काठमाडाैं । घरमै बसेर सहज तरिकाले खाना अर्डर गर्न मिल्ने भएपछि पछिल्लाे समय नेपालमा अनलाइन फुड डेलिभरी गर्ने कम्पनीहरूकाे लाेकप्रियता बढिरहेकाे छ । फुड डेलिभरी गर्ने एप तथा वेबसाइटहरु बढिरहेका कारण हामीलाई विभिन्न प्रकारका खाना जुनसुकै समयमा अर्डर गर्न सहज र सम्भव भएकाे छ ।
अनलाइन फुड डेलिभरीकाे एउटा प्रमुख फाइदा भनेकाे सुविधा हाे । व्यस्त तालिका र जीवनशैलीका कारण मान्छेहरूलाई पकाएर खाने र बाहिर खान जाने समय छैन । प्रयाेगकर्ताले दिन वा रात जुनै समयमा पनि आफू अनुकूल आफ्नाे मन पर्ने खाना डेलिभरीका लागि अर्डर गर्न सक्छन् ।
त्यस्तै अनलाइन फुड डेलिभरी कम्पनीहरूले परम्परागत हाेटल तथा रेस्टुरेन्टहरूले भन्दा धेरै प्रकारका खाना उपलब्ध गराउँछन् । साथै धेरै कम्पनीहरूले त प्रयाेगकर्तालाई खानामा विविधता दिनका लागि विभिन्न हाेटल तथा रेस्टुरेन्टहरुसँग सहकार्यकाे सम्झाैता गरेकाे छ ।
समग्रमा नेपालमा खाने शैलीमा यस्ता अनलाइन फुड डेलिभरी कम्पनीहरुले परिवर्तन ल्याइदिएका छन् । यस प्रकारका कम्पनीहरुकाे वृद्धिदर नेपालमा देख्दा, आउँदाे वर्षहरुमा व्यापक र प्रभावकारी हुने देखिन्छ ।
पछिल्लो समय विभिन्न नामका अनलाइन फुड डेलिभरी कम्पनी स्थापना भएका छन् । यस्तो सेवा काठमाडौंमा मात्रै सीमित नभई जिल्ला जिल्लामा विस्तार हुन थालेको छ । वेबसाइट, एप वा फोन गरेको भरमा आफूलाई मनपर्ने रेस्टुराँका परिकार छानीछानी अर्डर गर्न सकिने सुविधा यस्ता कम्पनीले दिएका छन् ।
यसैबीच हामीले प्रतिनिधि कम्पनीका रुपमा पाँच अनलाइन फुड डेलिभरीबारे चर्चा गर्दैछौं ।
-लेखक महेशकुमार श्रेष्ठ
फुडमान्डु
सन् २०१० मा स्थापना भएकाे फुडमान्डु नेपालकाे एक ठूलाे फुड डेलिभरी कम्पनी हाे । यसले सयाैं रेस्टुराँसँगकाे सहकार्यमा विविध प्रकारका खाना उपलब्ध गराउँछ । यसले २०० राइडरहरूकाे सहयाेगमा काठमाडाैं उपत्यकाका तीन सहरमा खाना डेलिभरी गर्ने गरेकाे छ ।
तीन सहरका ८०० भन्दा धेरै हाेटल तथा रेस्टुराँ फुडमान्डुसँग जाेडिएका छन् । फुटमान्डुकाे एपलाई एक लाख बढीले डाउनलाेड गरिसकेका छन् । त्यस्तै एपलाई २.८ रेटिङ प्राप्त हुँदा १८५० भन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।
यसले भुक्तानीका लागि खल्ती, फाेनपेसहित भाैतिक नगद स्वीकार गर्ने गरेकाे छ ।
भाेज डिल्स
यस एप प्रयाेग गरी प्रयाेगकर्ताले आफूलाई मनपर्ने ठाउँबाट कुनै मेनुकाे ठाउँबाट खाना अर्डर गर्न सक्छन् । याे एक स्पट फुड डेलिभरी एप्लिकेसन हाे । यस एपले भुक्तानीका लागि 'भाेज' वालेट बनाएकाे छ । यस वालेटबाट नियमित प्रयाेगकर्ताहरूले भारी छुट प्राप्त गर्न सक्छन् ।
यस एपलाई एक लाख बढीले डाउनलाेड गरिसक्दा पाँचमा २.९ रेटिङ प्राप्त भएकाे छ । त्यस्तै २२ सय बढी प्रतिक्रिया जनाएका छन् । यसले पनि फुडमान्डुले झैं ८०० बढी रेस्टुराँसँगकाे सहकार्यमा काठमाडाैं, ललितपुर र भक्तपुरमा डेलिभरी सेवा प्रदान गर्दै आएकाे छ ।
पठाओ फुड
राइड शेयरिङ एपकाे रुपमा परिचित पठाओ नेपालमा छिटाे विकास भएकाे एक डिजिटल कम्पनी हाे । सर्वसाधारणले भाेग्ने यातायातकाे समस्या समाधान स्वरुप सन् २०१५ मा बंगलादेशमा स्थापना भएकाे याे कम्पनी नेपालमा भने २५ सेप्टेम्बर २०१८ देखि सञ्चालनम आएकाे हाे ।
यसले राइड शेयरिङसँगै फुड डेलिभरी पनि गर्ने गरेकाे छ । फुड डेलिभरीमा यसले राम्रै पकड जमाए पनि धेरै प्रयाेगकर्ताले यसप्रति गुनासाे धेरै पाेखेका छन् । विशेषगरी खाना डेलिभरी गर्ने सवालमा राइडरले स्वीकार/अस्वीकार गर्नुपर्ने व्यवस्था बारेमा धेरैले नकारात्मक टिप्पणी गरेका छन् । यद्यपि यसले सेवा विस्तार भने तीव्र पारेकाे छ ।
डब्लू एल फुड
आफ्नाे एप तथा वेबसाइटबाट २४ घण्टा नै सेवा प्रदान गर्ने उद्देश्य राखेर सञ्चालन भएकाे याे मल्टिभेन्डर अनलाइन फुड डेलिभरी कम्पनी हाे । सन् २०२० मा सञ्चालनमा आएकाे याे कम्पनीले सेवा विस्तार तीव्र पारेकाे छ ।
हालसम्म यसकाे एपलाई १० हजारले डाउनलाेड गरिसकेका छन् भने विभिन्न सामाजिक सञ्जालहरुमा दुई लाख बढीकाे अनलाइन कम्युनिटी बनिसकेकाे छ । ३० वर्षमुनिका युवाले नेतृत्व गरेकाे याे कम्पनीकाे एप अन्य अनलाइन डेलिभरीकाे तुलनामा कम डाउनलाेड भएपनि ३.४ रेटिङ प्राप्त गरेकाे छ ।
फुडगञ्ज
‘राम्राे र छिटाे हामी गर्छाैं’ भन्ने नाराका साथमा सुरु भएकाे याे अनलाइन फुड डेलिभरी कम्पनीले काठमाडाैं बाहिर पनि आफ्नाे सेवा विस्तार गरेकाे छ । कम्पनीले हेटौंडा र पाेखरामा पनि आफ्नाे सेवा सञ्चालनमा ल्याएकाे छ ।
काठमाडाैंका २५० भन्दा बढी हाेटलहरूसँगकाे सहकार्यमा सञ्चालित कम्पनीकाे एपलाई १० हजार बढीले डाउनलाेड गरिसकेका छन् । त्यस्तै २.७ रेटिङ र २७० प्रतिक्रिया प्राप्त भएकाे छ ।