close

डिजिटल मार्केटिङमा यसरी प्रयोग हुँदैछ एआई प्रविधि

सञ्जीव न्यौपाने

पुस २२, २०७९ १२:२८

डिजिटल मार्केटिङमा यसरी प्रयोग हुँदैछ एआई प्रविधि

फेसबुकले सन् २००९ मा विश्वव्यापी रूपमा आक्रामक तरिकाले बजार विस्तार गर्‍यो । त्यसपछि  फेसबुक प्रभावशाली सामाजिक सञ्जाल माध्यमको रूपमा खडा हुन सफल भयो । त्यतिखेर वेबसाइट, गुगल एड, ईमेल मार्केटिङ, अनलाइन डिस्प्ले र एसएमएसबाट विज्ञापन गरिन्थ्याे ।

सन् २००९ देखि २०११ को समयावधिमा मोबाइल उद्योगमा ठूलो क्रान्ति आयो । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम विश्वव्यापी रूपमा अघि बढिरहेको थियो । त्यसपछि आजको दिनसम्म तीव्र गतिमा स्मार्टफोनको प्रयोग विस्तार भइरहेको छ । 

मोबाइल एप तथा सामाजिक सञ्जालको क्रान्तिपछि मार्केटिङका लागि यी माध्यम प्रयोग गर्ने सुवर्ण अवसर थियो । यो एउटा त्यस्तो सुरुवात थियो, जहाँ बजारीकरणबाट संलग्न व्यक्तिले लक्षित उपभोक्तामाझ वेबसाइट तथा मोबाइल एपबाट आफ्नो उत्पादनको प्रचार गर्न सक्थे । सन् २०११ ताका कसैले डिजिटल मार्केटिङका लागि के कुरा गर्नुपर्छ भनेको भए उत्तर यसप्रकार हुन्थ्यो;

-उचित वेबसाइट

-सर्च इन्जिन अप्टिमाइजेसन

-ईमेल मार्केटिङ

-सोसल मिडिया मार्केटिङ

-कन्टेन्ट

-अनलाइन विज्ञापन

नवीनतम प्रविधिमा अवसरहरू

सामाजिक सञ्जाल तथा मोबाइल प्रयोगकर्ता बढेसँगै प्राविधिक टोलीलाई त्यसमा आधारित समाधानका उपायहरूमा काम गर्न साँच्चिकै सहज भयो । विशेषगरी प्रयोगकर्ताको डेटा संकलन गर्ने, उनीहरूको गतिविधि ट्रयाक गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने, ब्लग लेख्नेहरूले विभिन्न अवसर पाए ।

उदाहरणका लागि सन् २००८/०९ मा स्थापना भएको हुटस्विट (Hootsuit) ले सामाजिक सञ्जाल व्यवस्थापन गर्न एकल ड्याशबोर्डबाट सबै सूचना चेकजाँच गर्ने र अन्य काम गर्न सकिने केन्द्रीकृत प्लेटफर्म बनायो ।

मानिसहरू कुन विषयमा बढी चर्चा गरिरहेका छन्, कुनै उत्पादन सार्वजनिक हुँदा मानिसहरूको प्रतिक्रिया वा टिप्पणी कस्तो हुन्छ भन्ने कुरा ट्रयाक गर्न अहिले थुप्रै कम्पनी सक्रिय छन् ।

सन् २०११ देखि २०१५ सम्ममा धेरै नवीनतम कामहरू भए । विशेषगरी कर्पोरेट र व्यावसायिक घराना त्यस्ता कार्यमा सक्रिय थिए । उनीहरूले आफ्नो मार्केटिङ व्यवस्थित गरे, सोसल मिडिया एनालिटिक्स सार्वजनिक गरे, सुझाव दिए, वेबसाइट तथा एसईओ अडिट गरे, अफलाइन मार्केटिङका साथै अन्य थुप्रै काम गरे ।

कोभिड-१९ पछिको डिजिटल इनोभेसन

सन् २०२२ सम्म आइपुग्दा कोभिडका कारण डिजिटल उद्योग तीव्र गतिमा विस्तार भयो । विशेषगरी एडटेक (शैक्षिक प्रविधि), फिनटेक (वित्तीय प्रविधि), हेल्थटेक (स्वास्थ्य प्रविधि), एग्रोटेक (कृषि प्रविधि) र अन्य क्षेत्रमा प्रविधिको उल्लेखनीय विकास भएको छ । अहिले पनि प्रविधिको लाभ उठाउन सकिएन भने बजार कायम गर्न तथा विस्तार गर्न गाह्रो छ ।

कोभिडपछि दक्षिण-पूर्वी एसियाको तथ्याङ्क हेर्ने हो भने प्रयोगकर्ता र नवीनतम प्रविधिको सङ्ख्यात्मक वृद्धि उल्लेख्य देखिन्छ ।

यदि हामीले कुनै एप प्रयोग गरेका छौँ भने त्यसले हाम्रो जानकारी, हाम्रो गतिविधि, एप स्क्रिन टाइम (एप प्रयोग गरिएको समय) लगायतका थुप्रै विवरण ट्र्याक गरिरहेको हुन्छ । प्रयोगकर्तालाई एपमा अभ्यस्त गराउन सम्बन्धित कम्पनीले प्रयोगकर्ताको गतिविधिबारे पर्याप्त जानकारी पाएको हुनुपर्छ । एप प्रदायकले ‘टप पर्फमिङ’ (प्रदर्शन राम्रो भएका) प्रयोगकर्ता, निष्क्रिय प्रयोगकर्ता आदिको रूपमा ग्राहकको वर्गीकृत जानकारी राख्नुपर्ने हुन्छ । 

एउटा एपले मात्र पनि थुप्रै सूचना, डेटा तथा अन्य कुरा ट्रयाक गर्न सक्छ । एप इन्स्टल गरेर एप प्रयोग गर्न थालेदेखि अनइन्स्टल गर्ने बेलासम्मका प्रयोगकर्ताका सबै डेटा ट्रयाक गरेर एपले राखेका हुन्छन् । त्यस्तै वेबसाइटले पनि सबै डेटा ट्रयाक गरिरहेका हुन्छन् । 

आफ्ना हरेक ग्राहक वा उपभोक्ताको अनुभव विस्तार गर्न कम्पनीहरूले आफ्ना ग्राहकबारे थाहा पाउनुपर्छ । विशेषगरी कति प्रयोगकर्ता तपाईँको कम्पनीप्रति झुकाव राखिरहेका छन्, कतिले सक्रिय रूपमा तपाईँले उपलब्ध गराएका सेवा प्रयोग गरिरहेका छन् वा कति निष्क्रिय भएर बसेका छन् भन्ने कुरा एप, वेबसाइट तथा सामाजिक सञ्जालका माध्यमबाट थाहा पाउन सकिन्छ ।

अन्ततः एप तथा वेबसाइट प्रदायकको लक्ष्य नै प्रयोगकर्तालाई आफ्नो प्लेटफर्ममा सक्रिय राख्ने, एपको डाउनलोड बढाउने, सक्रिय प्रयोगकर्ताको सङ्ख्या बढाउनुमै हुन्छ । यसका लागि आवश्यक सबै विवरण अब एआईले सजिलै राख्न सक्छ ।

डिजिटल मार्केटिङका टुलहरू

-हामीले ‘कस्टुमर इंगेजमेन्ट’ र ‘एक्सपिरियन्स’ टुल उपयोग गर्न सक्छौँ । यो एउटा त्यस्तो टुल हो, जसले ‘पुश नोटिफिकेसन’ र ‘च्याटबट’बाट ग्राहकको संलग्नता बढाउने काम गर्छ ।

-‘सोसल लिस्निङ टुल’: यो एउटा त्यस्तो टुल हो, जसले कस्ता मानिसहरू तपाईँको ब्रान्ड, नयाँ उत्पादन र अन्य उत्पादनबारे चर्चा गरिरहेका छन् भन्ने कुराको जानकारी दिन्छ ।

-‘प्रोडक्ट इनालिस्ट टुल’: यो टुलले ग्राहको अनुभवको आधारमा उत्कृष्ट उत्पादन छनौट गर्छ ।

-‘सेन्ट्रलाइज्ड सोसल मिडिया मेनेजमेन्ट टुल’: हाम्रो सामाजिक सञ्जालका अकाउन्ट व्यवस्थापनमा सघाउने विभिन्न ‘सेन्ट्रलाइज्ड टुल’हरू रहेका छन् ।

-‘एसईओ टुल’: यो एउटा त्यस्तो टुल हो, जसले ‘एसईओ’ सुधार गर्छ, ‘ब्याक लिङ्क’ सुझाउँछ र प्रतिद्वन्द्वीको ‘कन्टेन्ट’बारे जानकारी दिन्छ ।

‘मार्केटर’ (बजार व्यवस्थापनको काम गर्नेहरू) ले विभिन्न टुलहरू प्रयोग गरेर आफ्नो बजार विस्तार गर्नुका साथै आम्दानी गर्न सक्छन् । अहिलेको प्रविधिले ग्राहकको अनलाइन गतिविधिबारे ख्याल राखेको हुन्छ ।

एआई र डिजिटल मार्केटिङ

एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को सहयोगमा मार्केटरहरूले आफ्नो व्यापार बढाउन सक्छन् ।

सबैभन्दा पहिला आर्टिफिसियल इन्टेलिजेन्सको आवश्यकताबारे चर्चा गरौँ;

-एआईले मानिसहरूबाट सही र सटिक जानकारी प्राप्त गर्न सहयोग गर्छ ।

-एआईले ग्राहक र उत्पादनबारे ‘डिप डेटा’ (गहन तथ्याङ्क) विश्लेषण गर्छ ।

-आवश्यकतालाई मध्यनजर गर्दै एआईले त्यसै अनुसारको सुधार गर्न सुझाव दिन्छ ।

-एआईले स्वचालित रूपमा मार्केटिङको प्रक्रिया अगाडि बढाउने र निर्णय लिने काम गर्छ ।

डिजिटल मार्केटिङमा एआईको भूमिका

पर्याप्त मात्रामा ‘कस्टुमर इंगेजमेन्ट’ डेटा हुँदा एआई वा मसिन लर्निङले ग्राहकहरू कुन उत्पादनमा बढी आकर्षित छन् भन्ने कुरा देखाउँछ । त्यस्तै कुन ‘पुश नोटिफिकेसन’ले राम्रो प्रभाव पार्छ भन्ने कुराको जानकारी पनि एआईको माध्यमबाट पाउन सकिन्छ । यसरी एआई प्रयोग गरेर तपाईँको व्यापारमा ग्राहकको आकर्षण कस्तो छ भन्ने कुरा पहिचान गर्न सकिन्छ ।

विभिन्न ग्राहकको अवस्था पहिचान गरी कम्पनीले कस्तो रणनीति अपनाउनु पर्छ भन्ने कुराको जानकारी पनि एआईले नै दिन्छ ।

इंगेजमेन्ट टुल वा च्याटबट

भविष्यमा मानिस ‘च्याट सपोर्ट’मा हुने छैनन् भन्दा चकित नपर्नुहोस् । च्याटबटले विभिन्न प्रयोगकर्ताबाट केही कुरा सिकेर उनीहरूका जिज्ञासा त्यसै अनुसार समाधान गर्छ । च्याटबटले ८० प्रतिशत जनशक्तिलाई विस्थापित गर्ने आँकलन गरिएको छ ।

उदाहरणका लागि ग्राहकले ह्वाट्सएपमा च्याट गरेर एयरलाइन्स टिकेट बुकिङदखि, राम्रो फिल्मको सिफारिस पाउन सक्छन् ।

रेकमेन्डेसन इन्जिन

रेकमेन्डेसन इन्जिन विशेषगरी ई-कमर्स वा स्ट्रिमिङ प्लेटफर्मले प्रयोग गर्न सक्छन् । ग्राहकहरूलाई उनीहरूको आवश्यकता अनुसारको उत्पादन सुझाउन यो प्रविधि ढिलो चाँडो सबैले प्रयोग गर्नेछन् ।

उदाहरणका लागि ई-कमर्समा तपाईँले केही खोज्नुभयो भने ‘रेकमेन्डेसन’मा उत्कृष्ट सामग्री देखाउँछ । यसैगरी ‘नेटफ्लिक्स’मा पनि तपाईँले हेरेका भिडिओको आधारमा ‘रेकमेन्डेसन’ भिडिओ देख्न सकिन्छ ।

कन्टेन्ट मार्केटिङ

एआईले आकर्षक हेडलाइन, ट्रेन्डिङमा रहेका कन्टेन्टको सुझाव दिनुका साथै लक्षित वर्गमा पुर्‍याउने कन्टेन्टबारे जानकारी उपलब्ध गराउँछ । त्यति मात्र नभई यसले कन्टेन्टलाई सुहाउँदो थम्बनेल समेत सुझाउँछ । जसले अडियन्सलाई आकर्षित गर्न सक्छ ।

इन्फ्लुएन्सर सजेसन

अहिले अकाउन्टमा हुने इंगेजमेन्ट, प्रयोगकर्ताको आधार र भिजिबिलिटीको आधारमा इन्फ्लुएन्सर चयन गरिन्छ । कस्तो इन्फ्लुएन्सर छान्ने भन्ने कुरा पूर्ण रूपमा मानवमा निर्भर रहन्छ । तर, एआईले तपाईँको ब्राण्ड वा उत्पादनका निकै नै उपयुक्त इन्फ्लुएन्सर को हुन सक्छ, भन्ने कुरा चयन गरिदिन्छ । 

डाइनामिक प्राइसिङ अपडेट

विशेषगरी एयरलाइन्स वा होलसेल उद्योगले बिक्रीको आधारमा मूल्य परिवर्तन गर्ने रणनीति अपनाएका हुन्छन् । छिट्टै नै यो रणनीति ई-कमर्समा पनि उपयुक्त हुने छ । एआईले कारोबार हुने समय र प्रयोगकर्ता सबैभन्दा बढी सक्रिय हुने समयलाई मध्यनजर गर्छ । ‘हिस्टोरिकल डेटा’ र ‘ट्रेन्ड’का आधारमा एआईले उपयुक्त मूल्य सुझाव दिन्छ । त्यसैको आधारमा कम्पनीले मूल्य परिवर्तन गर्न सक्छन् ।

एआईमा आधारित कस्टुमर रेलेसनशिप मेनेजमेन्ट

एआईमा आधारित ‘कस्टुमर रिलेसनशिप मेनेजमेन्ट’ले उपभोक्तासँगको सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण जानकारी दिने गर्छ । जसले गर्दा उत्पादन बिक्रीलाई स्वचालित बनाउन मद्दत पुग्छ ।

निष्कर्ष

एआईले मानिसकाे सबै रोजगारी खोस्छ भन्ने चाहिँ होइन । यसले कतिपय कामलाई सहज बनाउनुका साथै छिटो र छरितो बनाउँछ । मार्केटिङ, बजार परिदृश्य, प्रतिद्वन्द्वी विश्लेषण, ‘बीटीएल एक्टिभेसन’ रणनीति, धेरैमाझ पुग्ने अन्य रणनीतिका लागि एआईले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । मार्केटिङमा एआई प्रविधि प्रयोग गर्ने व्यवसायले आफूलाई राम्रो तरिकाले विस्तार गर्न सक्छन् ।

मिडियम डटकममा प्रकाशित न्यौपानेको लेखको नेपाली अनुवाद

पछिल्लो अध्यावधिक: पुस २२, २०७९ १३:५१