनको मिश्रणबाट बनेको हुन्छ) विभिन्न रासायनिक प्रक्रियाबाट बाहिर निकालिन्छ ।

स्वच्छ इन्धनको स्रोतका रूपमा हाइड्रोजनको सम्भावना लगभग एक सय ५० वर्षको इतिहास छ । सन् १९७० को दशक, तेलको मूल्य बढेपछि मात्र हाइड्रोजनले जीवाश्म इन्धन (फोसिल फ्युल) लाई प्रतिस्थापन गर्ने सम्भावनालाई गम्भीर रूपमा विचार गर्न थालियो । कार निर्माता कम्पनीहरू जापानको होन्डा र टोयोटा तथा दक्षिण कोरियाको हुन्डाई यस ऊर्जालाई व्यावसायिक तवरबाट लैजान अघि सरेका छन् ।

हरित हाइड्रोजन ऊर्जाका सम्भावना:

हरित हाइड्रोजनका असीमित फाइदा छन् । विशेषगरी वातावरणमा कार्बन उत्सर्जनले पारेका असर न्यूनीकरण गर्न सकिन्छ । व्यावसायिक रूपमा उत्पादन गरियो भने यसको शुल्क पनि कम पर्न जान्छ, जसलाई प्रयोग गरेर विभिन्न देशहरू आफूलाई ऊर्जाको क्षेत्रमा निर्भर बनाउन सक्छन् ।

ग्रिन हाइड्रोजनको मूल्य सम्भवतः अन्तर्राष्ट्रिय बजारमा प्रति किलो पाँच सय रुपैयाँ पर्न जान्छ । त्यसलाई ठूलो मात्रमा उत्पादन गर्न सकियो भने यसको मूल्य कम पर्छ । यही योजना अन्तर्गत भारत सरकारले सो मिसन अगाडि बढाएको हो । उक्त मिसन सफल भएपछि भारतमा हाइड्रोजन ऊर्जा प्रति किलो १०० भारु पर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस २१, २०७९ १३:१८